नदीजन्य पदार्थ उत्खनन्मा ढिलाइ,रोकियो विकास निर्माण

अमरराज आचार्य
दाङ, २ चैत । निर्माणाधीन राप्ती गाउँपालिकाको मौरीघाटदेखि बंगलाचुली मुर्कुटीसम्मको सडक स्तरोन्नतिको काम अहिले रोकिएको छ । निर्वाचन क्षेत्र रणनैतिक सडकको रूपमा रहेको यो योजनाको काम रोकिनुको कारण निर्माण सामग्रीको अभाव हुनु हो ।

यो योजना निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले गोरक्षसँग भने, ‘काम गरौँ भने निर्माण सामाग्री नै छैन ।’ सडक स्तरोन्नति तथा नाला निर्माण गर्ने काम गर्नु पर्ने थियो । नाला निर्माण भइसकेको छ तर ग्राभेल गर्नका लागि सामग्री (नदीजन्य पदार्थ) पाउन नसकेका कारण अहिले काम रोकिएको निर्माण व्यवसायीले बताए । नदीजन्य पदार्थको उत्खनन्को अधिकार स्थानीय तहको हो तर स्थानीय तहले अहिलेसम्म नदीजन्य पदार्थ उत्खनन् सुरु गर्न सकेका छैनन् । यसको असर विकास निर्माणमा देखिएको हो ।

जिल्लामा यो सडक जस्तै धेरै आयोजनाका काम अहिले प्रभावित बनेका छन् । जिल्लामा नदीजन्य पदार्थ उत्खनन्को काम ढिलाइ हुँदा आवश्यक निर्माण सामग्री (ढुङ्गा, गिट्टी बालुवा) को अभावमा निर्माणका काममा रोकिएको निर्मााण व्यवसायी बताउँछन् । यतिबेला तीव्र रूपमा विकास निर्माणको काम हुनु पर्ने हो तर नदीजन्य पदार्थ पाउन नसक्दा विकास निर्माणका काम रोकिएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीण भण्डारीले जानकारी दिए । अहिले जिल्लामा साना–ठुला गरी एक सय बढी आयोजना रोकिएको उनको भनाइ छ ।

‘नदीजन्य पदार्थ पाउन नसक्दा अहिले साना ठुला आयोजना गरेर एक सय बढीको काम रोकिएको छ’, अध्यक्ष भण्डारीले भने । उनका अनुसार जिल्लामा भइरहेको विकास निर्माणको काममध्ये अहिले ९० प्रतिशत विकास निर्माणको काम रोकिएको छ । ‘जिल्लामा १० प्रतिशत मात्रै काम भइरहेका छन्’, अध्यक्ष भण्डारीले भने, ‘नदीजन्य पदार्थ नहुँदा ९० प्रतिशत योजनाको काम रोकिएको छ ।’ नदीजन्य पदार्थको अभावमा कामै रोकेर बस्नु पर्ने बाध्यता भएको उनी बताउँछन् । ‘निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ नै नपाएपछि काम रोकिएको हो’, अध्यक्ष भण्डारीले भने, ‘अहिले विकास निर्माणको काम तीव्र रूपमा हुने समय हो तर काम गर्नका लागि निर्माण सामग्री नै नपाएपछि समस्या भएको छ ।’

काम भइरहेका स्थानमा पनि बढी मूल्यमा निर्माण सामग्री खरिद गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । यसले गर्दा खर्च समेत बढी हुने गरेको निर्माण व्यवसायी बताउँछन् । बर्सातको समयमा काम गर्न समस्या हुने, लगत्तै चाडपर्वको समय सुरु हुने भएकाले काम गर्न समस्या हुने उनको भनाइ छ । असोज महिनामै नदीजन्य पदार्थको ठेक्का अह्वान गरेर यो समयमा सहज रूपमा काम गर्न सामग्री पाउने व्यवस्था मिलाइनु पर्ने उनले बताए । राज्यले तोकेको स्थानमा राजस्व तिरेर उठाउन पाउनु पर्ने व्यवस्था हुनु पर्ने उनले बताए । काम रोकिँदा निर्माणमा प्रयोग गरिने साधन समेत थन्क्याइनु परेको छ भने मजदुरले रोजगारी समेत गुमाएका छन् । यता स्थानीय तह भने विकासै रोकिने गरी समस्या उत्पन्न नभएको दाबी गर्छन् ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले नदी जन्य पदार्थको कारण नै निर्माणको काम रोकिने अवस्था नभएको बताए । हालसम्म कसैबाट पनि काम गर्न समस्या भयो भनेर जानकारी नआएको उनले बताए । ‘समस्या भए जानकारी गराएमा समस्याको समाधान हुने छ’, नगर प्रमुख खड्काले भने । छिट्टै नै उपमहानगरपालिकाले आफैँ नदीजन्य पदार्थ उत्खनन् गर्ने उनको भनाइ छ । ‘हामी आफैँ उत्खनन् गर्ने तयारीमा रहेका छौँ छिट्टै नै काम सुरु हुने छ’, नगर प्रमुख खड्काले भने । जीवनशैली अनुसार स्वास्थ्यको निर्धारण गर्ने हुँदा स्वस्थ जीवनशैलीमा ध्यान दिँदै स्वस्थ रहन उनले सबैलाई सुझाइन् ।