सरकार फेरबदलले अर्थतन्त्रमा झन सङ्कट

अमरराज आचार्य
दाङ, २४ फागुन । नेपाली राजनीतिमा आइरहने उतारचढावले सत्ताको नेतृत्व फेरबदल गराइरहन्छ । छिटो–छिटो सत्ता फेरबदलमा निर्णायक बन्दै आएको मुलुकको राजनीतिक परिदृश्यले नेपालको अर्थतन्त्रमा समेत उत्तिकै अस्थिरता पैदा गरिरहेको छ । छिटो–छिटो हुने सरकार परिवर्तनको नकारात्मक प्रभाव आर्थिक क्षेत्रमा पर्ने गरेको अर्थका जानकारको बुझाइ छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले तत्काल सरकार परिवर्तन हुँदा मुलुकको अर्थतन्त्रलाई समेत अस्थिर हुने बताउँछन् ।

‘सरकार बनाउने र फुटाउने कार्यले आर्थिक क्षेत्र थप सङ्कटमा जाने देखिन्छ’, अध्यक्ष शर्माले भने । स्थिर सरकार नहुँदा नेपालमा विदेशी लगानी भित्राउन नसकिने उनको बुझाइ छ । ‘जब मुलुकको सरकार स्थिर हुँदैन, त्यहाँ राजनीतिक अस्थिरता भइरहन्छ’, उनले भने, ‘जहाँ राजनीति र सत्ता अस्थिर हुन्छन् त्यो ठाउँमा लगानी भित्रन्न, लगानी नआउँदा स्वाभाविकै रूपमा मुलुकको अर्थतन्त्र कमजोर बन्छ ।’ देशको अर्थतन्त्र अहिले धरासायी छ । व्यवसायीहरू व्यवसाय बन्द गरेर विदेश पलायन हुनु परिरहेको अवस्था छ । नेपालमा लगानीको वातावरण बन्न नसकिरहेको बेला खेलिएको सत्ता फेरबदलको खेलले अर्थतन्त्रको यो अवस्थालाई थप कमजोर पार्ने उनको भनाइ छ ।

‘लगानी गर्न राजनीतिक स्थिरता प्रमुख कुरा हो’, उनले भने, ‘अस्थिर राजनीतिको उपज सत्ताका लागि मात्रै केन्द्रित हुने परिपाटी जसरी विकास भएको छ, यसले लगानीको वातावरण नेपालमा बन्न दिँदैन ।’ यस्तो अवस्थामा लगानीको सुरक्षा हुँदैन । फलतः लगानीकर्ता लगानी गर्न मात्रै नभएर लगानीको सुरक्षा समेत नहुने भएकाले बाहिरिने अवस्था बन्ने उनले बताए । ‘आर्थिक क्षेत्रको सुधारका लागि सबैका बिचमा सहकार्य आवश्यकता पर्छ तर आपसी बेमेल बढाएर सरकार फेरबदल गर्दा यसको सिधै असर आर्थिक क्षेत्रमा पर्न जान्छ’, अध्यक्ष शर्माले भने, ‘यसर्थ मुलुकमा लगानी भित्राउन र अर्थतन्त्रको बढावाका लागि तत्काल सरकार फेरबदलको संस्कार रोकिनु पर्छ ।’

त्यसो त व्यवसायीले राजनीतिक दलहरू अर्थतन्त्रलाई लयमा ल्याउन उदासीन रहँदै आएको आरोप लगाउँदै आएका छन् । ‘देशको आर्थिक क्षेत्रको विकासका लागि सरकार तथा प्रतिपक्षबिच सहकार्य हुनु पर्ने हो तर त्यसो भएको देखिँदैन, एउटाले गरेको काममाथि अर्कोले व्यवधान खडा गर्ने गलत संस्कार नेपाली राजनीतिमा कायम रहँदै आएको छ’, अध्यक्ष शर्माले भने । राम्रा काम जसले सुरु गरे पनि त्यसलाई सहयोग गर्नु पर्दछ’, अध्यक्ष शर्माले भने, ‘सरकारले केही राम्रो काम गर्न खोजेको थियो, फेरि सरकार परिवर्तन भएको छ, यसले फेरि काममा प्रभाव पार्ने देखिन्छ ।’

त्यसो त प्रदेश सरकारले गर्न थालेको शिखर सम्मेलनले लुम्बिनीको विकासमा केही सहयोग पुग्ने आशा गरिए पनि कार्यक्रम रोकिँदा यसले निराश बनाएको उनले बताए । ‘लामो समयदेखि तयारी गरेर आयोजन गर्न थालिएको गौरवको कार्यक्रम रोकिनु हुँदैनथ्यो’, उनले भने, ‘कार्यक्रम रोकिँदा विश्वसामु हाम्रोबारे नकारात्म सन्देश जाने गर्छ, यति मात्र होइन यो कार्यक्रम रोकिनु लुम्बिनीको विकासका निम्ति घाटाको विषय हो ।’ यो कार्यक्रम सरकार परिवर्तन भए पनि निरन्तरता दिइनु पर्ने उनी बताउँछन् ।

अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा सरकार परिवर्तनको खेलले अर्थतन्त्र थप समस्यामा पर्ने प्राध्यापक डा. अर्जुन बुढाथोकी बताउँछन् । ‘अहिले बजारमा धेरै सटर खाली भएका छन्, धेरै उद्योगी तथा व्यवसायी पलायन भइरहेका छन् । यसलाई राज्यले रोक्न सकेको छैन’, उनले भने । स्थायी सरकार बनाएर मुलुकको अर्थतन्त्रमाथि उकास्ने प्रयत्न कतैबाट पनि हुन नसक्नु ज्यादै दुःखद् भएको उनले बताए । ‘व्यक्ति तथा पार्टीको स्वार्थका कारण अहिले देशमा सरकार बनाउने र ढाल्ने खेल चलिरहेको छ, यसले देशको आर्थिक अवस्था बिग्रँदै गएको पाइएको छ’, प्राडा बुढाथोकीले भने । आर्थिक क्षेत्रलाई लयमा ल्याउने प्रभावकारी कार्य हुन नसकेको उनले बताए ।

‘नेतृत्व भरपर्दो नहुँदा समस्या आउने गर्दछ, अहिलेको अवस्था यस्तै रहेको छ’, उनले भने । देशको नेतृत्व गर्नेले यसबारे बुझ्न जरुरी रहेको समेत उनले बताए । ‘भाषणले मात्र देशको आर्थिक विकास हुँदैन आर्थिक विकासका लागि नेतृत्वकर्ताले गहन जिम्मेवारी निर्वाह गर्न सक्नु पर्दछ’, प्राडा बुढाथोकीले भने । देशको आर्थिक क्षेत्रलाई लयमा फर्काउन लगानी गर्ने वातावरण सिर्जना गरिनु पर्ने उनको भनाइ छ । ‘तर अहिले कसैले पनि लगानी गर्न खोजेको देखिँदैन’, प्राडा बुढाथोकीले भने ।