धारापानीमा महाशिवरात्री मेलाको तयारी तीव्र

गोरक्ष समाचारदाता
दाङ, २२ फागुन । महाशिवरात्री पर्वका अवसरमा दाङको धारापानीमा लाग्ने महाशिवरात्री मेला तथा शिवपुजन व्यवस्थान कार्य तीव्र पारिएको छ । फागुन २३, २४ र २५ गते तीन दिनसम्म लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । धारापानीसम्म पुग्न घोराही पनौरादेखि धारापानीसम्मको सडक मर्मत गरिएको छ भने मन्दीरलाई थप आर्कषित बनाउन रँगरोगन गरिएको छ ।

फागुन २५ गते महाशिवरात्रीको दिन नेपाली सेनाबाट विश्वकै अग्लो त्रिशूलमा सलामी, शिव भगवानको पूजाआराधना तथा भजनकीर्तन सञ्चालन हुने समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् । मेलामा विभिन्न विकृतिजन्य क्रियाकलाप तथा अन्य नकारात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मी, स्थानीय टोल विकास संस्था, व्यापारीलगायतसँग तयारी बैठक समेत गरिएको छ । यस्तै मेलामा पार्किङ व्यवस्थापन, यातायात, पूजा व्यवस्थालगायतका काम गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

जसमा समितिका सचिव विष्णुराम आचार्यको संयोजकत्वमा सूचना प्रसारप्रसार उपसमिति, शारदा पोख्रेलको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति, टेकनाथ आचार्यको संयोजकत्वमा सुरक्षा उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, रेवबहादुर बुढाथोकीको संयोजकत्वमा स्वयम्सेवक परिचालन समिति र शंकर गौतमको संयोजकत्वमा स्वागत सम्मान उपसमिति गठन गरिएको छ ।

यस्तै सदस्य बलिराम भुसाल गोपालको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति, मधुसूदन पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बिमल अधिकारीको संयोजकत्वमा आर्थिक सहयोग उपसमिति, ऋषिदेव शर्माको संयोजकत्वमा अनुगमन उपसमिति, शिवशङ्कर देवकोटाको संयोजकत्वमा पानी व्यवस्थापन उपसमिति, यज्ञश्वरी चन्दको संयोजकत्वमा फूलमाला व्यवस्थापन उपसमिति, निमबहादुर चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, बुद्धिराम भण्डारीको संयोजकत्वमा भजनकीर्तन उपसमिति, श्यामप्रकाश आचार्यको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति र गोविन्द खड्काको संयोजकत्वमा सरसफाई व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यसैबिच तीन दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन सबै भक्तजनमा समितिले आग्रह गरेको छ । समितिका अध्यक्ष गणेशकुमार अधिकारी र सचिव आचार्यले एक विज्ञप्ति प्रकाशित गरी मेलामा सहभागी हुन सबैमा अनुरोध गरेका छन् ।