मेरो खुशी : नागरिकको सेवा गर्न पाउँदा …

  •   
  •  

मेरो सानैदेखिको प्राविधिक विषय पढ्ने रुचि थियो । २०५७ सालमा दारमाकोट–४ सल्यान फारुला जनकल्याण माविबाट मैले एसएलसी परीक्षा दिएर म भारतमा रोजगारीका लागि गएको थिएँ ।

म करिब २ महिना सिम्लामा स्याउ बोक्ने काम गरे । मध्यमवर्गीय परिवारमा जन्मेको मान्छे म काम नगरी खान पुग्दैन्थ्यो । जेष्ठ महिनामा एसएलसीको नतिजा आयो त्यति बेला फोन इण्टरनेटको अहिलेको जस्तो जमाना थिएन । गोरखापत्रमा हाम्रो एसएसलीको नतिजा आएको रहेछ । म पास भएको कुरा जानकारी पाए । ६० जनाले परीक्षा दिएकोमा हामी १४ जना पास भएका रहेछौँ । एसएलसी पास भएको सुनेपछि म निकै खुशी भएँ । त्यो खुशी मैले साथीभाइलाई साटे । मलाई लाग्यो अब मेरो सपना पूरा हुनेभयो । खुशीहरुत अरु पनि धेरै छन् । मेरो पहिलो खुशी एसएलसी पास भएर प्राविधिक विषय पढेर गाउँघरमा सेवा गर्न पाउँदाको खुशी लेखिदिनुहोला, बबई गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामबहादुर डाँगीले भने ।

साविक रुकुम नुवाकोट –८ मा जन्मिएर कर्मथलो दाङ बनाएका रामबहादुर डाँगीले दोस्रो खुशी २०५८ सालमा दाङ टेक्निकल इन्स्टिच्युट तुलसीपुरमा सिएमएको लागि नाम निकाल्दा लागेको सुनाए । भारतबाट फर्किएर सिएमए कलेजमा १७औँ स्थानमा पढ्नका लागि नाम निकाल्दा झनै खुशी मिलेको सुनाए । ‘मलाई लाग्यो अब मेरो सानैदेखिको सपना पूरा हुनेभयो, प्राविधिक विषय अध्ययन गर्ने भनेर मलाई खुशी लाग्यो’ उनले भने । डाँगीले सिएमए पास गरिसकेपछि स्टाप नर्स विद्यादेवी रानाले तुलसीपुर स्थित विनोद मेडिकलमा काम लगाइदिएको र त्यहाँ काम सिक्ने अर्को मैका पाएकोमा खुशी व्यक्त गरे । केही समय त्यहाँ काम गरेर २०६१ सालमा साविक पञ्चकुले हाल बबई–६ मा आप्mनै आरएस क्लिनीक सञ्चालन गरी सेवा दिन पाउँदा अर्को खुशी प्राप्त भएको उनले सुनाए । ‘त्यो समयमा गाउँमा कुनै स्वास्थ्य संस्थाहरु थिएनन्, मैले त्यहाँ क्लिनीक खोलेर धेरैलाई सेवा दिन पाएँ’ उनले भने ।

उनले पञ्चकुले, मलईलगायत दूरदराजका जनतालाई रातदिन नभनी सेवा गर्न पाउँदा निकै खुशी लागेको सुनाए । उनले आफूले होमडेलिभरी सेवा दिनुका साथै सयौँ सुत्केरी आमाहरुको जीवन बचाउन पाउँदा झनै खुशी मिलेको सुनाए । ‘म रातमा पनि विरामीहरुलाई सेवा गर्न गाउँ–गाउँमा जानेगरेको थिएँ, अहिले पनि त्यहाँ जनताले मलाई सम्झछन् खुशी लाग्छ’ उनले भने । दूरदराजका जनतालाई सेवा गर्न पाउँदा आफूलाई त्यतिबेला खुशी महशुस हुने बताउँछन् । त्यससँगै डाँगीले त्यहाँका जनतालाई सेवाका लागि निजी लगानीमा टेक्सी किनेर विरामीहरुलाई सेवा दिन पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । ‘त्यहाँ उपचार नहुनेलाई बाहिर रिफर गर्नुपर्ने हुन्थ्यो, त्यतिबेला एम्बुलेन्स पनि थिएनन्’ डाँगीले भने ।

त्यो सँगै उनी २०६५ सालमा पहिलो पटक यातायात समितिको नेतृत्व गर्न पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । तुलसीपुर जिप तथा मिनी माइक्रो बस बस व्यवसाय समितिको सदस्य हुँदै प्रशासनिक सचिव भएर यातायात क्षेत्रमा पनि लामो समय काम गर्न पाउँदा खुशी लागेको सुनाए । ‘मलाई यातायात क्षेत्रमा ल्याउन प्रेरणा दिने यमकान्त र पवन दाइलाई म सम्झन चाहान्छु । उहाँहरुको प्रेरणाले म केही समयम यातायात क्षेत्रमा काम गर्ने अवसर पाएँ’–उनले भने । उनले आप्mनो पालामा ठूला सुविधा सम्पन्न डिलक्स बसहरु ल्याउनुका साथै पश्चिम दाङको दूरदराजमा यातायात सेवा विस्तार गर्न पाउँदा अर्को खुशी प्राप्त भएको सुनाए । त्यससँगै डाँगीले स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेले बबई वडा नं. ६ को वडाध्यक्षको टिकट दिँदा अर्को खुशी प्राप्त भएको सुनाए । ‘मलाई पार्टीले विश्वास गरेर टिकट दियो त्यतिबेला पनि म निकै खुशी भएको थिए, मैले गरेको योगदानको कदर गर्दा झनै खुशी मिल्यो डाँगीले भने ।

त्यससँगै झिनो मत ६ मतले आफू वडाध्यक्षमा विजय हुँदा अर्को खुशी प्राप्त भएको सुनाए । ‘मैले फेरि अर्को खुशी प्राप्त गरे, जनताको सेवा गर्ने मलाई अवसर मिल्यो’–उनले भने । उनले वडाध्यक्ष भएर गाउँमा बाटो, पुलपुलेसा, सिँचाई, खानेपानी, विद्युतलगायतका सुविधाहरु वडामा पु¥याउन पाउँदा खुशी मिलेको बताए । ‘मैले प्रत्येक टोलमा विकास गरेको छु, त्यो अवसर दिने जनतालाई धन्यवाद दिन चाहान्छु, यसमा पनि मलाई निकै खुशी र गर्व लाग्ने गर्दछ’–उनले भने । उनले अर्को खुशी २०६२ सालमा विवाह गर्दा पनि लागेको सुनाए ।

उनले आफू सामाजिक तथा राजनीतिक काममा लाग्दा घरबाट सहयोग पाउँदा पनि खुशी मिल्ने बताउँछन् । उनले आफ्नो श्रीमती बाबुआमाले पनि आफूलाई हौसला र सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । डाँगीले सबैको विश्वास जितेर राजनीति तथा अन्य सामाजिक सेवा गर्न पाएकोमा पनि खुशी व्यक्त गरे । सिएमए पढेर क्लिनीक सञ्चालन गर्दै यातायात क्षेत्रमा समेत लागेका रामबहादुर डाँगी बबई गाउँपालिकाका वडा नं. ६ का वडाध्यक्षका साथै विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् ।

प्रस्तुती ः बालाराम खड्का