अमरराज आचार्य
दाङ, २२ फागुन । घोराही उपमहानगरपालिका वडा नं १९ का टोपबहादुर रानाले अटो किनेर स्वरोजगार बन्ने योजना बनाए । अटो किन्नका लागि उनीसँग नगद रकम थिएन । बैंकबाट फाइनान्स गरेर अटो किन्न खोजेका उनले बंैकबाट फाइनान्सको सुविधा पाएनन् अनि अटो किनेर स्वरोजगार बन्ने सपना पूरा हुन सकेन । पैसाको खोजीमा उनले धेरै दुःख पाए । पछि सहकारीमार्फत् ऋण लिएर अटो किने । अहिले उनले सहकारीमा मासिक ऋण लिएको किस्ता तिरिरहेका छन् । ‘बैंकले अटोको फाइनान्स नगरिदिएपछि सहकारीबाट ऋण लिएर अटो किन्नु परेको हो’, उनले भने । बैंकबाट अटोको फाइनान्स गरिदिएको भए सहज हुने उनी बताउँछन् ।
काम गरेर खानेलाई सहज वातावरण बनाइदिनु पर्ने उनको भनाइ रहेको छ । ७ वर्ष रोजगारीका लागि मलेसिया बसेर आएका राना अहिले अटो चलाएर स्वरोजगार बनेका छन् । रोजगारीका लागि सधैँ बिदेसिनुभन्दा आप्mनै देशमा केही गर्नु पर्छ भनेर अटो चलाएर स्वरोजगार बन्ने योजनाले उनले अटो चलाउन थालेका हुन् । अटो चलाएर हुने आम्दानीले अहिले घरव्यवहार चलाइरहेको उनको भनाइ छ । ‘अहिले अटो चलाएर नै घर खर्च चलाउने गरेको छु, यसैमा सन्तुष्ट छु’, उनले भने । उनले करिब ५ वर्ष पहिलेदेखि अटो चलाउँदै आएका छन् ।
घोराहीका आर्का एक व्यक्ति लामो समय भारतमा रोजगार गरेर घर फर्के । फेरि रोजगारीका लागि भारत जानुभन्दा अटो किनेर स्वरोजगार हुने योजना बनाए । अटो किन्नका लागि उनीसँग नगद रकम नभएपछि अटो किन्नका लागि फाइनान्सका लागि बैंकसम्म निधो गरेका थिए । बैकले फाइनान्स नगर्ने कुरा सोरुम सञ्चालकले भनेपछि उनलाई अटो किन्नै मुस्किल परेको छ । अटो किन्ने योजना भए पनि नगद रकम आफूसँग नहुँदा किन्न समस्या भएको उनको भनाइ छ । ‘बैंकले फाइनान्स गर्ने रहेनछ, नगद पैसा मसँग छैन, त्यसैले अटो निकाल्न सकिएको छैन’, उनले भने । अटो किन्न नसकेपछि अब के गर्ने ? भन्ने भएको उनले बताए । ‘अटो निकालेर स्वरोजगार बन्ने योजना भए पनि योजना सफल हुन सकेको छैन’, उनले भने । बैंकले फाइनान्सको व्यवस्था गरिदिए अटो किनेर स्वरोजगार बन्न सहयोग पुग्ने उनको भनाइ छ ।
यता अटो व्यवसायीले भने बैंकले फाइनान्स नगरिदिँदा नयाँ अटो बिक्री हुनै नसकेको बताएका छन् । राप्ती अटो ट्रेडिङ एण्ड सप्लार्सका सञ्चालक घनश्याम भट्टराईले नयाँ अटो न्यून मात्रामा बिक्री हुने गरेको बताएका छन् । अटो किन्नका लागि ग्राहकले कुरा गर्न आए पनि बिक्री हुन नसकेको उनको भनाइ छ । ‘मासिक ५÷६ जना अटो किन्नेबारे कुरा गर्न आए पनि किन्ने कम हुन्छन्’, उनले भने । फाइनान्समार्फत अटो किन्नका लागि भनेर धेरै आउने गरेको उनको भनाइ छ । ‘फाइनान्सको व्यवस्था नहुँदा कुरा गर्न आए पनि अटो किन्दैनन्’, उनले भने । यसले धेरै अटो व्यवसायी तथा नागरिकलाई समस्या भएको उनी बताउछँन् भने स्वरोजगार बन्न खोज्नेहरूलाई समेत समस्या भएको छ । ‘नगदमा अटो किन्न आउने ग्राहक न्यून छन्, त्यसैले व्यवसायी समस्यामा परेका छन्’, उनले भने । यसबारे राज्यको ध्यान समेत पुग्न नसकेको उनको भनाइ छ । अहिले धेरै अटो व्यवसायी विस्थापित भइसकेको र विस्थापित हुने क्रम समेत जारी रहेको उनले बताए । ‘धेरै अटो व्यवसायी व्यवासाय छोड्ने अवस्थामा पुग्न परेको छ’, उनले भने ।
व्यवसायी पलायन रोक्न कतैबाट पनि पहल नभएको भन्दै उनले राज्यले व्यवसायीलाई सहज वातावरण निर्माण गर्न नसकेको उनी बताउँछन् । जिल्लाका विभिन्न स्थान रोल्पा, प्युठान जिल्लासँगै १० स्थानमा शाखा सञ्चालन गरेका उनले अहिले धेरै शाखा बन्द गरेको बताए । उनका अनुसार शाखा बन्द भएसँगै त्यसमा रोजगारी प्राप्त गरेका समेत बेरोजगार बन्न पुगेका छन् । पहिले ३० भन्दा बढीलाई रोजगार प्रदान गर्दै आएका उनले अहिले करिब ४÷५ जनालाई मात्र रोजगारी प्रदान गर्दै आएको बताए ।