सगरमाथा आरोही हरि बुढामगरलाई नागरिक अभिनन्दन गरिने

दाङ,१२ फागुन । सर्वाेच्च शिखर सगरमाथा आरोहण गरि विश्व कीर्तिमान बनाउन सफल ब्रिटिस आर्मी हरि बुढामगरलाई दाङको घोराहीमा नागरिक अभिनन्दन गरिने भएको छ । अफगानिस्तानको युद्धमा घुँडा माथिबाट दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरि विश्व कीर्तिमान बनाउन सफल रोल्पा थवाङ गाँउपालिका–३ मिरुल निवासी बुढामगरलाई नागरिक अभिनन्दन गर्न थालिएको हो ।

नागरिक अभिनन्दन प्रचारप्रसार उपसमितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर गोरखा ग्रुपको आयोजनामा बुढामगरलाई यही फागुन १४ गते सोमवारका दिन घोराहीमा नागरिक अभिनन्दन गर्न लागिएको गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाले जानकारी दिएका हुन् । फागुनको १४ गते बिहान ८ बजे घोराहीको तुलसीपुर चोक (भानुचोक) बाट विश्व किर्तिमानी आरोही गोर्खा ग्रुपका संस्थापक तथा पूर्व ब्रिटिश आर्मी बुढालाई गर्न थालिएको नागरिक अभिनन्दन कार्यक्रममा सहभागीगताका लागि अध्यक्ष बुढाले सवैमा अनुरोध समेत गरेका छन् ।

अध्यक्ष बुढाका अनुसार बाजागाजा र साँस्कृतिक झाँकीसहितको ¥यालीका घोराही उपमहानगरपालिका–१४ स्थीत बहुउद्देश्य सभागृहमा पुगेर कार्यक्रम गरिने छ । त्यस अवसरमा विश्व कीर्तिमानी व्यक्ति तथा सकारात्मक सोँचका अभियन्ता बुढामगरबाट व्यक्त हुने उत्प्रेरणामूलक विचार सुन्नका लागि आयोजकले सम्पूर्णमा आग्रह समेत गरेको छ ।

घुँडामाथिदेखि दुवै खुट्टा गुमाएका हरि बुढामगरले २०८० जेठ ५ गते दिउँसो ३ बजेर १० मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान राख्न सफल भएका थिए । बुवा नौला बुढा मगर र आमा पुरइ बुढामगरको कोखबाट २०३६ सालमा रोल्पाको थवाङ गाँउपालिका–३ मिरुलमा जन्भिएका बुढामगर सन् १९९९ जनवरी १ मा ब्रिटिश आर्मीमा भर्ना भएका थिए ।

ब्रिटिश आर्मीमा कार्यरत रहँदा सन् २०१० अप्रिल १७ गते अफगानिस्थानमा ड्युटीमै रहेको समयमा तालिवानको एम्बुसमा परेर घाइते भएका बुढामगरले दुवै खुट्टा घुँडामाथिबाट गुमाएका थिए । घुँडामाथिदेखि दुवै खुट्टा नहुने विश्वको पहिलो सगरमाथा आरोही बनेर विश्वभरी अपाङ्गता वा फरक क्षमता भएकाहरुको लागि प्रेरणाको श्रोत बन्न सफल भएका छन् । पत्रकार सम्मेलनमा नागरिक अभिनन्दन प्रचारप्रसार उपसमितिका सदस्य आदीम केसीले विश्व किर्तीमानी आरोही हरि बुढा मगरको बारेमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनको सहजीकरण नागरिक अभिनन्दन प्रचारप्रसार उपसमितिका संयोजक दुर्गालाल केसीले गरेका थिए ।