जिद्दी स्वभावले विकृति ल्याउँछ

नारायणप्रसाद श्रेष्ठ
सृष्टिको संरचनाभित्र गतिशील हुँदै आएको मानव जीवनमा अपनाइएका आचरण र स्वभावले ल्याएको परिवर्तन र परिवर्तन पछि देखिएको मानिसको हठवादी चिन्तन वर्तमानमा झनै मौलाउँदै गएको छ । एकातिर वर्तमान आगामी पुस्ताको लागि अनुशासित र मर्यादित जीवन पद्धतिप्रति आकर्षित गराउन खोज्दै छ भने अर्कोतर्फ यही वर्तमान नयाँ पुस्तालाई स्वार्थ अहङ्कार घमण्ड जिद्दीपन र हठवादी चिन्तनतर्फ उक्साइरहेको पाइन्छ । यसरी एकपछि अर्को गर्दै चाहाना इच्छा र प्रवृतिमा परिवर्तित रुप प्रष्टिँदै गएको छ ।
अहिले यो र त्यो बहानामा आफ्नो स्वार्थ अनुकुल कार्य गर्न सबैलाई उक्साइरहेको छ । अग्रसर गराउन विभिन्न हतकण्ड अपनाइ समाजको आदर्शलाई भत्काउँदै गएको देखिन्छ । देखेको वस्तु प्राप्त गर्ने बालहठ झै स्वभावमा जिद्दीपन र व्यवहारमा स्वार्थ यस्तो देखिँदै आएको छ । हठवादी चिन्तनले ल्याउने परिवर्तनले आफ्नो र भावी पुस्तालाई पु¥याउने क्षतिबारे विभिन्न कर्म र व्यवहारले देखाउँदै गएको अनुभव हुँदा हुँदै पनि मलाई केही थाहा छैन जस्तो गरी अवोध बालक झै इच्छा प्राप्तितिर मानिसको चिन्तन बढिरहेको छ । हठ प्रवृति यति विकसित भइसक्यो कि त्यसले सोच र चिन्तनमा आफ्नो पारिवारिक सहिष्णुता, दायित्व समेत बिर्सिसक्यो भर्खरैमौलाउँदै गएको सामाजिक आदर्श, सोच चिन्तनमा समेत स्वार्थले डेरा जमाइसकेको स्थिति देखिन्छ । एकातिर मानिसको स्वभावमा जिद्दीपन देखा पर्दै गएको छ भने अर्कोतर्फ इच्छा प्राप्ति नै सबै हो भन्ने मानसिकता विकसित हुँदै आएको पाइन्छ । भविष्यमा आउने परिणामको ख्याल नगरी क्षणिक स्वार्थपूर्ति गर्ने र यो नै सबै हो भन्ने प्रवृति पनि दुबोझैँ मौलाउँदै गएको छ ।
जसको फस्वरुप मानव आचरणमा विकृतिको जन्म भई कर्म र व्यवहारमा स्वार्थले प्रशय पाइरहेको छ । के गर्नु हुन्छ वा हुँदैन त्यसको ख्याल नगरी गरिएको कर्मको कारण परिणाम पनि मानिस भोगिरहेको छ । दुःखसुख लाभ हानीको हिसाब किताब मै मानिसको सोच र चिन्तन मुखरित भइरहेको छ । स्वभावमा जिद्दीपन देखा पर्नु भनेको आफ्नो अस्तित्व र पहिचानमा दाग लाग्नु हो । यो कुरा थाहा हुँदा हुँदै पनि मानिस त्यतैतिर आकर्षित छन् । यसले मानवीय चिन्तनमा कमजोर मानसिकता उजागर गरेको प्रस्ट हुन्छ । त्यसैले स्वभावमा आउने परिवर्तन र परिवर्तनले ल्याउने परिणामको भागीदार स्वयम् मानव अस्तित्व नै हुने हुँदा यसतर्फ बेलैमा सचेत हुन जरुरी छ ।
मानवीय विवेकलाई प्रयोग गर्दा बुद्धिरुपी भाडोमा अहङ्काररुपी जिद्दी प्रवेश गर्न नदिने गरी सिर्जनाका नयाँ पालुवालाई निस्वार्थ भाव जागृत गर्ने, व्यवहार गर्ने गराउने गर्नुपर्दछ । स्वभाव–कोरा कागज समान हुन्छ यसलाई समाजले जेजस्तो विचार र भाव सिकाउँदै जान्छ, जस्तो कलमले जे लेखिन्छ त्यही प्रदर्शन हुँदै जाने हो । त्यसैले जीवन पनि सादा कागज समान भाव प्रस्ट गर्दै गतिशील भइरहेको हुँदा यसमा विवेकरुपी कलमले जेजस्तो सिकाउँदै लेखाउँदै जान्छ त्यसरी नै सामाजिक परिवेश बन्दै जाने हुँदा अहंकार धमण्ड र अहंवादी चिन्तनरुपी विचारलाई यो मेरो कर्म र व्यवहारको शत्रु हो भनी आचरण र व्यवहारलाई परिस्कृत गर्दै लैजानु पर्दछ ।
मानव जीवनको उत्पत्तिसँगै विकसित र गतिशील हुँदै आएको हाम्रो आचरण र व्यवहारमा आएको परिर्वतनले मानिस स्वयम् प्रकृतिको वशमा रहेको शिध्द हुन्छ । जीवनको गति अनिश्चित छ । जन्ममरणको इतिहासमा गुज्रिएको जीवनको आयु कति छ ? र यो कुन समयमसम्म रहन्छ ? यो मानिसको वशमा हुँदैन । यो न त कसैको दबाब र परिवेशले यो नियमको फेरबदल हुन्छ । न त रोकेर, छेकेर छेकिन्छ । यो त प्राकृतिक सत्यको पनि सत्य हो । यो मानव जगतले देख्दै र भोग्दै आएको सत्य पनि हो ।
इतिहास बदलिन सक्ला तर यो अकात्य हुन्छ । यसको जानकारी मानव स्वयम्ले नगरेको पनि होइन तर पनि मानिस मै खाउ, मै लाउ, मै मोजमजाग गरु भनी प्राप्तिको विषयमा बढी लालयित भएको देखिन्छ । के प्राप्ति मात्र नै जीवन हो त ? जीवन छ त संसार छ भनी यदि जीवनको सुन्दर पक्षलाई नहेर्ने र एकोहोरो स्वार्थपरक चिन्तन प्रवाह गर्दै जाने हो भने यो कति जायज छ ? जीवनको सार्थकता के प्राप्ति मात्र हो ? तसर्थ यस कुरालाई गहिरिएर अध्ययन गर्ने हो भने वर्तमान अवस्थामा हाम्रो सोच यसैभित्र रोमलिएको छैन भन्ने आधार कमजोर देखिन्छ । त्यसैले जीवनका हरेक इच्छा र आकाङ्क्षा हुन सक्छन्, त्यसलाई अन्य उपायबाट पनि प्राप्ति गर्न सकिन्छ, प्राप्तिको लागि बालहठ झै यसमा झुम्मिनु पर्ने खासै पर्नु पर्दैन तर पनि मानिस आफ्नो स्वार्थ प्रकट गर्न पछि पर्दैन किन होला ?
जीवनमा जब समस्या आइपर्छ तब मानिसले त्यो समस्याको समाधान खोज्नु पर्छ । जब समस्या पर्छ तब समस्याले समाधान पनि सँगै ल्याउँछ । त्यसैगरी इच्छा र आकांक्षा पनि एक किसिमको समस्या नै हो यसको सहज समाधान हुन सक्छ । एक अर्काको मन जिती हुन्छ वा सुखदुःखको साथी बनेर हुन्छ वा सेवा भाव दर्शाएर हुन्छ अथवा आज्ञाकारी सिपाही भएर हुन्छ समस्या समाधान गर्न सकिन्छ । यसमा शक्ति, भक्ति र स्वार्थपरक चिन्तन गर्नै पर्दैन । इच्छा शक्तिले समस्या सहजै समाधान गर्छ यसमा बालहठ झै जिद्दी गर्न जरुरी हुँदैन । जिद्दी स्वभाव भनेको अल्छी, लाक्षी र स्वार्थी आचरण हो । जसले कर्मभन्दा निहित स्वार्थतिर मानिसको विचार आकर्षित गर्दछ । उसले यस बखत आफूलाई मात्र सर्वेसर्वा ठान्दछ । यो भनेको जिद्दीपन हो तर मानिसको आचरण त्यो होइन ।
जीवनको उद्देश्य भनेको सेवा र सद्भाव हो । बाच र बचाउ भन्दै मेहनत र पसिनाको प्रतिफल लिइ आनन्दको सागरमा डुबुल्कि मार्ने सजिब आत्मा हो । जसले आत्मा र परमात्माको सम्बन्ध बुझेको हुन्छ । सेवा र समर्पण नै जीवन जिउने आधार हो । यति कुरा थाहा हुँदा हुँदै पनि मानिसले आफूले आफैलाई पतित बनाउनेतर्फ किन उद्यत होला ? कुरै खाने कुरै लाउने राजनैतिक धरातल मात्र त जीवन होइन नि ? जीवन न त मागी खाने संस्कारमा हुर्केको सजिब आत्मा हो । जीवनको उद्देश्य भनेको पुर्खाले सिकाएको आदर्श चिन्तनभित्र सेवामा समर्पण रहने सत्य हो ।
सोच र चिन्तनलाई सर्वेभवन्तु सुखीन भनी कार्य दिशा निर्धारण गरी सत्चरित्रवान बन्नु हो । यसको लागि न कसैले रोकेको हुन्छ न त छेकेर यो छेकिन्छ । जिद्दी स्वभाव भनेको स्वार्थभित्र अलमलिएको चिन्तन हो यसले मानव जीवनलाई गलत मार्गमा लैजाने गर्छ । विचारमा अपभ्रंश पैदा गर्दछ । तसर्थ एकान्त बसेर एक पटक सबैले गम्भीर भएर विचार गरौँ । कतै हामी हाम्रो निश्चित गन्तव्यलाई अहंकार र घमण्डले परिपोषित गरी हाम्रो पुर्खाले लेखेको इतिहासलाई तथा त्यसले देखाएको सत्य गोरेटोलाई भुल्ने चिन्तन त गरिरहेका छैनौँ ? तसर्थ यसतर्फ पनि सोच वृद्धि गर्न जरुरी छ ।
यसको कारण हाम्रो संस्कृति र संस्कार भुलेर आफ्नो मौलिकपन मेटाइ पराया संस्कृतिलाई अवलम्बन गर्ने मानसिकताले त यस्तो कतै हुँदै गरेको त होइन ? यथार्थ धरातलमा युगौदेखि परिस्कृत हुँदै आएको हाम्रो संस्कारलाई रुढीवादी चिन्तन भनी किन प्रश्न तेस्राउँदै छ ? कतै हाम्रो आचरण त दोषी छैन ? विवेकशील भएर हुर्कँदै आएको हाम्रो संस्कारप्रति हामीले नै प्रश्न उठाइ हामीले हाम्रो अस्तित्वमाथि सौदा गर्नु पर्ने अवस्था किन देखा पर्दै छ ? के यो पनि मानवीय चिन्तन हो ? हामी किन बेचिँदै छाँै ? कति स्वार्थी भएका छौँ ? के हामी अरुको इशारामा आफूलाई परिचालन गर्ने जीव हो ? त्यसैले हाम्रो शुद्ध आचरण र अनुशासित व्यवहारले हामीलाई सहज हुन सिकाएको छ ।
जीवनको गतिलाई निःस्वार्थ सेवा गर्न उत्प्रेरित गरेको छ । जिद्दी गर भनेर कदापी सिकाएको छैन । हठवादी चिन्तन गर्न हाम्रो संस्कृतिले कहिले सिकाएन । अरुबाट आफू गलत हुने कार्य कदापी सह्य विषय पनि हुँदैन । त्यसैले अहंकारको दोषी स्वयम् व्यक्ति विशेष नै हुने हुँदा आफ्नो गन्तव्य निर्धारण गर्दा सच्चा र इमान्दार सेवक भएर अहंकारलाई परित्याग गर्नु पर्दछ । सेवा र परिश्रमबाट प्राप्त हुने सफलताको रस ग्रहणको बानीको विकास आजको असफलता हो । सत्चरित्रले नै चरित्रवान बन्न सिकाउने सत्य कुरालाई कदापी नभुलौँ । जीवन सत्य पथमा गतिशील हो सजिब आत्मा हो । त्यसैले विश्वास र भरोसा जगाउँदै अनुशासित जीवनशैलीतर्फ हामी सबैको ध्यान केन्द्रित गर्न लागि परौँ । आफूले आफैलाई धैर्यशील बनाइ ज्ञान चक्षुखोली शुल्कपक्षको चन्द्रमा झै सितल र उज्यालो बनौँ । जिद्दीपन दुर्गतीको मार्ग हो । यसलाई ज्ञान सत्यको रापिलो तेजले हटाउँदै स्वभावमा निस्वार्थ भाव जागृत गरौँ । स्वार्थ घमण्ड र जिद्दीपनको विचारलाई अग्निीमा स्वाहा गरौँ । यो वर्तमानले खोजिरहेको यथार्थ हो । अस्तु ।