हिमाल महरा
दाङ, २९ फागुन । नेपाली कांग्रेस लुम्बिनीका उपसभापति एवम् लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार बाहिर बस्न नसक्ने भएकाले गठबन्धन तोडिएको बताएका छन् ।
नेपाली कांग्रेस बंगलाचुली गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै खनालले सहमति अनुसार अबको १० महिनापछि माधव नेपाललाई नेतृत्व दिनु पर्ने भएको तर दाहाल आफैँ प्रधानमन्त्री भइरहने नियत राखेर गठबन्धन तोडेर भागेको बताए । आफ्नै नेतृत्वमा बनेको संविधानको रक्षाका लागि कांग्रेस माओवादीसँगको गठबन्धनमा सामेल भएको स्मरण गर्दै मन्त्री खनालले नागरिक अधिकारका लागि कांग्रेस सरकारमा हुनु र नहुनुमा कुनै फरक नपर्ने बताए ।
सरकार हुनु र नहुनुले कांग्रेसलाई कुनै फरक नपर्ने भन्दै मन्त्री खनालले नागरिकले मतबाट दिएको जिम्मेवारी सडकमै रहँदा पनि पूरा गर्न कांग्रेस प्रतिवद्ध रहेको बताए । अप्ठेरो परेको अवस्थामा नेतृत्व गरिदिन आग्रह गर्न कम्युनिस्ट आउने गरेको तर कांग्रेसले कहिल्यै पनि अरूको ढोकामा पुगेर नेतृत्व नमागेको मन्त्री खनालले बताए । अबको निर्वाचन कांग्रेस एक्लै लड्ने गरेर काम गर्न आग्रह गर्दै मन्त्री खनालले गएको निर्वाचनलाई समयको उपजको रूपमा लिनु पर्ने बताए ।
पार्टी र जनप्रतिनिधिबिचको सम्बन्ध सुमधुर बनाउन आग्रह गर्दै उनले मासिक रूपमा पार्टी नेतृत्व र जनप्रतिनिधिबिच छलफल गर्ने परिपाटी बसाल्न आग्रह गरे । पार्टी भित्रको एकता कायम गर्न पनि उनले आग्रह गरे । पार्टी नेतृत्वमा भएका कामबारे गाउँस्तरमा जानकारी गराउन पनि आग्रह गरे । समय–समयमा रँग फेर्ने पार्टीबाट नभएर आफ्नो विचारमा अडिग रहने पार्टीबाटै काम हुन्छ भन्ने जनताले राम्ररी बुझेको मन्त्री खनालले बताए ।
नेपाली कांग्रेसका बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि कांग्रेस दाङ जिल्ला पूर्व सभापति मोहनलाल वलीले संगठन बलियो बनाउन शुभेच्छुक संघसंस्थामा मात्र नभइ हरेक सामाजिक संघसंस्थामा नेपाली कांग्रेसको सक्रिय सहभागिता हुनु पर्ने बताए । पार्टी चलायमान नरहेको अवस्थामा रहेका भ्रातृ संस्था चलायमान हुन जरुरी भएजस्तै सामाजिक संघसंस्थामा पनि कांग्रेसको सहभागिताको खाँचो रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बद्री खड्काले कांग्रेसभित्र केही विवाद र असहमति हुनु स्वभाविक रहेको र त्यस्ता असहमतिका विषयलाई आन्तरिक रूपमा समाधन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गुटगत स्वार्थ त्यागेर अघि बढ्न सके मात्र कांग्रेस बलियो हुने बताए । अर्का महाधिवेशन प्रतिनिधि तेजबहादुर विकले विगतका कमीकमजोरीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको विचार व्यक्त गरे । कांग्रेस दाङ प्रदेश २ (क)का प्रकाश श्रेष्ठले टोलस्तरमा कांग्रेसलाई मजबुत बनाउनु पर्ने र सम्पूर्ण नेता तथा जनप्रतिनिधिले जनगुनासो सुनेर काम गर्न सके मात्र कांग्रेसको संगठन बलियो र सुदृढ हुने विश्वास व्यक्त गरे । बंगलाचुली गाउँपालिकाको उपाध्यक्ष भक्तबहादुर जिसीले बंगलाचुलीमा विकासले गति लिएको बताउँदै चुनावको बेला गरिएको वैकल्पिक बाटो र एक घर एक धाराको काम अघि बढेको समेत बताए ।
कांग्रेस पालिका उपसभापति इन्द्रमणि वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जितबहादुर वली, कृष्णप्रसाद सुवेदी, हिमबहादुर डाँगी, दामोदर पुलामी, मैते पुन, डासबहादुर डाँगी, विनोद गौतम, ईश्वर रोका, केशव जिसी, तेजबहादुर खत्री, ज्ञानबहादुर वली, केदार परियारलगायतले बोलेका थिए । कार्यक्रममा पालिकाका सचिव चेतप्रसाद डाँगीले वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विगतदेखि निरन्तर कांग्रेसको संगठन विस्तार गर्न योगदान गर्ने कार्यकर्ताहरूलाई सम्मान समेत गरिएको थियोे । कार्यक्रमको सहजीकरण सीिव बलदेव मल्लले गरेका थिए ।