आशा गरौँ, देशमा निराशा मात्र छैन

गोपालप्रसाद घिमिरे
राष्ट्रिय राजनीतिलाई छाड्ने हो भने यतिबेला चर्चामा युवाहरुको बिदेश पलायन, आर्थिक शिथिलता, भ्रष्टाचार र स्वतन्त्रताका नाममा मौलाउँदै गएको अराजकताका विषयहरु जनजिब्रो छन् । चारैतिर निराशाको खेती र नकारात्मक भाष्यको जबरदस्त रुपमा बजारीकरण भइरहेको छ जुन केही हदसम्म स्वभाविक पनि हो । अहिले एकथरीले धमिलो बनाएको व्यवस्था र अवस्थामा अर्को थरीले संग्लो बनाउछु भन्नु ठुलो कुरो नै भएन । यहाँ धमिलो खोलामा माछा मार्ने र राजनैतिक भविष्य सुनिश्चित गर्नेहरुको कमी छैन नेपालीले ठाँउ पाए गर्छ तर के गर्छ त्यो भविष्यकै जिम्मामा छ ।

जनतामा व्यापक निराशा, असफलता र अवहेलना छ । राष्ट्रलाई माया गर्नेले चिन्ता, चिन्तन र चिरफारको चर्चा सन्दर्भिक पनि छन् । लोकतन्त्रमा ताली बजाउनेलाई गाली गर्ने अधिकार संविधानले नै प्रदान गरेको छ तर कतिपय अतिरञ्जित, कतिपय प्रायोजित अति प्रचारप्रसारले कतै अतिवाद र अराजकताको जन्म नहोला भन्न सकिँदैन । अहिलेका हाम्रा नेता गलत हुनुमा धेरै हदसम्म हामी जनताको नै हात छ । हामीहरुका बिचबाटै नेतृत्व निर्माण भएको हो, याद रहोस् नेताको विकल्प पनि नेता नै हो । कसैलाई विश्वास गर्नु र धोका खानु फरक विषय हो ।

पहिले सतिले सरापेको देश, भीमसेन थापा सेरिएको देश भनेर व्यतm गरिने निराशा यतिबेला सबै भ्रष्ट, सबै ठग फटाहा जताततै खराबै नै खराब छन् । सोर्स र फोर्स बिना केही हुँदैन । नेपालको कानुन, दैवले जानुन, सानालाई ऐन, ठुलालाई चैन छ । चौतर्फि निराशा, दुःख, पिडामात्रको भाष्य निकै बिक्री भएको छ । यो देशमा बस्नु नै समय बर्बाद गर्नु शिवाय अरु केही हँुदैन भन्ने बुझाई युवापुस्तामा पसेको छ । गाँउमा वृद्धवृद्धा मात्रै छन् । मलामी जाने मान्छे छैनन् । विद्यालय, कलेजमा पढ्ने विधार्र्थी छैनन् । स्वदेशमा बसेर सुखदुःख काम गरेर खाने वातावरण नहुनु चिन्ताको विषय हो ।

हुन पनि देश यतिबेला गरिबी, वेरोजगारी, परनिर्भरता, आर्थिक अराजकताले देश थलाथला परेको छ । यसरी थलाथला पर्नुमा बाह्य कारण केही हदसम्म र आन्तरिक कारण धेरै हदसम्म दोषी छ भन्ने आम बुझाइ रहेको छ । राजनीतिमा सुशासनको अभाव, सत्ता, शतिm र स्वार्थका कारण यस्तो अवस्था आयो भन्ने बुझाइ रहेको छ । सर्वस्वीकार्य त केहो भने राजनैतिक व्यवस्थाले अवस्थामा परिवर्तन गर्न चुकेकै हो । कुनै सिद्धान्तवाद र दलले गरिबी समाधान र विकास गर्न नसकेकै हो । सबै दल टेस्टेड भइसकेका छन् । यिनीहरुको सिण्डिकेटले नै देशको हालत बिग्रेको हो भन्ने ठम्याई छ ।

तत्कालीन अवस्थामा विश्वको अग्लो चुचुरो सगरमाथाको देश, विश्व शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको देश, बहादुर योद्धाहरुको देश, धार्मिक तथा सांस्कृतिको धनि देश, जलसम्पदामा विश्वकै दोस्रो धनि देश, इतिहासमै कहिले गुलाम नभएको देश आदि गौरवमयगाथा बोकेको हाम्रो परिचय हो । समकालीन स्थितिमा हामी नेपालीलाई दक्षिण एशियाकै भ्रष्ट देश, विश्वको गरिब राष्ट्र, सस्तो श्रमिकको अखडा, रेमिटान्सले धानेको अर्थतन्त्र, अस्थिर राजनीतिको पर्याय देशका रुपमा गणना गरिन्छ । निश्चित रुपमा यो नेपाल र नेपालीहरुका लागि कदापी स्वीकार्य छैन तर दुःखका साथ भन्नै पर्दछ विश्वमञ्चमा हाम्रो हैसियत यही नै हो ।

यतिबेला देशको आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक अवस्था नाजुक छ तर राष्ट्र असफल बनिसकेको छैन । देश असफलता उन्मुख छ भन्ने सत्य हुँदाहुँदै पनि यो सुध्रिनै नसक्ने गरी असफल भयो भनिन्छ भने त्यो सर्वथा गलत हो । बल मिच्याई हो । सबै सम्भावनाको अन्त्य भएको होइन । हामी किन भन्न सक्दैनौँ कि हाम्रा खोलानालामा पानी कम भएको होला, सुकेको छैन । हाम्रो जमिन भासिएको, हराएको छैन । जलवायु परिवर्तनले हिमालमा हिँउ कम भएको होला तर सौन्दर्य हराउने गरी घटेको छैन । हामीलाई गरी खाने ठाँउको अभाव छैन, यसर्थमा हामी गरिब छैनौँ ।

दृढतापूर्वक संकटबाट बच्ने रणनीति, चुनौतीको सामना गर्ने क्षमता, पर्खने धैर्यता निरन्तरको मेहनत र श्रमप्रतिको निष्ठा कायम गर्न सकेको खण्डमा हामी अवश्य उठ्ने छौँ । लडेको मान्छै उठेर हिडेका थुपै उदाहरणहरु छन् ।समयले हिजोको धनी आज गरिब हुन सक्दछ भने आजको गरिब भोली धनी पनि हुन सक्दछ । अर्थतन्त्रमा उतारचढाव हुन्छ नै धेरै आत्तिएर बर्बादै भयो भनेर देश डुब्यो भनेर नकारात्मक मात्र नसोचौँ, नबोलौँ यसले हतोत्साहित मात्र होइन आत्मबल पनि कमजोर बनाउँछ । सकारात्मक तथ्याङ्क पनि नभएका होइनन् । केही कामै नभएको पनि होइन शुभ संकेत समाप्तै भएको जसरी प्रोपोगण्डा फैलाउनु व्यक्ति, परिवार, समाज र देशकै लागि सुखद् नहोला भन्ने मात्र हो ।

जीवन गुजाराका लागि झण्डै ७० लाख युवा नेपाल बाहिर गएको आँकडा सुनाइन्छ । हो देशको अवस्था नाजुक छ तर असफल बनिसकेको छैन । नेपालमा खराब राजनीतिज्ञ, कामचोर कर्मचारी अनि कर्तव्यहिन नागरिक मात्रै छैनन् । अझ सबै ब्यापारी ठग, सबै ठेकेदार चोर, सबै पत्रकार दलाल, सबै बुद्धिजिवीबाट अनि सबै सुरक्षकर्मी निकम्मा मात्रै छन् भन्नु गलत हो । त्यसो होइन नेपालमा असल मान्छेहरु पनि छन् । नामै लिएर भन्नु पर्दा सन्दुक गुईत, कुलमान घिसिंग, महाबिर पुन, भगवान कोइराला जस्ता राष्ट्रका सपुत यही देशमै हामी माँझ नै छन् । जनताका नजरमा लोकसेवा आयोग जस्ता निष्पक्ष निकाय पनि सक्रिय नै छन् ।

नेपाल यतिबेला सिमेन्ट, अण्डा, बनस्पति घिउ, पस्मिना, दुध, जलविद्युत, मासु आदिमा करिब–करिब आत्मनिर्भर भइसकेको अवस्था छ । केही क्षेत्रमा आत्मनिर्भर हुने तयारीमा छ । स्वास्थ्य, शिक्षा, सञ्चार, खानेपानीको क्षेत्रमा प्रगति गरेको छ । पूर्वाधारको विकासमा पनि उल्लेखनीय सुधार हुँदै गएको छ । स्थानीय निकायमा पनि विकास नगर्ने हो भने अब खैरियत छैन भन्ने चेतना पलाएको कता–कता महसुस हुन थालेको छ । ढिलो भए पनि नेपाल आजका मितिमा सुरुङ मार्गको युगमा प्रवेश गरेको छ । हिजोभन्दा आज सूचना र प्रविधिमा गुणात्मक फड्को मारेकै छ । सामाजिक तथा मानवीय सूचकाङ्क पनि सन्तोषजन कै छन् निराश भई हाल्नु पर्ने अवस्था छैन ।

नेपालकै कुरा गर्ने हो भने पनि तीस वर्षमा मात्र क, ख, ग, घ पढेकाले राई डा. स्वामि प्रपन्नाचार्य बने, तिन पटक एस.एल.सी फेल हरिवंश आचार्य प्रख्यात कलाकार र लेखक बने, खुट्टाले लेखेर झमककुमारी घिमिरेले मदन पुरस्कार जितिन, ताप्लेजुगँको दुर्गम खोचँमा जन्मेका सन्दुक रुईत आँखाका विश्व विख्यात डाक्टर बने, म्याग्दीका महाविर पुन आविष्कारमा तल्लिन छन् । उज्यालोका नायक कुलमान घिसिड. पनि नमुनाका रुपमा यही छन् । सम्भव त छ त १७ पटक प्रधानमन्त्रीको दौडबाट बाहिरिएका अहिले महामहिम राष्ट्रपति रामचन्द्र पौडेल छन् । थाईल्याण्ड, फिलिपिन्स, दुवई आदि जस्ता विश्वका धेरै राष्ट्रसँग प्राकृतिक सम्पदा केही छैन तर धनी र सम्पन्न छन् । हामीसँग उनीहरुको तुलनामा स्रोत र साधन धेरै छ तर गरिब छौ कुरा स्पष्ट छ धेरै गर्न बाँकी छ । कुरा धेरै भयो काम हुन सकेन पानीजहाज नि चाहिएन, घर–घरमा ग्यासको पाइप लाईन नी चाहिएन, रेल पनि चाहिएन, भ्यूटावर नि चाहिएन । उदारवाद, पूँजीवाद, समाजवाद केही चाहिएन चाहिएको भनेको विकास, रोजगार, सुशासन र समृद्धि भए पुग्छ ।

सम्भव छ देश बन्छ हामी बनाउँछौ निराश नहुनुस्, खबरदारी गर्नोस् आशा देखाउनोस्, निराशाको खेती बन्द गर्नोस् । यसले समाजमा मानसिक रोगीको प्रकोप बढाउँछ फैलाउँछ । बिहान पश्चिम दार्चुलाबाट बस चढेर साँझ नेपालको सीमाना झापा पुगिने सानो देश बनाउन दृढ इच्छाशक्तिसहितको इमान्दार नेतृत्व चाहिएको हो । प्रशासक चाहिए को हो । साच्चिकै भन्ने हो भने राष्ट्रको सम्पत्तिका रुपमा मरुभूमि बाहेक केही नभएका राष्ट्रले गर्न सक्ने प्रगति हामी आफै र तुलनात्मक रुपले अझ छिटो गर्न सक्छौ । हामीसँग के छैन जल, जमिन, जडिबुटी, जंगल, जाँगरीलो जनशतिm सबै छ, हिमाल छ, पहाड छ, तराई छ नेपालका लागि अहिले पनि सहयोगी हातहरु साथमै छन् । यदि यसैको व्यवस्थापन सही तरिकाले गर्न सके मात्रै पनि डराई हाल्नु पर्ने अवस्था अहिले पनि छैन । नेपालीको परम्परागत रैथाने ज्ञान, सिप, क्षमता र इमान्दारीता ज्युँदै छ । सबै बिग्रिएको छैन सुधार अनिवार्य र अपरिहार्य छ ढिलो गर्ने छुट छैन ।

यति त भन्नै पर्दछ प्रयास जारी छ विकासको गति पुगेको छैन यो रफ्तार लडियाको भयो यसमा सन्तोष गर्न सकिँदैन । यो कार्यशैलीमा व्यापक परिवर्तन जुनसुकै हातलमा गर्नै पर्ने भएको छ । त्यसोत नेपाल अति कम विकसित राष्ट्रबाट उठेर विकासोन्मुख राष्ट्र बन्न थोरै मापदण्ड पूरा गरे पुग्ने अवस्थामा छ । माफ गर्नु होला, राज्य एकल प्रयासबाट मात्र बन्ने होइन सबैले आ–आफ्नो स्थानबाट असल नियतका साथ योगदान दिनै पर्दछ । इमान्दारीताको सुरुवात नेतृत्वबाट भयो । राज्यका शासक रोल मोडल बने भने मात्र यो प्रक्रिया छिटो अगाडि बढछ र बढाउनै पर्दछ जनतालाई पटक–पटक धोका भयो अब अति भयो बन्द गर्नुस् स्वार्थको ढोका, राजनैतिक स्टण्टबाजी अनुरोध मात्रै यति हो कि नेपाल र नेपालीलाई गरी खान दिनोस् ।