तुलसीपुरमा ६० हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइने

तुलसीपुर, १७ फागुन । तुलसीपुर उपमहानगरपालिकाले दादुरा–रुबेला खोप अभियान २०८०÷८१ लाई सफल पार्न सवै सरोकार वालाहरुलाई आग्रह गरेको छ । यहि फागुन २२ गते देखि ४ गते तुलसीपुर उपमहानगरपालिकाले ६० हजार छ सय ६४ जना बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिने जनाएको छ ।

फागुन २२ गतेदेखि चैत ४ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप दिन थालिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा तुलसीपुरको आयोजनामा दादुरा रूबेला खोप अभियान संम्वन्धि छलफल कार्यक्रममा सो जानकारी गराएको हो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको खोप समन्वय समिति, संचारकर्मि र सरोकारवालाहरू संगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खड्काले नेपाल सरकारले नै थालको अभियानमा स्थानीय सरकारको तर्फबाट खोेप अभियानलाई पूर्णरुपमा सफल पार्नका लागि सम्पूर्ण जनशक्ति तयार पारिएको बताए ।

उनले खोप अभियानलाई सम्पूर्ण अभिभावकहरुले सहयोग गरे मात्रै बालबालिका स्वस्थ हुने बताए । गतवर्ष दाङ जिल्लामा ३९ जनालाई दादुरा रोग देखिएको थियो भने तुलसीपुर उपमहानगरपालिकामा मात्रै ११ जनामा देखा परेको बताएको थियो । बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्रीका अनुसार एक जना दादुरा रोगको बिरामीबाट १८ जनासम्मलाई सर्ने गरेको बताए । यो खोप कार्यक्रम उत्कृष्ट भएको भन्दै दादुरा र रूवेलाको जिवानुले शरिरमा रोगसंग लडने रक्षा प्रणालिलाई कम्जोर पार्ने भएकाले यस विरुद्धको खोप सवैले लगाउनु पर्ने बताए । उनले यस अभियानलाई सफल पार्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा जन स्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमप्रकास न्यौपानेले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न नगरका स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि, पत्रकार र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गरे । उनले शिक्षक, जनप्रतिनिधि, स्वस्थ्य कर्मी गरि करिव ५ सय लाई अभिमुखिकरण कार्यक्रम गरेको बताए ।
जनस्वास्थ्य प्रवर्धन शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार गतवर्ष ५७ हजार लक्ष्य राखिएकोमा ५६ हजार सात सय ४४ जना अर्थात ९९।६ प्रतिशत बालबालिकालाई खोप लगाइएको बताए । उनका अनुसार एड्स,क्षयरोग,उच्च ज्वरो आएको अवस्थामा बाहेक अन्य अवस्थामा बालबालिकाहरुलाई खोप दिन सकिनेछ ।

तुलसीपुर उपमहानगरपालिकामा ९ महिना देखि १५ बर्षका बालबालिकालाई विद्यालय, स्वास्थ्य संस्था र वडामा खोप लगाउने कार्यक्रम अन्तर्गत जनशिक्त समेत सवै तयारी अवस्थामा राखेको बताए । खोप लगाउनुपर्छ भन्नेबारेमा अझै पनि जनचेतनाको कमी रहेकाले स्थानीय तहले जनचेतना जगाउँदै विद्यालय, टोल र आवश्यक परे घरघरमा गएर भए पनि खोप लगाएर अभियानलाई पूरा गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले अभियानलाई सवैले साथ सहयोग गरे अभियान सफल हुनेमा आफु ढुक्क रहेको बताए ।