तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेलमा ज्ञानज्योती र राईजिङ स्टार भिड्ने 

लक्ष्मण बस्नेत

तुलसीपुर,१९ फागुन । दाङ तुलसीपुर अरनिको मैदानमा भोली आईतवारदेखि तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० सुरु हुदैछ ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालन हुने प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका माननीय स्वास्थ्य  मन्त्री राजु खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटन मध्याह्न साढे १२ बजे गरिने फाउन्डेसनका अध्यक्ष पोखरसिंह डागीले जानकारी दिएका छन ।

प्रतियोगिताको उद्घाटन खेलमा साबिक बिजेता ज्ञानज्योती तुलसीपुर र राईजिङ स्टार घोराही भिड्नेछन् । स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने  उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

 त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिए  ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५  हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिने संयोजक गिरिले जानकारी दिए  ।२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका खेलाडी डाँगीको सम्झनामा स्मृति कप हुँदै आएको छ ।

पहिलो र दोस्रो  संस्करण भब्य रुपमा सफल पारेको फाउन्डेसनले स्मृती कपलाई थप सार्थक र परिणाममुखी बनाउन सशक्त ढंगले लागि परेको छ । फागुन २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

जसमध्ये साविक बिजेता ज्ञानज्योती इनोभेटिभ फुटबल क्लब तुलसीपुर,छिमेकी राष्ट्र भारतको साहारा क्लब लखनऊ,साविक उपबिजेता टरिगाउ युवा क्लब,युनाईटेड युथ क्लब तुलसीपुर,युएनबिसी युथ क्लब घोराही,सुर्खेत डिएफए, क्लब, फर्साटिकर रुपन्देही, लुम्बिनी प्रदेश फुटबल एकेडेमी, राईजिङ स्टार घोराही र एक बिभागिय टिम एपीएफ लुम्बिनी प्रदेशको टिमको सहभागिता रहने आयोजक हिरा डागी फाउन्डेसनले जानकारी दिएकोछ । यसैबिच आयोजक हिरा डागी फाउन्डेसनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगिताको प्रचारप्रसार, खेलमैदान मर्मत,आर्थिक व्यवस्थापन,आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कार, प्राथमिक उपचारलगाएतका पक्षमा सबै तयारी पूरा भएको फाउन्डेसनका सचिव केशव चौधरी मिग्माले जानकारी दिए । फाउन्डेसनले भोलि हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी, संघ संस्था,पत्रकार लगाएत सबैमा अनुरोध  गरेको छ ।