सेवा लिन अर्को वडामा

दाङ, १२ फागुन । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का स्थानीयलाई वडा कार्यालय पुग्नै सास्ती हुने गरेको छ । भौगोलिक विकटतासँगै आफ्नो वडामा वडा कार्यालय नहुँदा वडा नं. ४ का स्थानीयलाई वडाबाट प्राप्त हुने सेवा लिन वडा नं. ३ को कमिरेचौरमा रहेको कार्यालयमा पुग्नु पर्ने बाध्यता छ ।

घर नजिकैको सरकार वडा कार्यालय भए पनि भौगोलिक विकटताका कारण वडा कार्यालय पुग्नै ३ देखि ४ घण्टासम्म लाग्ने गरेको बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी खिमबहादुर घर्ती मगर बताउँछन् । भूगोलका हिसाबले विकटसँगै गहतेराबाट वडा कार्यालय पुग्नका लागि गाडी चल्ने बाटो नहुँदा पैदल हिँडेर जानु पर्ने बाध्यता रहेको बताए । ‘पहाडी क्षेत्रसँगै वडा कार्यालय पुग्ने मोटर बाटो छैन । वडामा केही कामका लागि सिफारिस वा राजस्व तिर्न जानु पर्दा बिहानै २÷३ घण्टा हिँडेर जानु पर्छ’, खिमबहादुरले भने, ‘हिँड्न नसक्ने मानिस वडा कार्यालय पुग्न गाडीमा घोराही भएर जानुहुन्छ तर आर्थिक रूपमा विपन्न मानिस हिँडेरै जानु पर्ने बाध्यता छ ।’ उनका अनुसार पहाडमा गोरेटो बाटो उकालो र ओरालो भएकाले करिब साढेदुई घण्टामा पुग्न सक्ने र वृद्धवद्धा भए करिब चार घण्टासम्म लाग्ने गर्छ ।

न ठुला गाडीको सेवा छ न त अटोको सुविधा नै । अटो हिँड्ने बाटो पनि नहुँदा वडा कार्यालय पुग्नै समस्या हुने गरेको सुकाखोला निवासी कमला डाँगी बताउँछिन् । ‘घर नजिकै सरकार भए पनि आफ्नो वडामा वडा कार्यालय छैन । जसले गर्दा वडाको काम का लागि पनि गाउँपालिकाको कार्यालय रहेको कमिरेचौर नै पुग्नु पर्ने बाध्यता छ’, स्थानीय कमलाले भनिन्, ‘वडामा काम परेर जाम भन्दा पनि दिनभरको समय लाग्छ ।’ त्यसैमा संयुक्त कार्यालय हुँदा भिडभाड हुने गरेको उनले बताइन । खिमबहादुर र कमला प्रतिनिधि पात्र रहे पनि भौगोलिक विकटतासँगै आफ्नै वडामा वडा कार्यालय नहुँदा बंगलाचुली गाउँपालिका–४ का स्थानीयलाई वडा कार्यालयबाट सेवा लिनै समस्या छ । स्थानीय तहमा जनप्रतिनिधि आएको दोस्रो कार्यकालसम्म पनि आफ्नै वडामा हुनु पर्ने वडा कार्यालय अर्को वडामा रहेको र सेवा लिन जाँदा पनि समस्या हुने गरेको स्थानीय बताउँछन् ।

वडा नं. ४ मै गहतेरा जस्तै भौगोलिक विकटताका कारण अन्य बस्तीका वडाबासीलाई पनि सेवा लिन समस्या हुने गरेपछि वडा कार्यालयले २÷२ महिनामा घुम्ती शिविर सञ्चालन गर्ने गरेको बंगलाचुली गाउँपालिका वडा नं. ४ का अध्यक्ष डाँसबहादुर डाँगी बताउँछन् । आफ्नै वडामा वडा कार्यालय नहुँदा सेवा लिन टाढा हुने भएपछि वडाबासीलाई पायक पर्ने गरी तल्लो क्षेत्रका लागि गहतेरा र उपल्लो क्षेत्रलाई उपल्लो तापा र फाँटामा वडा कार्यालयले घुम्ती शिविर गरेर जन्मदर्ता, मृत्युदर्ता तथा राजस्वलगायतका सेवा दिँदै आएको वडाध्यक्ष डाँगी बताउँछन् । उनका अनुसार वडा नं. ४ को क्षेत्र ठुलो भएको, बस्ती पनि छरिएर रहनुका साथै एकै ठाउँबाट दुई वटा वडा कार्यालय सञ्चालन गर्दा थप समस्या हुने गरेको छ ।

‘भौगोलिक विकटता र आफ्नै वडामा कार्यालय नहँुदा संयुक्त रूपमा वडा कार्यालय सञ्चालन गर्दा जनतालाई सेवा प्रवाहमा समस्या भएको छ’, वडाध्यक्ष डाँगीले भने, ‘त्यही समस्यालाई मध्यनजर गरेर वडा कार्यालयसँगै प्रत्येक २÷२ महिनामा सबैलाई पायक पर्ने गरी वडाका ३ स्थानमा शिविर सञ्चालन गर्दै आएका छौँ ।’ वडाध्यक्ष डाँगीले जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न बंगलाचुली गाउँपालिका वडा नं. ४ झुलडाँडामा वडा कार्यालय निर्माण प्रक्रिया सुरु भएको बताए ।

फाइल तस्बीर