अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको उद्घाटन मन्त्री थापाले गर्ने

गोरक्ष समाचारदाता
घोराही, १७ फागुन । घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राना)ले गर्ने भएका छन् ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ घोराहीमा यही फागुन १८ देखि २१ गतेसम्म हुने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको शुक्रवार मन्त्री थापाले उद्घाटन गर्ने आयोजक मुल समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिएका छन् ।

घोराहीको कृषी सामाग्री केन्द्रको प्राङ्गण (जिल्ला अदालतको पश्चिमतर्फ) मा हुने महोत्सव पूर्व शोभायात्रा हुने भएको छ । ट्राफिक चोकबाट सुरु भएर निमाहल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, भानु चोक, शहिद गेट हुँदै शोभायात्रा महोत्सव स्थलमा पुग्ने छ ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङसहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीलाई अवलोकन गराउनेलगायतका उद्देश्य महोत्सव आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपालसहित १३ देशका ३ सय बढी कलाकारको प्रस्तुती रहने भएको छ ।

महोत्सवको अघिल्लो दिन फागुन १८ गते स्थानीय झाँकीसहित शोभायात्रासँगै महोत्सवको उद्घाटन गरिनेछ भने फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । त्यस्तै फागुन २१ गते नेपालसहित १३ देशका ३ सय बढी कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।

१२औँ अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा प्रवेशकालागी एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले यसअघी वि.स २०६८ मा अन्तराष्ट्रिय लोकसांस्कृति महोत्सव आयोजना गरेको थियो ।