अब आँखाको नानी निःशुल्क प्रत्यारोपण

बालाराम खड्का
तुलसीपुर, १ चैत ।  लुम्बिनी प्रदेशमा रहेका आँखाका बिरामीले अब निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा पाउने भएका छन् । लुम्बिनी प्रदेश सरकारले निःशुल्क आँखाको नानी (कर्निया ट्रान्सप्लानटेसन) प्रत्यारोपण गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा बजेट तथा कार्यक्रम ल्याएसँगै लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आँखाको नानी निःशुल्क प्रत्यारोपणसम्बन्धी कार्यविधि २०८० निर्माण गरेको थियो ।

प्रदेशका स्थानीयको आँखाको नानी (कर्निया)मा चोटपटक लागि वा सङ्क्रमण भई दृष्टि गुमाउने अवस्था भएका र आँखाको नानी प्रत्यारोपण गरी पुनःस्थापना गर्न आवश्यक भएका बिरामीको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गर्न र सेवा प्रदान गर्ने अस्पताललाई आँखाको नानी निःशुल्क प्रत्यारोपणवापतको रकम शोधभर्ना गर्न सेवा प्रदायक आँखा अस्पताल र स्वास्थ्य निर्देशनालय राप्ती उपत्यका देउखुरीबिच सम्झौता भएको छ । यो सेवा लिन कार्यविधि बमोजिम आँखाको नानी निःशुल्क प्रत्यारोपण सेवा प्राप्त गर्ने व्यक्ति लुम्बिनी प्रदेशको बासिन्दा हुनु पर्ने छ । सेवाका लागि पहिचान खुल्ने प्रमाण पेस नगरे हाल स्थानीय रूपमा बसोबास गर्दै आएको सम्बन्धित वडा वा स्थानीय तहलको बासिन्दा भएको सिफारिसपत्र हुनु पर्ने पनि कार्यविधिमा उल्लेख छ ।

कार्यविधि बमोजिम आँखाको नानी प्रत्यारोपण गर्न चाहने व्यक्तिले सम्बन्धित स्थानीय तहमा अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने र त्यस्तो निवेदनका साथ आँखाको नानी प्रत्यारोपण गर्न अत्यावश्यक भएको भनी अस्पतालले प्रदान गरेको सिफारिस (बिरामी पुर्जा) संलग्न गर्नु पर्ने कार्यविधिमा उल्लेख छ । स्थानीय तहमा पेस हुन आएको निवेदन तथा कागजपत्र यकिन गरी सिफारिस गर्न प्रत्येक स्थानीय तहमा तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था समेत कार्यविधिमा गरिएको मन्त्रालयले जनाएको छ ।

जसमा संयोजक स्थानीय तहको प्रमुख वा अध्यक्ष सदस्यमा प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख रहने समिति बनाएको छ । यसैगरी (३) उपदफा (२) बमोजिमको समितिले निवेदन साथै प्राप्त भएका कागजात, नागरिकता प्रमाणपत्र वा सोही स्थानीय तहको बासिन्दा भए नभएको विवरण, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र समेतका आधारमा आँखाको नानी प्रत्यारोपण सुविधा उपलब्ध गराउन अनुसूची–२ बमोजिमको सिफारिस सहित कार्यक्रमका लागि सूचीकृत गरेका सेवा प्रदान गर्ने अस्पतालमा सिफारिस गर्नु पर्ने छ ।

आँखाको नानी प्रत्यारोपणको सेवा शुल्क निर्धारण निर्देशनालयले कार्यविधि अनुसार प्रतिआँखाको नानी प्रत्यारोणको सेवा शुल्क निर्धारणका लागि स्वास्थ्य निर्देशनालयले सेवा दिने नेपाल नेत्रज्योति संघ अन्तर्गतका अस्पताललाई दररेट पेसका लागि सूचना आह्वान गरी दर रेट समेत निर्धारण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो अन्तर्गत लुम्बिनी प्रदेशमा रहेका विभिन्न आँखा अस्पतालले सेवा निःशुल्कका लागि स्वास्थ्य निर्देशनालयमा भएको सम्झौता बमोजिम २४ हजार तीन सय १० रुपैयाँ स्वास्थ्य निर्देशनायले अस्पताललाई उपलब्ध गराउने सम्झौतमा उल्लेख छ ।

फागुन १५ देखि असार १५ गतेसम्म सेवा प्रदायक अस्पताल र स्वास्थ्य निर्देशनालयबिच सेवाका लागि सम्झौता भएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले बताए । हाल नेपाल नेत्रज्योति सघ अन्तर्गतका अस्पताल राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुले आँखाको नानी प्रत्यारोपण सेवा सञ्चालनका लागि सम्झौता गरेको छ भने अन्य अस्पतालसँग पनि सम्झौता भई निःशुल्क आँखाको नानी प्रत्यारोपण कार्यक्रम सुरु गरेको निर्देशनालले जनाएको छ । योसँगै अब आँखाको नानी प्रत्यारोपण गर्नु पर्ने बिरामीले सेवा पाउने छन् । स्वास्थ्य निर्देशनालय, भालुबाङ दाङका निर्देशक डा विनोदकुमार गिरी र सम्बन्धित अस्पतालका आधिकारिक व्यक्तिबिच सो सम्झौता भएको छ ।

यसैबिच निःशुल्क आँखाको नानी प्रत्यारोपण सेवा सञ्चालनका लागि सम्झौता भइसकेकाले आवश्यक सेवा लिन चाहनेले अस्पतालमा सेवा लिन आउन नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्शेर थापाले जानकारी दिए । नेपाल नेत्रज्योति संघ दाङअन्तर्गत सञ्चालित आँखा अस्पतालमा विगत २ वर्षदेखि कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानी प्रत्यारोपण सेवा दिइरहेकी छन् ।

आँखा अस्पतालमा आँसुनलीको दुरविन विधिबाट शल्यक्रिया

यसैबिच राप्ती आँखा अस्पताल तुलसीपुरमा अत्याधुनिक प्रविधिबाट आँखासम्बन्धी विभिन्न शल्यक्रिया सेवा सुरु भएका छन् । जस अन्तर्गत अस्पतालले आँसुनलीको दुरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको छ । अकुलोप्लास्टी तथा आँखा क्यान्सर रोग विशेषज्ञ डा सुरेश रसाइलीले बेहोस नगरी दुखाइ कम गर्ने सुइको माध्यमबाट आँखाको आँसु नलीको दुरविन प्रविधिबाट सफल शल्यक्रिया भइरहेको बताए । यस क्षेत्रमै पहिलो पटक यो सेवा राप्ती आँखा अस्पतालबाट दिन थालेपछि बिरामीलाई पनि सहज भएको छ ।

अकुलोप्लास्टी अन्तर्गत विभिन्न कस्टमेटिक शल्यक्रिया र आँखाको क्यान्सरसम्बन्धी सेवासँगै आँखाको आँसुनली बन्द भएका बिरामीलाई बेहोस नगरी दुरविन विधिबाट शल्यक्रिया सुरु भएको उनले बताए । ‘यस अघि कस्टमेटिक, आँसु नलीसम्बन्धी विभिन्न शल्यक्रिया सेवा हामीले यहीँबाट दिँदै आएका थियौँ, अब इन्डोस्कोपिक डिसिआर सर्जरी पनि सुरु गरेका छौँ’, डा रसाइलीले भने ।

यसले गर्दा आँसुनलीको बाहिरी भाग चिरफारबिना नै अव नाकबाट दुरविनको सहायताले आँसुको नलीलाई खुलाउन सकिने उनको भनाइ छ । अब आँसु नलीमा सङ्क्रमण भइ पिप जमेको अवस्थामा पनि यस विधिबाट सहजै शल्यक्रिया गर्न सकिने उनले बताए । ‘यसमा बन्द भएको आँसु नलीसंगै नाकभित्रका केही समस्या भए पनि त्यसको शल्यक्रिय गर्न सहज हुन्छ’, डा रसाइलीले भने । दुरविन विधिबाट हुने आँसुनलीको शल्यक्रियाका फाइदा धेरै भएको उनलेको भनााइ छ । शल्यक्रियापछि छिटो निको हुने, चिरफार गर्न नपर्ने, घाउ नदेखिने, रगत कम बग्ने, छिटो र छरितो शल्यक्रिया सेवा दिन सकिने डा. रसाइलीको भनाइ छ ।

अस्पतालमा आँसुको थैली निकाल्ने, काटिएको आँसुनली, आँसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्या, बाहिर फर्किएको आँखाको ढकनीको शल्यक्रिया हुँदै आएको छ । काटिएको आँखा ढकनीको शल्यक्रिया, आँखाको ढकनीलाई बन्द गर्ने शल्यक्रिया सेवा पनि दिँदै आएको छ । त्यस्तै .थाइराइड, आँखाको भित्री भागमा देखिएको ट्युमरसम्बन्धी आँखाको उपचार तथा शल्यक्रिया मरामर्श सेवा समेत अस्पतालले दिइरहेको डा. रसाइलीको भनाइ छ । ‘अकुलोप्लास्टी, आँसु नली, ढकनीका साथै आँखाको क्यान्सरसम्बन्धी सेवा हामीले दिइरहेका छौँ, अब लगत्तै अन्य यो सम्बन्धी सेवा दिने पनि अस्पतालले तयारी गरिरहेको छ’,ं डा रसाइलीले भने ।