अमरराज आचार्य
दाङ, १२ फागुन । आयोडिनयुक्त नुनको प्रयोग गर्नका लागि सचेतना दिन अहिले विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको छ । यो महिनालाई आयोडिन महिनाको रूपमा मनाइएको छ । यस अन्तर्गत एक महिनासम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने नाराका साथ यस महिनालाई आयोडिन महिनाका रूपमा मनाइएको छ । आयोडिन महिनाको अवसर पारेर साल्ट्र टेडिङ कर्पोरेसन लिमिटेड घोराहीले आयोडिनबारे जानकारी दिन सचेतना कार्यक्रम सञ्चालन गरिराखेको छ ।
कार्यालयले विद्यालयलाई प्राथमिकतामा राखेर सचेतनामूलक कार्यक्रम सञ्चालन गदै आएको साल्ट्र टेडिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबावुप्रसाद गुप्ताले जानकारी दिए । ‘आयोडिनका बारेमा सचेतनामूलक कार्यक्रम विद्यालयमा प्राथमिकता दिएका छौँ’ प्रमुख गुप्ताले भने, ‘विद्यार्थीमार्फत् सचेतना कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने विश्वास लिएका छौँ ।’ कार्यालयले जिल्लाको पश्चिम क्षेत्रमा रहेका विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । शान्तिनगर गाउँपालिकाको वीरेन्द्र मावि, वीपी कोइराला मावि, जनकल्याण मावि, बुद्ध माविमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको प्रमुख गुप्ताले बताए । ‘पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रमा ढिकेनुनको प्रयोग गर्ने बढी रहेकाले यस क्षेत्रलाई छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको हो’, प्रमुख गुप्ताले भने ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ को सवारीकोटमा समेत यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको थियो । ‘सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चलन गरेका छौँ’, उनले भने । कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई सचेतना दिने गरेको उनले बताए । उनीहरूलाई आयोडिनको आवश्यक किन पर्दछ, आयोडिन नखाँदा मानिसमा देखा पर्ने असरलगायतका विषयमा जानकारी दिइने गरेको गुप्ता बताउँछन् । ‘विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्दा एकै पटक धेरैलाई सचेतना दिन सकिन्छ’, प्रमुख गुप्ताले भने । धेरै गाउँलाई समेत समेट्न सकिने उनले बताए । विद्यार्थीले आप्mनो घरमा गएर आफ्ना आमाबुवालाई समेत सचेत गराउने उनको भनाइ छ । विद्यालयसँगै समुदायमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं ३ को स्वास्थ्यचौकी, घोराही ६ फचकपुरमा रहेको स्वास्थ्यचौकी, घोराही उपमहानगरपालिका वडा नं ५ को धर्ना स्वास्थचौकी र वडा नं १३ मा रहेको सहरी स्वास्थ्यकेन्द्रमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकिएको छ । कार्यालयको कार्यक्षेत्र साविक राप्तीका ५ जिल्लामा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए । दाङ, रोल्पा, प्युठान, सल्यान, रुकुममा पनि कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
प्रतिदिन एक सय ५० माइकोग्राम आयोडिन मानिसलाई आवश्यक पर्ने समेत उनले बताए । आयोडिनको चक्की खानुभन्दा नुनमा मिसाएर खुवाउन सहज हुने भएकाले नुनमा आयोडिन मिसाइएको प्रमुख गुप्ता बताउँछन् । ‘चक्की खाँदा भुल्न सकिने हुन्छ, नुनमा राख्दा सबैले सहज रूपमा खाने भएकाले नुनमा राखिएको हो’, प्रमुख गुप्ताले भने, ‘नुनमा राखेका कारण यसले सहज रूपमा आयोडिन खान सहयोग पुगेको छ ।’ ढिकेनुनमा पनि आयोडिनको मात्रा राखिए तापनि खुल्ला हुने भएकाले आयोडिनको मात्रा उड्ने गरेको उनले बताए । त्यसैले धुलोे आयोडिनयुक्त नुन खानु पर्ने उनले बताए । ‘प्याकेटमा हुने भएकाले आयोडिनको मात्रा उड्न नपाउने भएकाले प्याकेटको नुन खानु पर्दछ’, प्रमुख गुप्ताले भने ।
ढिकेनुन खाने घट्दै
पछिल्लो समय ढिकेनुन खाने मानिसको सङ्ख्या घट्दै गएका छन् । सचेतना बढेसँगै यसको प्रयोगकर्ता पनि घट्दै गएको उनको भनाइ छ । ढिकेनुन गाई, भैँसीलाई खुवाइन अहिले बढी प्रयोग गर्ने गरिएको उनले बताए । गाई, भैँसीलाई पनि आयोडिनयुक्त नुन खुवाउनु पर्ने उनी बताउँछन् । कार्यालय अन्तर्गत पाँच जिल्लामा वार्षिक दुई लाख ५० हजार किलो ढिकेनुन बिक्री हुने गरेको र धुलो प्याकेटको नुन वार्षिक ६० लाख पोका बिक्री भएको उनले बताए । ‘यसले पनि ढिकेनुनको प्रयोग घट्दै गएको देखिएको देखिन्छ’, प्रमुख गुप्ताले भने ।
आयोडिनको कमी भए देखा पर्ने समस्या
शरीरमा आयोडिनको कमीले गर्भवती महिलालाई असर पर्छ । गर्भ तुहिने, मृत बच्चा जन्मने, अविकसित दिमाग भएको शिशु जन्मने, शारीरिक रूपमा विकलाङ्ग हुनेलगायत सम्भावना हुन्छ । त्यस्तै आयोडिनको कमी भएका बालबालिकाको मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्तमनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्छ । वयस्कमा आयोडिनको कमी भए गलगाँड आउने, थाइराइड, मानसिक क्षमतामा कमी, शारीरिक क्षमतामा कमीजस्ता असर देखिन्छन् । बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै हो ।
शरीरलाई आवश्यक पर्ने आयोडिनको मात्रा
आयोडिनलाई सूक्ष्म पोषकतत्व भनिन्छ । यो खनिज पदार्थ हरेक वयस्क व्यक्तिलाई दैनिक रूपमा करिब एक सय ५० माइक्रो ग्राम, गर्भवती महिलाका लागि दैनिक करिब दुई सय ५० माइक्रो ग्राम र पाँच वर्षमुनिका बालबालिकालाई दैनिक करिब ९० माइक्रो ग्राम नुन आवश्यक पर्छ । आयोडिनले थाइराइड ग्रन्थीबाट थाइराइड हर्मोन निकाल्न मद्दत गर्दछ । थाइराइड हर्मोन पोषकतत्वको पाचन प्रक्रिया र शारीरिक तथा मानसिक वृद्धि विकासका लागि नभइ हुँदैन । शरीरको तौल सन्तुलन राख्न थाइराइड हर्मोन अत्यन्तै महत्वपूर्ण हुन्छ । आयोडिनको उचित मात्राको उपभोगले थाइराइडमा हुने क्यान्सरको जोखिम कम गर्छ । साथै आयोडिनले शारीरिक र मानसिक रूपमा पनि स्वस्थ रहन मद्दत गर्छ ।
रण विनोद आचार्यले गरेका थिए ।