स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा

गोरक्ष समाचारदाता
तुलसीपुर, १ चैत । हिन्दु स्वयम्सेवक संघ नेपाल दाङद्वारा सञ्चालित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८० सम्पन्न भएको छ । तुलसीपुरमा भएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा त्यस क्षेत्रका २७ वटा संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले तुलसीपुरको अरनीको मैदानमा सञ्चालन गरिएको परीक्षामा १५ जना विद्यार्थीले ५०÷५० अङ्क प्राप्त गरेका थिए ।

जस मध्यबाट गोला तानेर प्रथम, द्वितीय र तृतीय स्थानका लागि विद्यार्थी छनोट गरिएको थियो । परीक्षामा हिमाल बोर्डिङ स्कुलकी सोनिया वली प्रथम भएकी थिइन् । त्यस्तै अमर मावि बोर्डिङ स्कुलकी आसुतोष खरेल द्वितीय र गुरु जजुर माविकी मनिषा भुसाल तृतीय भएकी छन् । परीक्षामा प्रथम हुने विद्यार्थीलाई नगद १५ हजार, द्वितीय हुनेलाई १२ हजार र तृतीय हुने विद्यार्थीलाई ९ हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरिएको छ । यसैगरी २५ जना विद्यार्थीलाई सान्त्वना पुरस्कार एक÷एक हजार र अन्य १३ जनालाई डायरी पुरस्कार दिइएको थियो ।

परीक्षा सञ्चालन समितिका संयोजक प्रमोदकुमार न्यौपानेको अध्यक्षता तथा जनजाति कल्याण आश्रमका केन्द्रीय महासचिव प्रेम थुलुङको प्रमुख आतिथ्यता एवम् उद्योगपति डिल्लीबहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सहभागीले नयाँ पुस्तामा धर्म, संस्कृति र परम्पराको विषयमा ज्ञान दिन यस्ता कार्यक्रम आवश्यक हुने बताएका थिए । कार्यक्रममा हिन्दु स्वयम्सेवक संघ नेपाल दाङका संयोजक किशोरचन्द्र गौतम, जुरु जजुर माविका पूर्व प्राधानाध्यापक विष्णुप्रसाद आचार्य, शिक्षक सुनिता यादवलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण हिमाल एकाडेमीका प्रिन्सिपल मधुसूदन केसीले गरेका थिए ।