आत्महत्या रोकथामबारे अभिमुखीकरण

बालाराम खड्का
तुलसीपुर, २२ फागुन । आत्महत्या रोकथामसम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरद्वारा सञ्चालित एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसी) कार्यक्रम अन्तर्गत प्रहरी तथा सञ्चारकर्मीका लागि आत्महत्या रोकथामसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबारे जानकारी, लैङ्गिक हिंसा न्यूनीकरण तथा नियन्त्रणमा सहयोग, आत्महत्यासम्बन्धी धारण, यथार्थता सत्यता आत्महत्या रोकथामका उपाय र भूमिका, आत्महत्या जोखिममा रहेका व्यक्तिका पहिचान गर्न तथा आत्महत्या रोकथामा सहयोगलगायतका विषयमा जानकारी गराएको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. पदमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले आत्महत्या गर्नुका कारण धेरै भए पनि ९५ प्रतिशत व्यक्तिले मानसिक रोगी भएको तथ्याङ्कले देखाएको बताए । त्यस्तै उनले बाँकी ५ प्रतिशत व्यक्तिमा कहिलेकाहीँ एक्कासी तनावपूर्ण अवस्थामा आत्महत्याको प्रयास हुने देखिएको बताए । प्रहरी निरीक्षक केसीले जिल्लामा तीन वर्षको अवधिमा सात सय जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेको तथ्याङ्कले देखाएको बताए ।

आर्थिक वर्ष ०७७÷०७८ मा विष सेवन गरेर ५७ जना, आत्महत्या दुरुत्साहन सात जना, पानीमा डुबेर भवितव्य दुई जना, हाम फाली चार जना र झुन्डिएर एक सय ७७ जना गरी दुई सय ४७ जनाले हात्मअत्या गरेका छन् । त्यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा दुई सय २५ जना र आर्थिक वर्ष ०७९÷८० मा दुई सय २८ जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । विश्वमा दिनमा तीन हजार जनाले आत्महत्या गर्ने गरेको उनले बताए । आत्महत्या विभिन्न कारणले हुने भन्दै यसलाई रोक्ने उपाय समेत उनले बताए । त्यस्तै अस्पतालकी मनोसामाजिक विमर्शकर्ता डिला भुसालले विभिन्न कारणले आत्महत्या गर्ने गरेको भन्दै आत्महत्या रोकथामका लागि समाज, व्यक्ति र परिवारले अपनाउनु पर्ने उपायबारे जानकारी गराएकी थिइन् ।

उनले आत्महत्या गर्ने शङ्का लागेका व्यक्तिको हरेक गतिविधिलाई नजिकबाट नियाल्ने र केही अनौठो महसुस गरेमा तुरुन्त डाक्टरलाई जानकारी गराउने, सहयोगी बन्ने र समय समयमा के चाहिन्छ, कस्तो छ भनेर सोध्नेलगायतका कुरा जानकारी गराएकी थिइन् । त्यस्तै उनले आत्महत्या रोकथामका लागि सञ्चारकर्मीको पनि ठुलो भूमिका हुने बताइन् । कार्यक्रममा अस्पतालकी बरिष्ठ नर्सिङ प्रमुख सविता कौसलले लैङ्गिक हिंसाका कारण पनि आत्महत्या गर्ने गरेको भन्दै एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसी) ले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा पीडित तथा प्रभावित व्यक्तिलाई स्वास्थ्योपचारलगायतका आवश्यक सेवा एकद्वारबाट उपलब्ध गराउने व्यवस्था मिलाई लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पु¥याउने गरेको बताइन् । कार्यक्रममा सहायक प्रहरी निरीक्षक सन्तोष आचार्य, पत्रकार बालाराम खड्का, यमकला भुसाललगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसी)का फोकल पर्सन धनबहादुर केसीले गरेका थिए ।