नौमती बाजा बजाउने महिलालाई सम्मान

गोरक्ष समाचारदाता
तुलसीपुर, २४ फागुन । ११४औँ महिला दिवसको अवसरमा नौमती बाजा बजाउने महिलालाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका एवम् यस क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेर ती महिलाहरूलाई सम्मान गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको जनचेतना आमा समूहका ३० जना नौमती बाजा बजाउने महिलालाई सम्मान गरिएको हो । दुई वर्ष अघि आमा समूहमार्फत् १० लाखमा नौमती बाजा सेट खरिद गरेर समूहमार्फत् नौमती बाजा बजाउँदै आएका छन् । समूहका अध्यक्ष कौँसीला खड्काले विवाह, पूजा, ब्रतबन्ध तथा विभिन्न समारोहमा १० देखि ३० हजार रुपैयाँसम्म शुल्क लिएर बाजा बजाउँदै आएको बताइन् ।

बाजा बजाउने महिला समूहमा आबद्ध वाद्यवादक महिलालाई सम्मान गर्दै नगर प्रमुख टीकाराम खड्काले उनीहरूका लागि थप प्रोत्साहन र हौसलाका लागि पालिकाबाटै थप नौमती बाजा खरिद गरेर हस्तान्तरण गरिने बताए । उनले अझै पनि समाजमा नौमती बाजा बजाउने सिप र कला पुरुषमा मात्रै छ भन्ने मानसिकतालाई जनचेतना आमा समूहले चिर्न सफल भएको बताए । दिवसकै अवसरमा पाँच जना महिला पत्रकारलाई सम्मानित गरिएको थियो । दीप्तिशिखा चौधरी, उमा भण्डारी, अञ्जना चौधरी, यमकला भुसाल र रमा परियारलाई सम्मान गरिएको थियो । कार्यक्रममा जुत्ता सिलाउने पेसा अँगाल्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का बालकुमारी सार्की, वडा नं. १८ का सीता सार्की र वडा नं. ६ का विवा सार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नौमती बाजा बजाएरै तुलसीपुर बजार क्षेत्रमा परिक्रममा गरिएको थियो । उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम् नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ६ का पूर्व वडाध्यक्ष नवराज लामिछाने, महिला अधिकारकर्मी युवा करारा, सूष्मा लामिछाने, नागरिक समाजका पूर्व संयोजक टीकाराम रेग्मी, जर्मनी महिला अधिकारकर्मी बाबरालगायतले भनाइ राखेका थिए । कार्यक्रममा सामाजिक विकास समितिका सदस्य बसन्ता केसीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सामाजिका विकास शाखाका प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।