खेल जगतको उर्जाका लागि खुमबहादुर स्मृति भलिबल प्रतियोगिता : संयोजक आचार्य [अन्तर्वार्ता]
यतिबेला घोराही स्थित जिल्ला समन्वय समिति परिसरको सहिद मञ्च खेल क्षेत्रको रङ्गमञ्च जस्तै छ । जिल्लाभरका भलिबल खेलाडीको उत्साहजनक सहभागितामा भएको प्रतियोगिताले खेलाडीको मात्र नभएर खेलप्रेमीको पनि उर्जा थपिएको छ ।
जिल्लाका विकासप्रेमी नेता मात्र नभएर एक जना सामाजिक अभियन्ताका रुपमा समेत चिनिएका नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको स्मृतिमा आयोजना भएको यो तेस्रो संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशकै रोचक उत्साहजनक सहभागिताको अवसर पनि हो । जिल्लामा किन यो प्रतियोगिताको आयोजना गरिँदै आएको छ र यसले खेल क्षेत्रमा निर्वाह गरेको समग्र भूमिकाका विषयमा केन्द्रित रहेर तेस्रो खुमबहादुर खड्का स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताका विषयमा गोरक्षकर्मी खेमराज रिजालले प्रतियोगिता संयोजक राजु आचार्यसँग गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपाईलार्ई गोरक्ष सातावार्तामा ।
धन्यवाद, छ, यहाँलार्ई । यो उत्साहजनक खेलकुद प्रतियोगिताका विषयमा आम पाठकमाझ केही कुरा राख्ने अवसर प्रदान गर्नु भएकोमा ।
जिल्लास्तरीय प्रतियोगिताको कन्सेप्ट कसरी आयो ? यो विषयमा पनि केही बताइदिनुस् न ?
खासगरी खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा राज्यको ध्यानाकर्षण हुन नसकेको हामीले पायौँ । यसमा मुलुकको लिडिङ राजनीतिक दलका हिसाबले नेपाली कांग्रेस पार्टीले पनि यो क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने जिल्ला पार्टि कमिटिको निर्णय भयो । यसै अनुरुप जिल्लाका विकासप्रेमी नेता मात्र नभएर एउटा सामाजिक अभियन्ता र खेल क्षेत्रलार्ई माया गर्ने हाम्रा आदरणीय नेता खुमबहादुर खड्काको स्मृतिमा यो प्रतियोगिता सुरुवात गर्ने निधो भएसँगै हामीले विगत तीन वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दे आएका छौँ ।
किनकि खेल क्षेत्र एउटा राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्र हो । खेल अनुशासनसँग जोडिएको विषय हो, अनि खेल मानव स्वस्थ्यसँग पनि जोडिएको विषय भएकाले हामीले यो प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौँ । खासमा प्रतियोगिता नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको भए पनि यो समस्त खेलप्रेमीको प्रतियोगिता हो । यो प्रतियोगिता सम्पूर्ण पार्टी शुभचिन्तकको साझा प्रतियोगिता पनि हो भन्ने कुरा पनि मैले यसै पत्रिकामार्फत् आम पाठकलाई जानकारी गराउन चाहन्छु ।
यो प्रतियोगिताका सहभागिताका सन्दर्भमा पनि केही बताइदिनुस् न ?
खासमा हामीले यसलाई जिल्लाका सबै पालिकाबिचको प्रतिस्पर्धाका रूपमा लिएका छौँ । यसका लागि हरेक प्रालिका ग्रासरुटमा रहेका खेलाडीको खेलप्रतिको उत्साहलाई प्रतियोगिताका माध्यमबाट जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागि हुने अवसर जुटाउन पनि यो प्रतियोगितालाई आधार बनाएका छौँ । अहिलेको तेस्रो संस्करणमा आउँदा यो प्रतियोगितामा जिल्लाका ९ वटा पालिका सहभागि रहेका छन् । गढवा गाउँपालिका भने केही प्राविधिक तथा आर्थिक कारणले सहभागि हुन सकेको छैन । अरू सबै पालिकाका खेलाडीको यो प्रतियोगितामा सहभागिता छ ।
एउटा पालिकाको टिममा ६ जना खेलाडी, अन्य ६ जना अतिरिक्त खेलाडी र एक जना खेल संयोजक गरी तेह्र जनाको सहभागिता छ । प्रतियोगितामा सहभागि हुने हरेक पालिकाको टिमलाई प्रति टिम १० हजार रुपैयाँका दरले खाजा खानाका लागि उपलब्ध पनि गराएका छौँ ।
अर्को कुरा एउटा टिममा दुईजना राष्ट्रिय खेलाडी अन्य जिल्लाबाट पनि ल्याउन सकिने व्यवस्थापन प्रतियोगिता आयोजकले मिलाएको छ । किनकि अग्रज खेलाडीलाई ल्याउनुको कारण उनीहरूको खेल क्षमतालाई यहाँका खेलाडीले पनि आत्मसात गर्न सकुन् । ती खेलाडी यहाँका स्थानीय खेलाडीका लागि सिकाई पनि बन्न सकुन् भन्ने उद्देश्यले पनि नेपालभर जुनसुकै जिल्लाका भए पनि राष्ट्रिय खेलाडी ल्याउन सकिने गरी सहभागिताको व्यवस्थापन गरिएको पनि मैले यसै पत्रिकामार्फत् आम पाठकलाई जानकारी गराउन चाहन्छु ।
यो प्रतियोगिताको आर्थिक व्यवस्थापनका विषयमा पनि केही बताइदिनु हुन्छ कि ?
यो सम्भवतः लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो धनराशी भएको भलिबल प्रतियोगिता पनि हो । यो प्रतियोगिता सम्पन्न गर्नका लागि कम्तिमा दश लाख रुपैयाँ खर्च हुने गरी हामीले आर्थिक व्यवस्थापन गरेका छौँ । प्रतियोगिताको आयोजनाका लागि पार्टीका नेतृत्व, पार्टी शुभचिन्तक, विभिन्न संघसंस्था, खेलप्रेमी नागरिक, स्थानीय पालिकालगायतले आर्थिक सहयोग गर्नु भएको छ । प्रतियोगितामा उत्कृष्ठ हुने टिमलाई हामीले २ लाख २५ हजार, हुनेलाई १ लाख १२ हजार ५ सय, तेस्रो हुनेलाई ५० हजार, चौथोलाई सान्त्वना पुरस्कार स्वरुप २० हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी खेल अवधिभर उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडी, रेफ्रिलगायतलाई पनि पुरस्कार ट्रफि र मेडल प्रदान गरीने छ । साथै सम्पूर्ण सहभागिलाई प्रमाणपत्र समेत प्रदान गरिने छ ।
तपाई अहिले प्रतियोगिताको तेस्रो संस्करणमा हुनु हुन्छ, यो प्रतियोगिताले खेल क्षेत्रमा कस्तो उर्जा थपेको अनुभूति गर्नु भएको छ ?
हामी प्रतियोगिताको तेस्रो संस्करणमा आइरहँदा यो जिल्ला स्तरीय प्रतियोगितामा सहभागि खेलाडीले प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएर पुरस्कृत पनि भएका छन् । जिल्लाले राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनु भनेको एउटा कांग्रेस पार्टीको गौरवको विषय मात्र नभएर समग्र दाङ जिल्लाका खेलप्रेमीको गौरवको विषय पनि हो । त्यसैले यो प्रतियोगितामा हामीले दुईजना राष्ट्रिय खेलाडीलाई हरेक टिममा सहभागि बनाउनुको उद्देश्य सिकाईका लागि पनि हो ।
प्रतियोगितामा जित हार एउटा पक्ष हो भने अर्को महत्वपूर्ण पक्ष त सिकाई नै हो । यो अर्थमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता एउटा खेलकुद प्रशिक्षण पनि हो । त्यसकारण पनि हरेक पालिकाले हरेक वर्ष यो प्रतियोगितालाई थप उत्साहजनक भएर सहभागिता जनाइरहेकोमा हामी आयोजक पनि गौरवान्वित भएका छौँ । साथै उहाँहरूको उत्साहजनक साथ र सहभागिताको निरन्तरताको पनि अपेक्षा गर्दछौँ । किनकि खेल क्षेत्रलाई पछिल्ला समयमा राज्यले अर्थपूर्ण रूपमा सम्बोधन गर्न नसकेको हामीले अनुभूति गरेरै यो प्रतियोगिताको आयोजनाको सुरुवात गरेका हौँ । यो प्रतियोगिताले मुलुकका तीनै तहका सरकारलाई खेल क्षेत्रमा अर्थपूर्ण लगानी गर्न सकोस् भनेर पनि यो प्रतियोगिता आयोजना गरिएको हो ।
अन्तमा केही भन्न चाहनु हुन्छ ?
खेल क्षेत्र एउटा राष्ट्रिय पहिचानको अवसर हो । नामै नसुनिएका मुलुकलाई पनि एउटा उत्कृष्ठ खेलाडीले नाम चिनाउन सफल बनाएको छ । खेल एउटा मानव स्वास्थ्यसँग पनि जोडिएको विषय हो, अनि खेल एउटा अनुशासनसँग जोडिएको पनि विषय हो । यस कारण पनि मुलुकका तीनै तहका सरकारले खेललाई समृद्धिसँग पनि जोडेर लैजानु पर्दछ भन्ने मलाई लाग्छ । त्यसो त पछिल्ला केही वर्षमा विभिन्न पालिकाहरूले पनि खेल क्षेत्रलाई प्राथमिकतामा राख्न थालेको देखिन्छ ।
भलिबल प्रतियोगिता मात्र नभएर यहाँ क्रिकेटका खेलाडी पनि उत्कृष्ठ छन् । तोक्वान्दो र करातेका खेलाडी छन् । फुटबलका खेलाडी पनि छन् । खेलका हरेक विधालाई तीनै तहका सरकारले सम्मान एवम् सम्बोधन गर्न आवश्यक छ । बाह्रौ राष्ट्रिय खेलकुद प्रतियोगिताकै कारण हामीले बेलझुण्डिमा अन्तर्राष्ट्रिय स्तरको सेन्थेटिक ट्र¥याकसहितको खेलमैदान पाएका छौँ । लमहीमा त्यस्तै स्तरको क्रिकेट मैदान पनि पाएका छौँ । यी खेल पूर्वाधारको भरपुर सदुपयोग गर्दै त्यहाँ नियमित खेल अभ्यासको व्यवस्थापनमा पनि जिल्ला खेलकुद विकास समिति लाग्नुपर्छ भन्न चाहन्छु । खेलकुद विकास समितिमा विभिन्न विधाका खेल प्रशिक्षक हुनु हुन्छ ।
उहाँहरूले पनि नियमित रूपमा खेल प्रशिक्षण चलाएर जिल्लाबाट हरेक विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन सक्ने खेलाडी उत्पादन गर्नतर्फ अग्रसर हुनु आवश्यक छ भन्न चाहन्छु । साथै यो तेस्रो खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता आयोजना भइरहेका बेला खेल क्षेत्रका विषयमा केही जिज्ञासा आम पाठक माझ राख्ने अवसर दिनुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।