मधुसूदन सुवेदी
रोग मानव शरीरमा उत्पन्न हुने शारीरिक कष्ट (दर्द), पीडा र आघात हो । यो रोग एक मानवबाट अर्को मानवमा सर्ने सरुवा र नर्सो व्यक्तिगत रोक हुन्छ । आजको पछिल्लो समयमा व्यापक रुपले फैलिएको कोरोना भाइरस एक सरुवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने बताइएको छ । विश्वका कैयौ देशमा यो रोग फैलिएर हजारौँको ज्यान गुमिसकेको र कैयौँको शररिमा यो रोगका भाइरसले आफ्नो प्रभूत्व जमाइरहेकोले यसबाट बच्न र यसको नियन्त्रण गर्न अनेकौँ प्रयास, कसरत, अभ्यास र सतर्कता सहितका अभियानहरु सञ्चालित छन् । प्रचारित र सजक बनाउने अभियानमा फैलिएका अनेकौँ हावादारी र अफवाहबाट मानवलाई सचेत गराउन नितान्त जरुरी छ ।
आज विश्वमानव जगतलाई वर्तमान महामारीको लक्षण र त्यसबाट बच्ने उपाय बताइरहँदा त्यससँग सम्बन्धित व्यक्तिहरु शोकले नै मर्ने अवस्था नआउला भन्न सकिन्न । किनभने कोरोना भाइरसको लक्षण सुनिरहँदा, बुद्धिmरहँदा, जानिरहँदा र देखिरहँदा नितान्त मौसमी रुघाखोकी तथा निमोनिया, टाइफाइडजस्तै जस्तै बताइएकोले यतिबेलाको समय पनि नितान्त त्योभन्दा फरक, भिन्न, अलग र पृथक छैन । किनभने कि आजको यो मौसम नितान्त परिवर्तित मौसम हो । चीसो–चीसो वातावरण विस्तारै विस्तारै कम हुँदै तातो–तातो हुने र प्रचण्ड गर्मी चढ्ने बेलामा जहिले पनि, जहिले पनि र जसलाई पनि मौसमी प्रकोपले समात्ने गर्दथ्यो । जुन कुरा आज भर्खरैको नौलो प्रक्रिया हो । यस्तो मौसमी प्रकोप अस्ति पनि हामीले भोगेकै हो, हिजो पनि भोगेकै हो, आज पनि भाग्दै छौ र भोलि पनि भोग्नै पर्ने हो ।
तर यसरी कुनै पनि व्यक्ति नियमित मौसमी प्रकोपमा पर्दा यो कोरोना होइन है भन्ने आधार पुष्टि भएन भने त मानव शोकमै मर्ने त होइन ? यो प्रश्नले यतिबेला सबैलाई सताइरहेको छ । किनभने विश्व व्याप्त कोरोनाको लक्षण पनि मौसमी प्रकोप जस्तै भनेर प्रचार प्रशार गरिदिने र मौसमी रुघाखोकी लाग्यो भने विशेष सतर्कता अपनाउने भनेर भन्दा सामान्य जनता निकै भय र त्रासमा रहने अवस्था सिर्जना भएको छ । यस्तो बेलामा राज्यको दायित्व र भूमिका भनेको के हो भने कुनै पनि व्यक्ति रोगले ग्रस्त भएर वा रोगबाट उम्कन नसकेर मर्नु सामान्य प्राकृतिक मरण होला । तर यदि कोही वयक्ति जो कमजोर मानसिकता र कमजोर मनको छ त्यस्तो व्यक्ति त यहाँ शोकले पनि मर्ने हो कि ? भन्ने डर बढर जान लाग्यो ।
यस्तो अवस्थामा सदाझै मानव शरीरमा आउने मौसमी प्रकोपलाई यो केरोना भाइरससँग सम्बन्ध त छैन ? भनेर समयमै चिन्ने, जाँच्ने, परीक्षण गर्ने हामी सबैको भरपर्दो विश्वसनीय यन्त्र, तन्त्र, संयन्त्र र जनशक्ति छ वा छैन ? त्यसको अभाव पूर्ति गर्ने निकायको हो । यसले आम जनमानसमा निकै पीडा देला जस्तो छ । यस्तै यो रोगको प्रशार र प्रचारका क्रममा जसरी जनतालाई आफ्नै घरमा यथास्थितिमा अर्थात (होम क्वारेन्टाइनमा) बस्न भनिएको छ ।
यसले मानव जीवनमा भोकको महामारी ल्याउने आशंका उब्जाएको छ । मानिसको जीवन यतिबेला झोलामा छ । अर्थात् कैयौ मानिसले विहानको लागि विहानै झोलामा किनेर ल्याउने र पकाएर खाने र साँझको लागि साँझै किनेर झोलामा ल्याउने र पकाएर खाने । यसरी झोलामा चलेको जीवन एकाएक घरको कोठाभित्रै थन्केर बसेर गुर्जिएर कसरी चल्ला ? यसको बरोमा पनि सम्बन्धित निकाय निकै गम्भीर बन्नै पर्ने छ । मानिसको हो पनि भोलिको भवितव्यबाट जानकार र त्रिकालदर्शी छैन । कुनबेला के हैन हो र के भोग्नुपर्ने हो ? तयो पनि थाहा छैन । यस्तो बेलामा मानवका लागि रोभन्दा ठूलो शोक र भोक बन्ने पो हो कि ? त्यतातिर कसैको ध्यान छ कि छैन ? रोगसँगै लाड्ने, डट्ने र सामना गर्ने कुरा गरिरहँदा यथासमयमा खान पाइएन, हिड्न पइएन, डुल्न पाइएन, घुम्न पाइएन, आवश्यक सामान किनमेल गर्न बजारसम्म पनि जान पाइएन भने के गर्ने ? रोगसँग लड्ने क्षमता अभिबृद्धि गर्ने केले ? मनोबल चाहियो कि चाहिएन ? मावन मनोबल उच्च राख्न सम्बन्धित निकायले ध्यान दिने कि नदिने ? रोग आफैमा भयानक हो ।
तर त्योभन्दा पनि भयानक रोगसँगै भित्रने शोक र भोक अझ भयानक हो । एकातिर मौसमी परिवर्तनको बेला छ, यस्तो बेलामा रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड र अन्य रोग चलिरहेका अवस्था हुन् । यी अवस्थामा समेत थप शंका, भ्रम, आशंका, डर, त्रास, भय हुन थाल्यो भने हुने के हो ? यसलाई साम्य बनाउने उपाय के हो ? समय कसैको नियन्त्रण्मा छ जस्तो लाग्दैन । यो समय सामाजिक सञ्जालले निलेको समय । भएको कुरा पनि होला, नभएको कुरा पनि होला तर सामान्य नागरिकले छुट्याउने कसरी ? भ्रामक प्रचार रोक्न सरकारले दबाब दिए पनि त्यो अनुसार पालना गरेको देखिन्न र पाइन्न ।
आज जताततै मानव मस्तिष्कमा भरिएको कुरा नै यही कोरोनाको छ । गाउँ, छिमेक, गल्ली, धारा, पानीपँधेरो, चौतारी जताततै यसैले खाइसकेको छ । यो यत्रतत्र र सर्वत्र हुनु, थाहा पाउनु जानकार हुनु सूचनाका हिसाबले सत्य–तथ्य होला तर सूचना नै गलत, भ्रामक, आशंका, डर, भय, त्रासमा उल्लेख्य भयो भने जनताले पचाउला कसरी ? हिजो जुनसकै रोग लाग्दा पनि तुरुन्त डाक्टरकहाँ जाने भनेर प्रचार गरिन्थ्यो भने आज पछिल्लो समयमा अस्पताल जाने कुरामा समेत अलमलका कुराहरु सुनिन थालेका छन् । यस्तो अवस्थामा जनता ढुक्क हुने अवस्था र व्यवस्था के हो ? रोगको प्रकोप सहितको भोकको प्रकोप र शोकको प्रकोप नभित्रियोस् भनेर बेलैमा आम सरोकारवाला सजक नहुने हो भने उपयुक्त अभियान नचाल्ने हो भने भोलिको समय निश्चित छ, शोकमय र भोकमय बन्ने । बेलैमा होस गरौँ ।