calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

नागरिक उन्मुक्तिभित्र खटपट,प्रदेश स्वायत्तताको मुद्दाले दुई धार

गोरक्ष समाचारदाता
दाङ, ३० फागुन । वर्तमान सत्ता गठबन्धनमा सामेल हुने कि नहुने भन्नेमा आन्तरिक मतभेद बढेपछि नागरिक उन्मुक्ति पार्टी सरकार सहभागिताका विषयमा अनिर्णित बन्यो । अनिर्णित उसले तत्काललाई ‘पर्ख र हेर’ को भूमिकामा उभ्याउने निर्णय लियो । कांग्रेससँगकै पुरानो सहकार्यलाई निरन्तरता दिने वा वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने भन्ने विषयमा अनिर्णित उन्मुक्तिभित्र पार्टी अध्यक्ष रञ्जिता र श्रीमान् रेशम चौधरीबिच टकराव सुरु भयो ।

वर्तमान गठबन्धनमा सहभागी हुने अडानमा रहँदै आएकी रञ्जिताले संसद्मा आफूलाई सत्ता पक्षको कित्तामा उभ्याइदिइन् अर्थात् पार्टीले ‘पर्खन र हेर्न’ भने पनि पर्खन सकिनन् । उनी गत २४ गते बसेको प्रतिनिधि सभा बैठकमा सत्ता पक्षीय बेन्चमा बसिन् तर रेशम चाहन्थे आफ्नो दलका सांसदले प्रतिपक्षको भूमिका प्रस्तुत गरुन् र प्रतिपक्षको बेन्चमा बसून् भन्ने । पार्टीले पर्ख र हेरको नीति अबलम्बन गरेको भए पनि पार्टी अध्यक्ष रञ्जिताको यो हतारोदेखि श्रीमान् रेशम असन्तुष्ट बने अनि पार्टीले गरेको पर्ख र हेरको निर्णयलाई उनले पनि पर्खन सकेनन् । त्यसपछि सुदूरपश्चिम प्रदेश सरकारमा आफूअनुकूल तीन सांसदलाई मन्त्री बनाए ।

यी दुई दम्पत्तिको टकराव यही घटनाक्रमदेखि ह्वात्तै बढेको उन्मुक्तिका नेता बताउँछन् । ‘सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीमा एकमत बन्न नसकेपछि तत्काललाई पर्ख र हेरको निर्णय गरेर बैठक सकिएको थियो’, लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिबाट सहभागी एक सांसदले भने, ‘तर रञ्जिता भाउजु संसद्को बैठकमा सरकार पक्षीय कुर्सीमा बस्नुभयो, त्यसपछि रेशम दाइले
सुदूरपश्चिममा तीन मन्त्रीलाई प्रवेश गराउनु भयो, हामीलाई थाहा भए अनुसार उहाँहरूबिचको विवाद यहीँदेखि अलि बढी देखिएको हो ।’ यस अघि यी दुई दम्पत्तिको विवाद पार्टीका नेताले देखेका थिएनन् । ‘केही मुख्य–मुख्य बैठकमा म पनि सहभागी भएको छु तर ती बैठकमा उहाँहरूबिच कुनै पनि विमति रहेको पाइएन’, ती सांसदले भने, ‘मलाई लाग्छ, गठबन्धनमा सहभागी हुने वा नहुने भन्ने विषयमा देखिएको यो घटनाक्रमभन्दा अगाडि उहाँहरूबिच कुनै समस्या थिएन ।’

श्रीमान्–श्रीमतीबिच बेमेल हुँदा अहिले अनिर्णयको बन्दी बनेको यो पार्टीमा देखिएको बेमेल मूलतः प्रदेशको स्वायत्ततासँग जोडिएको नेताहरू बताउँछन् । रेशम चौधरी प्रदेश तहलाई स्वायत्तताको अधिकार प्रदान गरिनु पर्ने तर संघमा वर्तमान गठबन्धनसँग तालमेल गरिन नहुनेमा दृढ देखिए । रेशमले केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणमा सामेल भए प्रदेश तहमा पनि केन्द्रकै समीकरणको प्रभाव देखिने र यसले पार्टीको प्रदेशको स्वायत्तता हराउने बुझेका छन् ।

‘हामी प्रदेशको निर्णयको अधिकार प्रदेश तहलाई नै दिनु पर्छ भन्नेमा दृढ छौँ’, रेशम चौधरीले गोरक्षसँग भने, ‘प्रदेशलाई स्वायत्त राख्न सके मात्रै पार्टीको साख जोगिन्छ नि !’ फलतः कांगे्रेससँग पुरानो समीकरणकै आधारमा प्रदेश सरकारमा पार्टीको प्रभावकारी सहभागिता जनाउनु पर्ने तर केन्द्रमा जान मरिहत्ते गर्न नहुने अडान रेशमको छ । ‘हुन त म अहिले पार्टीको कुनै पनि भूमिकामा छैन, मेरो त हस्ताक्षर कहीँकतै चल्ने कुरा पनि छैन’, रेशमले भने, ‘तर प्रदेश तहमा कसरी पार्टीको भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर चिन्तनको विषय हो, यसर्थ प्रदेश तहका माननीयले कस्तो निर्णय गर्नुहुन्छ त्यो मेरा लागि पनि स्वीकार्य हुने नै हो, पार्टीको निर्णय अस्वीकार गरेर बस्ने राजनीतिक अधिकार त अहिले मलाई छैन नि ।’ यसैगरी रेशमले श्रीमती रञ्जितासँगको बेमेलबारे भने केही बोल्न चाहेनन् । उनले भने, ‘त्यस्तो केही होइन, यस विषयमा अहिले नबोलौँ, हामी पार्टीबारे बढी चिन्ता गर्ने हो ।’

पार्टीमा श्रीमान् इतर भूमिकामा कटिबद्ध रहेकी रञ्जिता भने केन्द्रमा बनेको वर्तमान बाम गठबन्धन गरिनु पर्ने जोडबलमा छिन् । पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्मै समीकरण निर्माण गरिनु पर्नेमा दृढ रहेकी रञ्जितालाई प्रदेशको स्वायत्तताभन्दा सङ्घीय सरकारको मिलेमतो बढी महत्व छ । ‘रेशमदाई प्रदेश केन्द्रित भएर प्रदेशलाई स्वायत्त राख्ने भन्ने लाइनमा देखिनुभएको छ तर रञ्जिता भाउजु भने केन्द्रदेखि प्रदेशसम्म गठबन्धनसँग सहकार्य गरेर जाँदा पार्टीलाई फाइदा पुग्छ भन्ने लाइनमा देखिनुभएको छ ।’ कतिपयलाई रञ्जितालाई पुनः सरकारमा सहभागिताको लोभमा रहेका कारण प्रदेशको स्वायत्तता कुण्ठित गरिदिने मनसायमा रहेको समेत बुझाइमा छन् । ‘कतिपयले उहाँ (रञ्जिता) फेरि आफूू सरकारमा जानका लागि यस्तो खालको अडानमा रहेको भन्ने आँकलन पनि गरेका छन्’, ती सांसदले भने, ‘यो कुरा वास्तविक वा अवास्तविक के हो थाहा भएन तर उहाँको मुख्य अडान भनेको वर्तमान गठबन्धनसँग केन्द्रबाटै तालमेल गरेर जानु पर्छ भन्ने नै हो ।’

,रेशम दम्पत्तिका कारण पार्टी अनिर्णयको बन्दी बनेपछि पार्टीका तल्लो तहका नेताहरू उनीहरूको मिलन गराउन तल्लीन छन् । यो पार्टीका लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले पार्टीलाई उचित निर्णयका आधारमा अघि बढाउन रेशम र रञ्जिताबिचको बेमेल अन्त्य गर्ने प्रयासमा आफूहरू रहेको बताए । ‘म निरन्तर उहाँहरूसँगको सम्पर्कमा छु, मिलेर कसरी अगाडि बढ्न सकिन्छ भनेर मैले उहाँहरूसंँग फोनमार्फत् पहल गरिरहेको छु’, उनले भने, ‘अहिलेसम्म दुवैजनाको फरक–फरक अडान यथावतै छ तर यो समस्या सल्टिन्छ, धेरै समय लाग्दैन ।’