लमहीमा प्रशासकीय अधिकृतलाई स्वागत र बिदाइ

गोरक्ष समाचारदाता
दाङ, १ चैत । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले प्रमुख प्रशासकीय अधिकृतका कारण केही समयदेखि रोकिएका सबै कामले अब गति पाउने बताएका छन् । लमही नगरपालिकामा सरुवा भएर आएका र सेवानिवृत्त भएर बिदाइ हुन लागेका प्रमुख प्रशासकीय अधिकृतका लागि आयोजना गरेको स्वागत तथा बिदाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा प्रकाश देवकोटा आएका छन् । देवकोटा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिए । नयाँ प्रशासकीय अधिकृत देवकोटलाई स्वागत र सेवानिवृत्त भएका देवेन्द्रप्रसाद श्रेष्ठलाई बिदाइ गरिएको छ । ‘प्रशासकीय अधिकृतको सरुवा बढुवा जस्ता प्रक्रियागत कुराले गर्दा नगरपालिकाको कामकाजी प्रक्रिया केही असहज भएको थियो तर अब जनताले महसुस गर्ने गरी नगरपालिकाको काम अगाडि बढ्छ’, नगर प्रमुख चौधरीले भने । पालिकामा भएका निर्णयलाई मूर्त रूप दिने कर्मचारी संयन्त्रको हो भन्दै जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्यवन गर्ने जिम्मेवारी पनि कर्मचारीकै भएकाले दत्तचित्त भएर लाग्न नगर प्रमुख चौधरीले सबैलाई निर्देशन दिएका छन् ।

यसैगरी उपप्रमुख लक्ष्मी योगीले लमही नगरपालिकाले केही गर्न सकेन भन्नेलाई कामबाट जवाफ दिनु पर्ने बताइन् । नगरपालिकालाई चुस्त दुरुस्त राख्न कर्मचारी एक भएर अगाडि बढ्नु पर्ने प्रशासकीय अधिकृत देवकोटाको भनाइ छ । विधि र प्रक्रियालाई आत्मसात गर्र्ने, नगरपालिकालाई कस्तो बनाउने भन्ने जिम्मेवारी वहन गरे छोटो समयमै राम्रो नतिजा दिन सकिने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । नगरपालिकाको समृद्धिमा जनप्रतिनिधिले मात्र नभएर कर्मचारीको पनि हात रहने वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेलले बताए ।

श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत भएर एक वर्षसम्म लमही नगरपालिकाको प्रशासनिक सेवा प्रवाह गरेका थिए । कार्यक्रममा लमही नगरपालिका प्रेस सल्लाहकार लीला शाहले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । नगर प्रमुख चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखाका मीना शर्मा भुसालले स्वागत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गरेका थिए ।