सफल जीवनको आधार

नारायणप्रसाद श्रेष्ठ

सृष्टिको इतिहासलाई जिवन्तता दिँदै निरन्तर गतिशील हुँदै आएको जन्ममरणको प्रक्रिया हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहने छ । यही गतिशील भित्र मानवीय स्वभाव र आचरणमा विविधता देखिए पनि सबैको एउटै उद्देश्य खुसी र आनन्द भित्र केन्द्रित भएको पाइन्छ । यही प्राप्तीको लागि मानिस दिनहुँ दौडधुप गरी सृष्टिको परम्परालाई पुस्ता हस्तान्तरण गर्दै यो अवस्थासम्म आइ पुगेको छ । यसै प्राप्तीको लागि मानिस–मानिसबिच आपसी सहयोग, सद्भाव बैमन्यस्यता र लुछाचुढी पनि छ । तसर्थ प्रत्येकले आफूले आफैलाई हेरी आफ्नो कर्म र व्यवहारमा पवित्र भाव जागृत हुने गरी नैतिक आचरण र व्यवहार गर्नु गराउनु परेको छ ।

स्वभावमा नैतिकता र संस्कारमा पवित्रता मानव जीवनको उत्कृष्ठ आचरण हो । जबसम्म स्वभाव र संस्कारमा सकारात्मक सोच र चिन्तन देखा पर्दैन तबसम्म व्यक्तिको आचरण र व्यवहारमा परिवर्तन हुँदैन । तसर्थ यसको लागि मानव स्वयम्ले भौतिक सत्ताले स्वीकारेको आध्यात्मिक सत्यले प्रतिपादन गरेको आचरण र व्यवहारलाई अंगिकार गर्नु गराउनु पर्दछ । तत्वदर्शी बनेर समस्त संसारलाई एउटै नजरले हेर्ने बानीको विकास गर्नु पर्दछ । तत्वदर्शीहरु सत्य के हो असत्य के हो दुवै जान्दछन् । उनीहरु भन्छन्–सत्यको अभाव हुँदैन असत्य छँदै छैन । असत्य त मानव आचारण र अविश्वासले उब्जाएको क्षणिकता मात्र हो । उनीहरुको विचारमा मानव चिन्तनभित्र जुन संस्कार र परिवेशको विकास भएको छ, सोही अनुकुल चिन्तन र आचरण उनीहरुमा विकसित भएको हो ।

सकारात्मक सोचले सही दिशा निर्देश गर्दै आत्मज्ञानको बोध गराएर अघि बढेको हुन्छ भने नकारात्मक र परचिन्तनले असहज परिस्थितिको सिर्जना गरिरहेको हुन्छ । यसले पनि स्वभाव र व्यवहारमा राम्रो र नराम्रो प्रभाव पारिरहेको हुन्छ । जुन चिन्तन संस्कार र परिवेशले मानिसको स्वभाव र आचरणमा सकारात्मक प्रवृतिको प्रभाव बढेको हुन्छ उसको आचरण र व्यवहार तथा प्रवृतिमा असल परिवर्तन ल्याइरहेको हुन्छ । त्यसैले सभ्य समाज निर्माण गर्ने र मानवीय चरित्र सुधार्न हर हमेशा चनाखो भइरहनुपर्छ । संस्कार र संस्कृति यस्तो मूल जड हो जसले राम्रो र नराम्रो भेद छुट्याइरहेको हुन्छ । कतिपय संस्कार यस्ता हुन्छन् जो देख्नमा अदृश्य जस्तो देखिए पनि त्यसले मानिसको दैनिक जीवनमा प्रत्यक्ष अप्रत्यक्ष असर पु¥याइरहेको हुन्छ ।

सत्य र असत्यको बोध गराउँदै जीवनलाई सही गोरेटोमा लैजान प्रेरणा जगाइरहेको हुन्छ । आफ्नो आङमा भैँसी हिडेको नदेख्ने अरुको आङमा जुर्मा हिडेको देख्ने प्रवृति पनि यस्तै भौतिक र आध्यात्मिक सत्यको पहिचान नभएर भएको हो । अरु केही होइन म र मेरो भनाइ विचार मात्र उचित छ भन्ने प्रवृति बढ्नु भनेको नकारात्मक भाव जागृत हुनु हो । यस्तो प्रवृति उन्मुख कर्मले सधै नकारात्मकमा जन्मी नकारात्मक गतिमै समाप्त हुनु हो । यस्तो प्रवृति भएको स्वभावले राम्रो हेर्ने र सोच्ने अभ्यास गरेको हुँदैन । किनकी उसले विश्वास लगनशील र आत्मविश्वास गर्न जानेकै हुँदैन । उ केवल सीमित घेराभित्र रहेर उज्यालो देख्ने कोशिसमै सीमित भएको हुन्छ ।

कुवाभित्रको भ्यागुता कुवामै रमाउँछ त्यही विसर्जन हुन्छ भने झै गलत आचरण र व्यवहार भएका मानिसहरु जतिसुकै आदर्शको ढवाङ रचे पनि न त उसले आफ्नो हैसियत धरातल तथा मर्यादा बुझेको हुन्छ न त नीति सिद्धान्तमा आधारित आचरण र व्यवहार गर्न जानेको नै हुन्छ ? उ केवल आफ्नो स्वार्थ नै सबैको स्वार्थ हो भनी आफूलाई प्रदर्शन गर्न चाहिरहेको हुन्छ । आफ्नो स्वार्थलाई सर्वोपरी ठान्ने प्रवृति बढ्नु भनेको अस्वाभाविक चरित्र र आचरण प्रदर्शन गर्नु हो । यस्तो प्रवृति उन्मुख स्वभावले अरुको कुभलो मात्र चाहने आचरण गर्दछ । यसैलाई अनैतिक चरित्र भनिन्छ ।

यसरी एकातिर नकारात्मक प्रवृतिले मानिसको जीवनमा अप्रत्यासित दुःखद क्षणको परिकल्पना गरेको हुन्छ भने अर्कोतर्फ नकारात्मक प्रवृतिलाई पनि सकारात्मक दृष्टिकोणले हेर्ने बुझ्ने प्रवृतिका मानिस पनि हुन्छन् । यस्तो प्रवृति उन्मुख सोचमा हुर्कन खोज्नेले कसले के ग¥यो, के भन्यो, त्यो प्रवाह गर्दैनन् । उ केवल आफ्नो बानी र व्यवहारमा शुद्धता कसरी ल्याउने त्यसतर्फ उत्साहित भइरहन्छ । उ सधै गम्भीर र सकारात्मक चिन्तन भित्रै चिन्तित भइरहन्छ । विचारमा शुद्धता र बानीमा मधुरता भएको कारणले होला सकारात्मक चिन्तकहरु कहिले कतै अलमलिँदैनन् । हुन त सतिले सरापेको देशमा के हुँदैन र ? झुटलाई सत्य र सत्यलाई झुट बनाउने जमात यहाँ प्रशस्तै छन् ।

राम्रा नराम्रा घटनाहरु घटिरहेको छन् । राम्रो र सत्यलाई सत्य नभनी अत्यको वकालत गरेको अवस्था नभएको पनि होइन । उनीहरु केवल चर्मदृष्टिको सत्यलाई मात्र स्वीकारेको स्थिति पनि छ । राम्रोलाई न नराम्रो भनेर विचार सम्प्रेषण गरेको अवस्था पनि विद्यमान छ । वास्तवमा सत्यको अगाडि यी खासै होइनन् । यस्ता प्रवृति भनेको सूर्यलाई हत्केलाले छोप्छु भनी आफूले आफैलाई छोप्नु हो । बादलले सूर्यलाई छेक्छु भनी जति घमण्ड गरे पनि सूर्यको किरण छेकेर छेकिन्न न त ढाकिन्छ नै । त्यसैगरी हत्केलाले छोपेर के सूर्य छेकिन्छ र ? बरु जसले हत्केलाले सूर्यलाई छेक्ने कोशिस गर्छ उसले आफूले आफैलाई छेकेको हुन्छ ।

सूर्यको रोशनीलाई न त बादलले छेक्छ न त हत्केलाले । यो त केवल मानिसको भ्रमभित्र पालिएको गलत मानसिकता हो । यस्तो मानसिकता प्रदर्शन गर्नु भनेको आफूले आफैलाई अन्धकारमा धकेल्नु हो । त्यसैले प्रवृतिमा देखा पर्ने जति पनि कुविचार छन् त्यसलाई हटाई परिस्थिति अनुकुल सकारात्मक विचार उन्मुख गराउनु पर्दछ । तबमात्र मानिसले आफूलाई खुसी र उमंगमा रमाउने स्थिति बन्न पुग्दछ । जब उसले यो वातावरण सही र स्पष्ट छ भन्ने कुरा बुझ्ने सामर्थ राख्दछ तबमात्र सिर्जनाका नयाँ पालुवा लाग्न थाल्दछन् ।

मानिसको भाव र गतिमा समानता बढ्न गई उसको व्यवहार र कर्ममा सकारात्मक प्रवृति देखा पर्न थाल्दछ । संस्कारमा देखिएका जति पनि कुरीति छन् ती सबै क्रमश हट्दै जीवनको गोरेटो आनन्द उन्मुख भइरहन्छ । जसको कारण सामाजिक परिवेश आदर्श उन्मुख भई स्वच्छ र पवित्र संस्कृति एवम् संस्कारको विजारोपण भई सिर्जनात्मक भाव जागृत भइरहने अवस्था हुन्छ । त्यसैले समाजलाई प्रदुषित बनाउन देखा पर्ने कुप्रवृति मानिसको चिन्तनमा आउनै नसक्ने गरी विचार र चिन्तनमा सकारात्मक भाव जागृत गर्नु परेको हुन्छ ।

संस्कृति र संस्कारभित्र रहेको सम्भावित आदर्शलाई कर्मको आधारबाट देखिएको अवगुणलाई विशाल वृक्ष बनाई जुन किसिमले संस्कृतिको आदर्शमाथि नै धावा बोल्ने जुन चिन्तन वर्तमानमा देखिएको छ यसले हाम्रो पहिचान कमजोर बनाउँदै छ । पारिवारीक जीवन पद्धतिमा रहेको पित्रीदेवो भव, मातृदेवो भव र गुरुदेव भव भन्ने हाम्रो संस्कारलाई बिर्सी बाबुआमाले दिएको स्नेह, त्याग र समर्पणलाई छोडि भौतिक विलासीतिर आकर्षित हुने जुन संस्कृति वर्तमानमा सलबलाइरहेको छ । वास्तवमा यसले मानिसको दिन चर्यालाई असहज बनाइरहेको छ । स्वच्छ र पवित्र विचार सागरमा डुबुल्कि मारी आफूलाई सत्य कर्म र पथमा लैजाने जुन सत्य विचार छ त्यसलाई भौतिक चकाचौधले दुषित बनाइरहेको छ ।

आफूले आफ्नै संस्कारलाई भुलेर आफैलाई बिर्सने जुन चरित्र हामी निर्वाह गर्दैछौ कतै यही नै दुःखको कारण त होइन ? प्रश्न उठ्दै आएको छ । तसर्थ हाम्रो आचरण र व्यवहारलाई सकारात्मक कर्मतर्फ आकर्षित गर्ने जुन परम्परा र संस्कृतिमा हामी हुर्कँदै आएका छौ त्यसको गम्भीर रुपले चिन्तन गरी खुसी र आनन्दभित्र केन्द्रिकृत हुने हाम्रो व्यवहार र कर्मलाई सर्वेभवन्तु सुखीन सर्वेसन्तु निरामया भनी समर्पण हुनु परेको छ । व्यवहार र कर्मलाई पस्किृत गर्नु परेको छ । मानिस परिस्थिति बस अलमलिन सक्छ, कर्म अधुरो हुन सक्छ, तर पनि मनमा आउने सकारात्मक चिन्तन र भावले यी सबै सहज बन्छ भन्ने दृढता राखी समयलाई सदुपयोग गरी आफू र आफ्नो परिवेशलाई सच्याउँदै जानु पर्दछ ।

स्वभावले ल्याउने परिवर्तन र परिवर्तनले ल्याउने आदर्श चिन्तन जीवनको आदर्श गति हुन सक्छ र यसैबाट जीवनले सफलता प्राप्त गर्न सक्छ । त्यो कुरालाई आत्मसात गरी नैतिक धरातलमा आफूलाई सही र स्पष्ट चिन्तक बनेर प्रस्तुत हुनु पर्दछ । यहाँ नै जीवनको सफलता अडेको हुन्छ यो कुरालाई सबैले गम्भीर भएर बुझ्न जरुरी छ । हतारमा कर्म गरी पछुताउनुभन्दा संम्यम् र धैर्य भई समय अनुकुल आफ्ना आदर्श विचार प्रवाह गर्नु वर्तमानले खोजेको सत्य हो यही नै जीवनको सफलता मानिन्छ ।