प्रतिष्ठानमा स्वास्थ्य सेवालाई व्यवस्थित गर्न टोकन प्रणाली सुरु

गोरक्ष समाचारदाता
घोराही, १७ फागुन । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई व्यवस्थित बनाउने उद्देश्यले टोकन प्रणाली सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिवन काटेर टोकन प्रणाीको सुरुवात गरेका हुन ।

टोकन प्रणालीको सुरुवात गर्दै उपकुलपति डा.लामिछानेले सेवालाई व्यवस्थित र छिटोछरितो बनाउन टोकन प्रणालीले सहयोग पु¥याउने बताए । उनले टोकन प्रणाली सुरु भएसँगै प्रतिष्ठानमा पालो मिचिने गुनासो पनि अन्त्य हुने बताए ।

अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अवदेखि आफुले लिन चाहने सेवा ओपिडि, स्वास्थ्य विमा र विलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ । प्रतिष्ठान स्थापना भएपछि पहिलो पटक टोकन प्रणाली सुरु गरिएको अस्पतालका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिएका छन् ।

सूचना अधिकारी भट्टराइले अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवस पालो कटेमा नयाँ टोकन लिनुनपर्ने व्यवस्था गरिएको बताए । टोकन प्रणाली उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलसहित विभिन्न विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारीहरु, लक्ष्मी बैँक घोराही, सिद्धार्थ बैँक घोराहीका म्यानेजरलगायतको सहभागीता रहेको थियो ।

टोकन प्रणाली जडित मेसिन घोराहीस्थित सिद्धार्थ बैँकले सौजन्य गरेको छ भने लक्ष्मी बैँक घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल वोर्ड र एनाउन्सका सामग्री सहयोग गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।