गोरक्ष समाचारदाता
दाङ, १२ फागुन । सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतता अपनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, प्याब्सन दाङ र प्याब्सन घोराही नगर समितिको संयुक्त आयोजना शुक्रवार घोराहीमा आयोजना गरिएको ट्राफिक सचेतनासम्बन्धी ¥यालीको समापन कार्यक्रममा बोल्ने वक्ताले सवारी दुर्घटना न्यूनीकरण सचेतना आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सवारी दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिक सचेत हुन आवश्यक रहेको बताएकी थिइन् । चालकदेखि पैदलयात्रीसम्म सचेत बन्न सके मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै नगर उपप्रमुख डिसीले भनिन्, ‘त्यसका लागि हरेक व्यक्ति आफैँ सचेत हुन आवश्यक छ ।’ आफू सचेत भए आफूसँगै अरूको समेत ज्यान बचाउन सकिने भएकाले त्यसतर्फ सबैले सोच्नु पर्ने उपप्रमुख डिसीले बताएकी थिइन् । उनले सचेतनासँगै कुनै पनि सवारी साधन चलाउने चालकले खनपिन र स्वास्थ्यमा ध्यान दिनु पर्ने बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना अनिवार्य भएको बताए । सामान्य नागरिकदेखि चालकसम्मले ट्राफिक नियमको पालना नगर्दा नै अहिले जिल्लामा दुर्घटना बढेको भन्दै प्रहरी नायव उपरीक्षक मल्लले ट्राफिक नियमको पालनासँगै सडकको अवस्थामा समेत सुधार हुनु पर्ने बताए । सचेतनाले आफूसँगै अरूको ज्यान जोगिने भएकाले हरेक नागरिकले सडकमा हिँड्दा ट्राफिक नियमको पालनामा ध्यान दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले स्वयम् व्यक्ति सचेत नहुँदासम्म जिल्लामा दुर्घटना बढिरहने भन्दै ट्राफिक नियमबारे सचेतना बढाउन चालक, विद्यार्थीसँगै समुदायस्तरमा पनि कार्यक्रम गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आरके शीतल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, प्याब्सन घोराही नगर समिति अध्यक्ष वीरेन्द्र चन्द, बिमाकर्ता तथा दुर्घटना न्यूनीकरण अभियन्ता डा लोकराज पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ट्राफिक सचेतनाबारे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी गराएका थिए । घोराहीको तुलसीपुर चोकबाट सुरु भएको सचेतना ¥याली दामोदर चोक, त्रिभुवन पार्क, नयाँ बजार, दूरसञ्चर, बंैक रोड, सहिदगेट हुँदै तुलसीपुर चोकमा पुगेर समापन गरिएको थियो । ¥यालीमा घोराहीका निजी विद्यालयका विद्यार्थी, प्रहरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण विनोद आचार्यले गरेका थिए ।