दाङ क्रिकेट लिग–२ को मुख्य प्रायोजक नेपाल टेलिकम

दाङ,९ फागुन । दाङ क्रिकेट लिग–२ को मुख्य प्रायोजक नेपाल टेलिकम भएको छ । दाङ क्रिकेट संघले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फ्रेन्चाईज लिगको मुख्य प्रायोजक नेपाल टेलिकम भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको हो ।

आयोजक र मुख्य प्रायोजक नेपाल टेलिकमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । १९ गतेसम्म घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित घोराही क्रिकेट मैदानमा प्रतियोगिता हुन थालेको छ । तल्लोस्तरदेखि नै लगानी गरेर खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल टेलिकम प्रतियोगिताको मुख्य प्रायोजक बनेको दाङ ंिक्रकेट सघले जनाएको छ ।

क्रिकेटको विकासका लागि तल्लो तहबाटै वातावरण निर्माण गर्नुपर्ने अवस्थामा दाङमा क्रिकेटको वातावरण राम्रो बन्दै गएको हुँदा नेपाल टेलिकमले सहकार्य गर्ने अवसर पाएकोमा खुशी भएको नेपाल टेलिकम घोराहीका प्रमुख माधव खनालले बताए । उनले क्रिकेटको विकासका लागि पूर्वाधार र खेलाडीमा लगानीको वातावरण बन्दै गएको हुँदा क्रिकेटलाई माथि उठाउन र व्यावसायिक बनाउन सबैको साथ सहयोग चाहिने बताए । उनले क्रिकेट प्रतियोगिताले जिल्लाबाट राम्रा खेलाडी उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा दाङ क्रिकेट लिगका संयोजक तथा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले लिगको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराएका थिए । प्रंतियोगिताको उद्घाटन खेल घोराही टाईगर्स र दंगाली लायन्सकाबिचमा हुने भएको छ ।

जिल्लामा हुन लागेको डिसिएल–२ मा साविक विजेता घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबले प्रतिष्पर्धा गर्नेछन् । फ्रेन्चाईज क्लबहरुले अक्सनमार्फत खेलाडी खरिद गरि सकेका छन् । अक्सनका लागि दुई सय बढी खेलाडीले रजिष्ट्रेशन भरेकामा ७० खेलाडी प्रतियोगिताका लागि छनोट भएका छन् ।

त्यसैगरी दोश्रो खेल देउखुरी वारियर्स र पुरन्धारा च्यालेन्जर्सबीच हुनेछ । १५ गते बिहान दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच खेल हुनेछ । दिउँसो पुरन्धारा च्यालेन्जर्स र घोराही टाईगर्सबीच खेल हुने भएको छ । १६ गते बिहान तुलसीपुर रोयल्स र पुरन्धारा च्यालेन्जर्स बीच खेल हुनेछ भने दिउँसो घोराही टाईगर्स र देउखुरी वारियर्सबीच खेल हुने भएको छ ।

१७ गते बिहान देउखुरी वारियर्स र तुलसीपुर रोयल्सबीच खेल हुँदा दिउँसो पुरन्धारा च्यालेन्जर्स र दंगाली लायन्सबीच खेल हुने भएको छ । १८ गते दंगाली लायन्स र देउखुरी वारियर्सबीच खेल हुँदा दिउँसो तुलसीपुर रोयल्स घोराही टाईगर्सबीच खेल हुनेछ । लिगमा उत्कृष्ट दुई टीमले फाईनल खेल्नेछन् । फाईनल खेल १९ गते शनिबार हुने भएको दाङ क्रिकेट संघका सचिव एवम् प्रतियोगिता संयोजक सन्जु केसीले जानकारी दिएका छन् ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने भएको प्रतियोगिता निर्देशक विशेष अधिकारीले जानकारी दिएका छन् ।