Goraksha

National Daily

‘सन्तोषम्, परमसुखम्, आनन्दम् मेरो खुसी हो’

उनी सधै कर्ममा विश्वास गर्छन् । नामको शान्तराज उनी नाम जस्तो शान्ति स्वभाव र लगनशील मिजासिला छन् । तुलसीपुर उपमहानगरपालिका–१२ निवासी शान्तराज गौतमका जीवनमा धेरै खुसी छन् । उनले आफ्नो आमाको साथमा बस्न पाउँदा संसारमै सबैभन्दा खुसीको क्षण जस्तो लागेको बताउँछन् ।

मानव जीवन सधै खुसीसँग जिउनुपर्छ भन्ने उनको भनाई र बुझाई छ । ‘कुन विषय र कति सन्तुष्टीमा मान्छे खुसी हुने भन्ने कुरा हरेक व्यक्तिसँग भर पर्छ, म त आफूलाई स–साना कुरामा पनि खुसी हुने मान्छे हो’उनले भने । २०६२ सालमा महेन्द्र मावि तुलसीपुर दाङबाट सेक्सन ए र बि गरी नियमित परीक्षा दिने २७२ जना विद्यार्थी भएको उनले सम्झिए । ती मध्ये जम्मा २६ जना मात्र नियमित एसएलसी उत्तीर्ण हुँदा सुरु भएको खुसीको जीवन यात्रा एकाध घटना बाहेक हरेक पल खुसीमै बितेको उनी बताउँछन् ।

‘सन्तोषम्, परमसुखम्, आनन्दन मेरो मन्त्र नै हो’ उनका खुसी खोज्दै गर्दा उनले भने । आफूसँग जे छ वा जुन कुरा प्राप्त हुन्छ त्यसैमा सन्तोष हुन सकियो भने जीवन खुसी हुन्छ भन्ने मान्यता आफूले राख्ने गरेको शान्तराजले बताए । बुवाको उपचार गर्ने मूल लक्ष्य लिएर २०६३ साल असार ६ गते एसएलसी नतिजा आउँदा द्वितीय श्रेणीमा उत्तीर्ण हुँदा हुँदै पनि परदेशतिर लागेको उनी बताउँछन् । करिब १६ महिना परदेश बस्दा आफ्नो लक्ष्य पूरा गरेर फर्केको भन्दै उनले त्यतिबेला पनि आफू खुसी भएको सुनाए । नेपाल फर्केपछि २०६४ साल मंसिरमा राप्ती बबई क्याम्पस तुलसीपुरमा आइए प्रथम वर्षमा भर्ना भएको र २०६५ साल चैत्र ६ गते स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीबाट एक जना आफूमात्र निर्वाचत हुँदा पनि अन्यन्त खुसी भएको उनले सुनाए । त्यस्तै फेरि २०६६ सालमा रोजगारीको लागि परदेश लागेको उनी सुनाउँछन् । परदेश बस्दा पनि जुन लक्ष्य र उद्देश्य (आम्दानी राम्रो भएको) लिएर गएको थिए त्यो पूरा भएको थियो ।

त्यसकारण पनि म खुसी नै भएको थिए उनले भने । २०६७ बैशाखमा नेपाल फर्केपछि रेडियो हाम्रो पहुँच ८९ मेघाहर्ज स्थापना कालदेखि नै जिडिन पुगेको उनी सम्झन्छन् । तालिम लिएका साथीमध्ये सबैभन्दा पहिलो कर्मचारीको रूपमा नियुक्ति पाउँदा अत्यन्तै खुसी भएको उनले सुनाए । ‘रेडियोबाट आवाजविहीनको आवाज बोली दिँदा जस्तो आनन्द र खुसी त अरू के नै होला उनले भने । २०६८ साल असार ५ मा साविक टरिगाउँ गाविसको सामाजिक परिचालकमा नाम निकालेर नियुक्त लिँदा उनलाई अर्को खुसी प्राप्त भयो । ‘टरिगाउँ गाविसको निस्पक्ष प्रतिस्पर्धाले त्यसबेला लोकसेवातिर म आकार्षित भएको थिए’ उनले भने । २०७० सालमा हजाराँै प्रतिस्पर्धालाई पछि पार्दै निजामती सेवाको खरिदारमा नाम निकाल्दा अर्को खुसी प्राप्त भएको उनले सम्झिए । त्यससँगै ८ महिना पछि २०७१ सालमा नायव सुब्बामा नाम निस्किँदा आफू निकै खुसी भएको बताए ।

‘खुसी हुनुको कारण पनि के छ भने पढाइ छोडेको लामो समयपछि प्रतिस्पर्धामा होमिएर नाम निस्किनु थियो’ शान्तराजले भने । ’नाम निकालेर नागरिकको सेवा गर्न गाउँ–गाउँ जाँदा जनताको घरदैलोमा पुग्दा जस्तो आनन्द र खुसी संसारैमा कमै मिल्ने उनको भनाई छ । स्नातक राप्ती बबई क्याम्पसबाट र स्नाकोत्तर त्रिभुवन विश्वविद्यालयबाट २०७२ सालमा द्वितीय श्रेणीमा उत्तीर्ण भएको उनले बताए । हाल निजामती सेवामा रही जनताको सेवामा समर्पित नै छु । ‘मेरो लागि सार्वजनिक सेवा प्रवाहमा पहिलो प्राथमिकता भनेको सामान्य नागरिक नै हुन्, जसको बोली दिने र भनी दिने कोही छैन उनीहरूलाई सेवा दिँदा जस्तो खुसी अरू कहाँ पाइन्छ ?’ उनले भने ।

कुनै दीर्घरोगी र असाहयलाई सानो र सक्दो सहयोग गर्दा पनि मनमा खुसी र आनन्द मिल्ने उनी बताउँछन् । २०७६ साल पछि कोरोना जोखिमले धेरै तनाब दियो २०७८ सालमा बुवालाई गुमाए २०७८ सालमै आमालाई फोक्सोको क्यान्सर पुष्टी भयो उनले विगत सम्झिए । डाक्टरले ६ महिनामा बिदा दिएको थियो तर कुनै हरेस नखाएर आमाको उपचारमा निरन्तर विभिन्न हस्पिटल दौडाए तर भगवान्को कृपाले आज उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ । आज आमाको साथ र काखमा बस्न पाएको छु संसार मै यो जति ठुलो खुसी, आनन्द र सन्तुष्टी अरू केही हुन सक्दैन जस्तो लाग्छ ।

साँझ बिहान आमाको मुहारमा देखिने मुस्कान र बोली नै खुसीको सञ्चार झै लाग्छ । मान्छेलाई कुनै समय पद चाहिन सक्छ, कुनै समय पैसा, कुनै समय साथीभाइ, कुनै समय शिक्षा, कुनै समय घुुमघाम रमाइलो, कुनै समय परिवार व्यवस्थापन । अरू कुरापछि पनि उपभोग गर्न र लिन सकिन्छ तर परिवार व्यवस्थापन अर्थात् आमाको काखमा बस्न सधै समय आउँदैन जुन समय आउँछ त्यो जति महत्वपूर्ण अरू होइनन् जस्तो उनलाई लाग्छ ।

प्रस्तुती : बालाराम खड्का