दाङ क्रिकेट लिगमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी

घोराही, १७ फागुन । दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग (डिसिएल–२) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै बिजयी भएका हुन ।

घोराही क्रिकेट रंगशालामा भएको पहिलो खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रनमा समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा देउखुरीका नारायण जोशीले सर्वाधिक ३० रन, प्रज्वल थापाले १४, आशिष ओलीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा तुलसीपुर रोयल्सका भुवन कार्की, अमरसिंह रौटेला र दिवान पुनले समान २ विकेट, रुपेश सिंह र नविन बिकले समान १÷१ विकेट लिनुभयो । उक्त खेलमा रुपेश सिंह प्लेयर अफ द म्याच घोषित हुनुभएको थियो ।

टस जितेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो । तुलसीपुरका लागि रुपेश सिंहले सर्वाधिक ४३ रन, बिराट सिंह भण्डारीले ३० रन, दिवान पुनले १५, अमरसिंह रौटेलाले ११ र भुवन कार्कीले १० रनको योगदान दिनुभएको थियो । बलिङतर्फ देउखुरी वारियर्सका सुभम खनालले सर्वाधिक ३, आशिष ओलीले २ र आवाज गौतमले १ विकेट लिनुभयो । जीतसँगै ६ अंकका साथ तुलसीपुर शिर्ष स्थानमा रहेको छ ।

दोश्रो खेलमा दंगाली लायन्सले पुरन्धारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गरेको छ । दंगाली लायन्सले दिएको १५० रनको लक्ष्य पछ्याएको पुरन्धाराले १७.५ ओभरमा ७४ रनमा समेटिएको थियो । पुरन्धाराको व्याटिङमा कृष्ण कार्कीले सर्वाधिक २७, दिपेन्द्र रावतले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट, बिपिन खत्री, बिरबहादुर घर्ती र शंकर रानाले समान २÷२ विकेट र प्रकाश जैसीले १ विकेट लिनुभयो । टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रनमा समेटिएको थियो । दंगाली लायन्सका लागि सन्तोष कार्कीले सर्वाधिक ३० रन, अंकित बुढामगरले २८ रन, बिपिन खत्रीले २४, शिशिर डाँगीले २१, बसिर अहमदले १७ र शंकर रानाले १२ रन योगदान दिनुभएको थियो । बलिङतर्फ पुरन्धाराका कृष्ण कार्की र सुजल ओलीले समान ३, दिपेन्द्र रावत र मोहन खत्रीले समान १÷१ विकेट लिनुभयो ।

त्यसैगरी दंगाली लायन्स र घोराही टाइगर्स समान ४ अंक रहेको छ भने पुरन्धाराको २ अंक र देउखुरी बारियर्स अंकविहिन रहँदै पाँचौ स्थानमा छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।