सिकाइ सुधारसँग जोडिएका आन्तरिक पक्ष

यादव गिरी
डिजिटल युगको बढ्दो विकास तथा प्रयोगले शिक्षाको मूलभूत पक्ष नै परिवर्तन गरिदिएको छ र शिक्षकका पुराना भूमिका परिवर्तन भएको छ । पाठ्यपुस्तकका पुराना ढर्रा अब काम नलाग्ने भएका छन् । ज्ञानको स्रोत नै पाठ्यपुस्तक हो भन्ने जमाना सकिएको छ । जब कि प्रविधिले विद्यार्थीको लागि सम्भावित सबै ढोका खुला गरेको हुन्छ, उसलाई नयाँ कुरा पत्ता लगाउन सक्षम गराउँछ । नयाँ ज्ञानको सिर्जना गर्न र त्यसलाई वास्तविक संसारमा उपयोग गर्न सिकाउँछ ।

विगतमा ज्ञानको उपयोग गर्नु भनेको कुनै विषयवस्तुमा निपुणता हासिल गर्नु र दिइएको समस्या समाधान गर्नु मात्र थियो तर ती समाधान भनेका उही पाठ्यपुस्तक, कक्षाकोठा र स्कुलले तय गरेका ज्ञानकै परीधिभित्र मात्र सीमित हुन्थे । अबको जमाना त्यस्तो छैन, जहाँ विद्यार्र्थीलाई कक्षाको चार दिवारभित्र कैद गरेर वास्तविक संसारको ज्ञान दिन सकियोस् । अबको ज्ञान भनेको शैक्षिक संस्था र पाठ्यपुस्तकभन्दा माथि संसारमा उपलब्ध कुनै पनि किसिमको ज्ञान हो । जसले विद्यार्थीलाई वास्तविक जगतको समस्यासँग परिचित हुन र त्यसलाई समाधान गरेर जीवनपर्यन्त बाँच्न सिकाउँछ । डिजिटल क्रान्तिले शिक्षामा पारेको सकारात्मक प्रभाव हो, यो ।

ज्ञान भण्डार गर्ने, कण्ठस्त गर्ने र उपयोगमा काम नलाग्ने बन्नु हुँदैन, यो त हरेक परिस्थितिमा उपयोग गर्दै अगाडि आएका समस्या समाधान गर्दै जाने साधन बन्नु पर्छ । यी सबै भइराख्दा अपेक्षाकृत हामी उपडेट नभएर हो वा संयोजनको पक्ष नमिलेर, हामीले आफैँलाई सिकाइ कमजोर बनेको आभाष भइरहेको छ । सिकाइ कहाँ कमजोर भयो ? सिकाइ सुधारका लागि कसको कहाँ कमजोरी भयो ? शिक्षक, विद्यार्थी, शिक्षाविद्, शिक्षासँग सम्बद्ध निकाय, शिक्षाका सरोकारवाला, शिक्षा प्रणाली, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली आदि खोजीका विषय बनेका छन् ।

शिक्षण सिकाइ पाठ्यक्रमले देखाएको बाटो उपयुक्त तरिकाले हिँड्न सिकाउने माध्यम मात्र हो । यसको केन्द्रविन्दु भनेका सिकारु वा विद्यार्थी हुन् । शिक्षक पाठ्यक्रमले निर्देश गरेका कुराहरु विद्यार्थी माझ पु¥याउने मध्यस्थकर्ता मात्र हो । यस लेखमा शिक्षण सुधारका लागि सबैभन्दा जिम्मेवार को रहनु पर्ला वा सिकाइ सुधार गर्ने जिम्मेवारी कसको हो ? भन्ने विषय सार रुपमा उठाउन मात्र खोजिएको छ । नेपालको विद्यालय शिक्षा प्रणाली विशेषतः सामुदायिक र संस्थागत विद्यालयहरुले आ–आफ्नो पद्धति अनुसार सञ्चालनमा छन् । पाठ्यक्रम तथा पाठ्यपुस्तकमा तादात्म्यता तथा सुसङ्गति छ÷छैन ? स्तर अनुकूल छ÷छैन ? त्यता ध्यान नदिइकन हेर्ने हो भने दुबै संस्था हाम्रो सिकाइस्तर राम्रो छ भन्न चुकेका छैनन् । यद्यपि नतिजालाई आधार मान्दा संस्थागत विद्यालय सामुदायिकभन्दा धेरै अघि देखिन्छन् र पनि गुणस्तरीयताको सवाल अझैँ अनुत्तरित नै रहेको छ ।

सामान्य भाषामा तोकिएको मापदण्ड पूरा गर्नु गुणस्तर हो । हिजोभन्दा आज अझ राम्रो भएको अवस्था गुणस्तर हो । थप उपयुक्त वा सान्दर्भिक रहनु गुणस्तरसँग जोडिएर आउँछ । विद्यार्थीको सिकाइस्तर राम्रो हुनु, हिजोको तुलनामा थप उपलब्धि हासिल हुनु गुणस्तर हो, सिकाइको उत्कृष्ठता नै गुणस्तर हो तर कुनै विद्यार्थीले हासिल गरेको उत्कृष्ट जि.प..को आधारलाई नै चाहिँ सापेक्षतामा गुणस्तर मान्न सकिन्न ।

शिक्षण सुधार गर्नु भनेको विद्यार्थीको सिकाइस्तर थप बलियो, सुदृढ बनाउँदै लैजानु हो । यसका अलावा पाठ्यक्रमले तोकेका मापदण्ड पूरा हुँदै जानु पनि हो । विद्यार्थीको ज्ञान, बोध तथा प्रयोग सबै पक्षमा सुधार आउनु हो । विद्यार्थीको क्षमता वृद्धि हुनु हो । विद्यार्थीले सिकेका कुराहरु व्यवहारमा सान्दर्भिक हुँदै जानु हो । तोकिएको सक्षमता पूरा हुनु हो । तसर्थ गुणस्तरमा शिक्षण सिकाइको महङ्खवपूर्ण भूमिका रहन्छ । त्यसैले शिक्षण सुधारका प्रयासहरु गरिन आवश्यक छ ।

शिक्षण सुधारको पहिलो शर्त सिकारु सिक्नका लागि पूर्ण तयार रहनु पर्छ । हामीले शिक्षण सुधारका लागि के ग¥यौँ त ? सिकारुभन्दा पहिला हामी तयार भयौँ, विद्यार्थीको तत्परता बुझ्यौँ, विद्यार्थीलाई सिक्ने अवसर कसरी उपलब्ध भयो त ? विद्यार्थीको उत्साह जोश जाँगर रुचिलाई हेरियो कि हेरिएन ? कहिल्यै पनि जबरजस्त गरेर विद्यार्थीको सिकाइ हुँदैन, सिकाइ स्वेच्छिक हुनु पर्छ । सिकाइका लागि पटक–पटक अवसर दिनु पर्छ । घरदेखि विद्यालयसम्मको सम्पूर्ण वातावरण सिकाइका लागि उपयुक्त हुनु पर्दछ ।

शिक्षण सुधारको अर्को पक्ष भनेकै सिकारुको पूर्वज्ञान हो । विद्यार्थीको पूर्वज्ञान बुझेर गरेको शिक्षण मात्र प्रभावकारी बन्दछ । सिकाइका आधारभूत कुरा सिकेको छ÷छैन, सिकाइको आधार तय भएको छ÷छैन बुझ्नु पर्छ कि पर्दैन ? टुप्पामा आएर कुनै विषयवस्तु विद्यार्थीमा राख्दा कस्तो प्रभाव पर्छ अनि सिकाइ सूुधार कसरी सम्भव छ ? विगतका विषयवस्तुसँग जोडेर नयाँ सिकाइ र सिकाइमा सूधारको लागि हामीले गरेको प्रयास पुग्दो छ त ?

पाठ्यक्रमले विषयवस्तु समावेश गर्दा लम्बीय र समतलीय समन्वय कायम गराउन प्रयास गरेको हुन्छ । जुन विषयगत तथा तहगत दुवै अवस्थासँग मेल खाएको पाइन्छ । सिकाइ सरलबाट जटिल वा क्रमबद्ध हुनु पर्छ भन्ने त सिद्धान्त नै छ । हाम्रो अवस्था चाहिँ के छ त ? एउटा विषयबाट विद्यार्थीले हजार कुरा सिक्न सक्छ वा सिक्नु पर्छ भन्ने प्रेरणा हामीले विद्यार्थीलाई दिलाउन सक्यौँ त ? सिकाइमा हामीले अनेकन प्रश्न तिनका उत्तर खोज्ने खोजाउने प्रयास ग¥यौँ त ? विद्यार्थीमा प्रश्न गर्ने सामथ्र्य आयो, विद्यार्थीले यो पछि के कसरी भन्ने प्रश्न राख्न सक्यो त ? यो सब नभइ शिक्षण सुधार कसरी सम्भव छ ?

सिक्ने विषयवस्तु विद्यार्थीको अपेक्षा अनुसार बनाउन सकियो वा सकिएन भन्न हो । विषयवस्तुले विद्यार्थीको सिकाइको तिर्सना मेटाउन सक्यो वा सकेन ? सिकाइले विद्यार्थीको व्यावहारिक पक्षलाई सम्बोधन गर्न सक्यो वा सकेन ? सिकाइ र काम वा सिपबिच सम्बन्ध स्थापित गराउन सकियो वा सकिएन ? विद्यार्थीको सिकाइलाई निश्चित तवरले शिक्षकले डोहो¥याउन सकेको छ त ?

निरन्तर अभ्यास सुधारको अर्को पक्ष हो । अभ्यासले मानिसलाई पोख्त बनाउँछ । हाम्रो सिकाइ वातावरणले सिकाइमा अभ्यासलाई कति महङ्खव दिएको छ त ? अभ्यासको वातावरण निर्माणमा हाम्रो भूमिका कस्तो रह्यो त ? लामो यात्रामा होस्, टालटुले काममा होस् लेक चढ्दा, विद्या आर्जन गर्दा, धन सम्पत्ति आर्जन गर्दा क्रमशः विस्तारै विस्तारै पटक–पटकको मिहिनेतबाट गर्नु पर्छ, प्रशस्त अभ्यासको जरुरत पर्छ, यो सवाल हामीले विद्यार्थीलाई बुझाउन सक्यौँ वा सकेनौँ ? हाम्रा विद्यार्थी अभ्यास कति गर्छन् ?

ज्ञानले थप ज्ञान आर्जन गर्न सक्नु पर्दछ भन्ने हो । विद्याार्थीले सिकेको सामान्य ज्ञानबाट नयाँ नयाँ ज्ञान हासिल हुनु पर्छ । पूर्ण ज्ञान अर्थात् ज्ञानको भण्डार वृद्धि हुँदै जानु पर्छ । त्यो कुरा शिक्षणमा लागु हुन सक्यो वा सकेन ? विद्यार्थीमा ज्ञान प्राप्तिको लागि हामीले साधना गर्न सिकायौँ वा सिकाएनौँ ? विद्यार्थीलाई चिन्तनशील वा सिर्जनात्मक बन्न कहिँ कतैबाट प्रेरित गरियो वा गरिएन ?

अर्को विषय आधुनिक विश्व परिवेश सुहाउँदो प्रविधिमैत्री शिक्षा हामीले प्रदान गर्न सक्यौँ वा सकेनौँ भन्ने हो । हरेक ज्ञान सूचना प्रविधिको प्रयोगबाट हामीले कति सिकायौँ ? हरेक ज्ञान विश्व परिवेशसँग जोडेर प्रदान गर्नु पर्ने हुन्छ, त्यसका लागि हामी कति अध्ययनशील भयौँ ? कम्प्युटर, इमेल, इन्टरनेटसँग हरेक सिकाइलाई जोड्नु अनिवार्य जस्तै भएको छ, कक्षा कोठामा त्यसको प्रयोगको अवस्था के छ ? कम्प्युटर विषय सिकायौँ तर त्यसको प्रयोगको अवस्था के छ ? विद्यालयमा एक पटक कम्प्युटर छुँदैमा वा हेर्दैमा सिकाइ भयो त ? यसैगरी सिकाइमा सुधार आउँछ त ? सरकारबाट प्रत्येक वर्ष विज्ञान ल्याव, गणित ल्याव, कम्प्युटर ल्यावका शीर्षकमा करोडौँ रकम विनियोजन भएको त सुनिन्छ ।

सिकाइको साधन के–के प्रयोग गर्छौँ, पुस्तक बाहेकका सामग्री प्रयोगको अवस्था के छ ? सन्दर्भ सामग्री, सहायक सामग्रीको खोजी कति गरियो र प्रयोग पनि । पाठ्यक्रमले निर्देश गरेका लक्ष्य उद्देश्यसँग तालमेल मिल्ने गरी शिक्षण सिकाइ प्रक्रिया अघि बढाइयो वा बढाइएन ? विद्यार्थी कति स्रोत पूर्ण बने । हामीमा नवप्रवर्तनसम्बन्धी सिप कति छ अनि प्रयोग कति गर्छौँ ?

त्यसरी नै विद्यार्थीको सिकाइको लेखाजोखा कसरी गरियो ? पाठ्यक्रमले निर्धारण गरेको मापदण्ड कति उपयोग भयो ? विद्यार्थी सिकाइ उपलब्धिको विश्लेषण भयो ? परीक्षा पछि विद्यार्थीले सिकाइ सुधारका लागि पृष्ठपोषण पायो त ? कमजोरी कहाँ के कुरा अनुभूति दिलाउन सकियो ? मूल्याङ्कनका सबै मापदण्डको प्रयोग गरियो । २०७१ सालबाट विद्यालय शिक्षामा लागु भएको अक्षराङ्कन पद्धतिको पूर्ण कार्यान्वयन भयो ? यसका सजिला गाह्रा विषयलाई चिरफार गर्ने काम भयो कि भएन ?

यी र यस्तै कैयन विषयहरु सिकाइ सुधारका आवश्यक शर्त हुन् । सिक्नका लागि सिकारुमा आत्मबल चाहिन्छ, आत्मविश्वास चाहिन्छ । सिकारुप्रतिको माया आदर उनीहरुको विचारको कदर हुनु पर्छ । सिकारुमा गरिने व्यवहारले पनि सिकाइमा प्रभाव पार्दछ । अभिभावकहरुको आचरण, व्यवहार, शिक्षा, सम्पन्नता, समय लगाव विद्यालयको आन्तरिक वातावरण अनुशासन, विद्यालय व्यवस्थापन समितिको दृष्टिकोण, सिकाइसम्बन्धी योजना आदिले समेत सिकाइ सुधारमा महङ्खव राखेको हुन्छ ।

अन्त्यमा, सिकाइ सुधार सिकाइको कमजोर पहिचान गरेर त्यहीँबाट तत्काल मात्र सम्भव हुन्छ । सिकाइका कमीकमजोरी सुधार गर्ने पक्ष कि त शिक्षक हो कि विद्यार्थी स्वयम् । यसमा पनि सिकाइ सुधारका क्षेत्र पहिचान गर्ने र त्यसलाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवार भनेको शिक्षक नै हो । सिकाइ सुधारको वातावरण निर्माण गर्ने पक्ष घरमा अभिभावक, अन्य सरोकारवाला, नीति निर्मातालगायत अरु अरु पनि हुन सक्छन् । अतः सिकाइ सुधारको लागि सबैले आफ्नो तर्फबाट कोशिस गर्नु आवश्यक छ ।