देउखुरीको बेलामा घाइते रतुवाको मृत्यु

ओमप्रकाश गुप्ता

सिसहनिया, १० वैशाख । दाङ देउखुरीको राजपुर गाउँपालिका–२ बेलामा घाइते रतुवा (मृग) को उपचारको क्रममा मृत्यु भएको छ । कुकुरले लखेटेर घाइते बनाएको मृगको उपचारको क्रममा मृत्यु भएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण विडारीले जानकारी दिएका छन ।

मंगलवार बेलुकी ५ बजेतिर गाउँमा कुकुरले लखेटेर घाइते बनाएको करिव १८ किलोको रतुवा उपचारको क्रममा मृत्यु भएको प्रमुख विडारीले बताएका छन् ।

स्थानीयहरूको खबर पश्चात् वनको टोली उक्त स्थानमा पुगेको थियोे । मृत्यु भएको रतुवालाई लमही सव डिभिजनको कम्पाउण्डमा गाडिएको वन कार्यालयले जनाएको छ ।
त्यस्तै मंसिर महिनामा एउटा रतुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका साहायक वन अधिकृत टेकन आचार्यले बताएका छन् ।

पछिल्लो समय यता रतुवाहरू बस्ती तिर आउन थालेका छन् । घाँसे मैदानमा चर्न मन पराउने भएको हुनाले बस्ती नजिकै आउने गरेको अधिकृत आचार्यले बताएका छन् ।