प्रमोद आचार्य
दंगीशरण, २३ फागुन । दंगीशरण गाउँपालिकाको गाउँसभाको १६औँ अधिवेशन मङ्गलवारदेखि सुरु भएको छ । आर्थिक वर्ष २०८०÷८१ को संशोधित बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सभामा संशोधित बजेट वक्तव्य पेस गरेकी हुन् ।
दंगीशरण गाउँपालिकाको दोस्रो कार्यकालबाट निर्वाचित जनप्रतिनिधिले समग्र गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक र सांस्कृतिक विकासका लागि पालिका अगडि बढेको जनाएका छन् । गाउँपालिकाले सीमित स्रोत साधनलाई समानुपातिक र न्यायोचित वितरणको माध्यमबाट अधिक्तम प्रतिफल प्राप्त हुने गरी कार्यक्रमको योजना तर्जुमा गर्ने कार्यलाई आफ्नो उच्च प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्ष ०८०÷०८१ को हालसम्मको ७ महिनाको अवधिमा प्राप्त उपलब्धिबारे जानकारी गराउँदै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले भौतिक निर्माणतर्फका क्रमाङ्गत योजना, विशेष अनुदानतर्फका योजना, समपुरक योजना तथा गाउँपालिका योजनाहरू, ठेक्का सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको बताइन् । दंगीशरण गाउँपालिकाको सबैभन्दा विकट मानिने फुर्केसल्लीमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन भइ सेवा प्रवाह गरी सञ्चालनमा ल्याएको, खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता हालै सम्पन्न गरिएको उनले बताइन् ।
छोरी सम्मान सुत्केरी प्रोत्साहन कार्यक्रम, दंगीशरण स्वास्थ्य सुधार कार्यक्रम, उज्यालो आँखा कार्यक्रम, शिक्षाको गुणस्तर सुधारका लागि कक्षा ५ र १० को नयाँ पाठ्यक्रम प्रवोधीकरण सम्पन्न गरिएको, कृषि विकाससँग सम्बन्धित कार्यक्रम अन्तर्गत विभिन्न तरकारी तथा उन्नत बिउबिजन खरिद गरी वितरण गरिएको छ । दलित आदिवासी, जनजातिको हकहितको सुरक्षा तथा सशक्तीकरणका लागि ऐन निर्माण गरी गाउँ सभामा पेस गरिएको, न्यायिक समितिबाट न्याय सम्पादनको कार्यलाई छिटोछरितो बनाउन सुधार गरी छुट्टै न्यायिक कक्षको व्यवस्था गरी आवश्यक कार्य अगाडि बढाइएको उनले बताइन् ।
गाउँपालिकाको चालु आर्थिक वर्ष ०८०÷०८१ को कूल बजेट ४४ करोड ११ लाख ८२ हजारमध्ये ८१ लाख ८६ हजार बराबरको नाम योजनाको नाम तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव उपाध्यक्ष खड्काले गाउँ सभामा पेस गरेकी हुन् । २२ गते गाउँ सभामा प्रस्ताव पेस भएका प्रस्तावको निर्णयार्थ २४ गतेका लागि सभा बोलाइएको छ ।