निःशुल्क सिप सिक्न कोही आउँदैनन्

गोरक्ष समाचारदाता
दाङ, २९ फागुन । जिल्लामा धेरै नागरिक सिप नहुँदा बेरोजगार छन् । विदेश जानेहरूसँग पर्याप्त सिप नहुँदा मजदुरीका लागि जाने गरेका छन् तर राज्यले निःशुल्क सिप सिक्ने व्यवस्था गरे पनि सिप सिक्ने नागरिक भेटिँदैनन् । पछिल्लो समय सिप सिकेर स्वदेशमा स्वरोजगार बन्नेभन्दा पनि रोजगारका लागि बिदेसिने बढ्दै गएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय दाङले सिप सिक्ने नागरिक नआउँदा चालु आर्थिक वर्षमा सञ्चालन गर्ने तालिम सञ्चालन गर्नै सकेको छैन । सिप सिक्न इच्छुकलाई आउन सार्वजनिक रूपमा आह्वान गरे पनि नागरिक नआएको कार्यालयले बताएको छ । कार्यालयले सार्वजनिक रूपमा सूचना प्रकाशित गरेर सिप सिक्न इच्छुक कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिए । ‘तालिम सिक्न आउने नागरिक नहुँदा केही तालिम सुरु हुन सकेका छैनन्’, कार्यालय प्रमुख न्यौपानेले भने ।

कार्यालयले टायल, मार्बल लगाउने र जिप्सन लगाउने तालिम सञ्चालन गर्ने भने पनि तालिम लिन कोही नआएकाले हालसम्म पनि तालिम
सञ्चालन हुन सकेको छैन । टायल, मार्बल लगाउने र जिप्सन लगाउने तालिम आयआर्जनको राम्रो सिपका रूपमा कार्यालय अथ्र्याउँछ । अहिले बजारमा यसको माग समेत धेरै रहेको कार्यालयले जनाएको छ । यो सिप सिक्न चाहने आएमा तालिम सञ्चालन गरिने उनले बताए । तालिम लिन चाहेमा जिल्लाको जुनसुकै स्थानमा पनि तालिम सञ्चालन गर्न सकिने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । ‘सार्वजनिक सूचना तथा पालिकासँग सम्पर्क गरेर खोज्दा समेत सिक्न इच्छुक भेटिनुभएको छैन’, प्रमुख न्यौपानेले भने । यसका लागि सार्वजनिक सूचना, पालिकामार्फत् तथा व्यक्तिगत रूपमा समेत जानकारी गराइएको उनले बताए । तालिम सञ्चालन गर्न २० जना आवश्यक पर्ने उनको भनाइ छ ।

अधिकांश युवा बिदेसिएकाले पनि यो सिप सिक्न नआएको उनको बुझाइ छ । कार्यालयले सञ्चालन गरेका अन्य तालिममा पनि महिलाको सङ्ख्या उल्लेखनीय रहेको छ । ‘अधिकांश पुरुष रोजगारीका लागि बिदेसिएको कारण इच्छुक महिलालाई मात्र भए पनि तालिम दिनु परेको छ’, प्रमुख न्यौपानेले भने । राज्यले निःशुल्क रूपमा सिप प्रदान गर्दा समेत नागरिक नआउनु दुःख भएको उनी बताउँछन् । राज्यले प्रदान गरेको अवसरको सदुपयोग गर्न समेत उनले आग्रह गरे । ‘सिप सिकेमा आत्मनिर्भर बन्न सहज हुन्छ, सिप भएमा बेरोजगार भएर बस्नु पर्दैन, राज्यले सिप सिक्ने अवसर प्रदान गरेकाले अवसरको सदुपयोग गर्न सक्नु पर्दछ’, प्रमुख न्यौपानेले भने ।

तालिम सिक्ने प्रशिक्षार्थी मात्र नभइ प्रशिक्षक पाउन समेत समस्या छ । कार्यालयले सञ्चालन गर्ने र गर्न लागेका तालिमका लागि प्रशिक्षक समेत पाउन समस्या रहेको प्रमुख न्यौपाने बताए । हेन्डी–ग्राफ थारू समुदायको, गड्यौँलाको मल बनाउने, मार्बल, टायल, जिप्सन, इलेक्ट्रोनिकसम्बन्धी सामग्री मर्मत गर्ने प्रशिक्षक पाउन समस्या रहेको उनको भनाइ रहेको छ । ‘काम गरिराखेका व्यक्ति भए पनि कार्यविधि अनुसार आवश्यक पर्ने कागजपत्र नहुने हुँदा समस्या भएको हो’, प्रमुख न्यौपानेले भने । कार्यविधिभन्दा बाहिर गएर आफूहरूले काम गर्न नसक्ने भएकाले समस्या रहेको उनको भनाइ छ ।
विद्यालयमा उपभोक्ता सचेतना

घरेलु तथा साना उद्योग कार्यालय दाङले जिल्लाका सामुदायिक विद्यालयमा उपभोक्ता सचेतना प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षमा ५ वटा पालिकामा यस प्रकारको अभियान सञ्चालन गरिने कार्यालयका प्रमुख युवराज न्यौपानेले बताए । विद्यार्थीलाई दैनिक उपभोग्य सामग्री उपयोग गर्दा के–कस्ता कुरामा ध्यान दिने, बजारमा सामग्री खरिद गर्दा के–के हेरेर खरिद गर्ने, अखाद्य वस्तु बिक्री वितरण गर्न रोक लगाउन भूमिका खेल्न सहयोग पु¥याउने उद्देश्यले यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

‘विद्यार्थीमार्फत् प्रदान गरिने सचेतना प्रभावकारी हुने भएकाले विद्यालयमार्फत् यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने । विद्यालयमार्फत् दिने सचेतना एकैपटक धेरै क्षेत्रमा पुग्ने समेत उनको भनाइ छ । विद्यार्थीमार्फत् समुदायमा सचेत गराउन समेत सहज हुने कार्यालयको भनाइ छ ।

कार्यालयले पालिकाले तोकेर दिएको विद्यालयमा पुगेर सचेतना कार्यक्रम गर्ने गरेको छ । चालु आर्थिक वर्षमा बबई गाउँपालिकाको मावि बबरपुर, दंगीशरण गाउँपालिकाको मावि श्रीगाउँ, राजपुर गाउँपालिकाको सरस्वती मावि दुलैया र बंगलाचुलीको सरस्वती मावि जगरकोटमा सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । लमही नगरपालिकाको आदर्श मावि देउपुरमा छिट्टै सञ्चालन गरिने उनको भनाइ रहेको छ । कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई यस प्रकारको सचेतना प्रदान गर्ने गरिएको छ । विद्यालयमा सञ्चालन गरिने यस प्रकारको कार्यक्रम प्रभावकारी समेत मानिएको उनको भनाइ छ ।