लुम्बिनी प्रदेश : मन्त्री थप्ने सुरमा मुख्यमन्त्री

गोरक्ष समाचारदाता
दाङ, २९ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी मन्त्रिपरिषद् विस्तारको तयारीमा देखिएका छन् । उनले आगामी बुधवारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी थालेको स्रोतले जनाएको छ ।

आफ्नो नेतृत्वको सरकारको पक्षमा बहुमत जुटाउन कसरतमा रहेका मुख्यमन्त्रीले सरकार जोगिने अवस्था रहेमा बुधवारसम्म मन्त्री थप्ने तयारी गरेका छन् । उनले नागरिक उन्मुक्तिलाई सरकारको समर्थनभन्दा बाहिर जान नदिन यो दललाई प्राथमिकतामा राखेका छन् । यसैगरी सरकारको समर्थनमा मत जाहेर गर्ने अन्य राजनीतिक शक्तिलाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएको स्रोतले जनाएको छ ।

आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था रहे चैत ७ सम्म विश्वासको मत लिने र बहुमत पुग्ने अवस्था नदेखिए संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत लिने अन्तिम अवधिसम्म कसरत थाल्ने निर्णयमा मुख्यमन्त्री पुगेको स्रोतले जनाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीका दुई मन्त्रीलाई मुख्यमन्त्री चौधरीले बर्खास्त गरिदिएका छन् । यस बाहेक अन्य दुई मन्त्रालय समेत रिक्त छन् । यी सबै मन्त्रालयमा जिम्मा दिने गरी मन्त्री नियुक्त गर्ने मनसायमा मुख्यमन्त्री देखिएका छन् ।