गोरक्ष समाचारदाता
दाङ, ९ फागुन । नेपाली कांग्रेस महासमिति बैठक जारी छ । काठमाडौंमा जारी बैठकमा राजनीतिक सांगठनिक प्रतिवेदन पेस भएका छन् । यो महासमिति बैठक नेपाली कांग्रेसको संगठन मजवुतीका लागि कति महत्वपूर्ण बन्न सक्ला ? बैठकमा सहभागी दाङबाट प्रतिनिधित्व गरेका केही महासमिति सदस्यहरूसँग लिइएको धारणा;
कार्यकर्तामा उर्जाको सञ्चार
अनिता देवकोटा
पार्टी संगठनभित्र कहाँ कहाँ के के कमजोरी भएका छन् ? यी कमजोरी सुधार गरेर संगठनलाई चुस्त बनाउन महासमिति बैठक कोशेढुङ्गा सावित हुने छ । मूलतः अहिले पार्टीको तल्लो तहमा निराशा छन् । कांग्रेसले तल्लो तहका यी असन्तुष्टिलाई सम्बोधन गर्नु पर्छ । पार्टीको तल्लो संरचना जबसम्म मजबुत हुँदैन तबसम्म कांग्रेसको जग बलियो बन्ने कुरा हुँदैन । यसर्थ तल्लो तहसम्मको कार्यकर्ताको असन्तुष्टिलाई कसरी सम्बोधन गरेर कार्यकर्तामा उर्जा थप्ने भन्ने कार्यदिशा बनाउन महासमिति बैठक महत्वपूर्ण छ । पार्टीले सरकारमा छँदा र प्रतिपक्षमा रहँदा के–कस्ता काम ग¥यो यसको समीक्षासँगै अब के गर्नु पर्छ ? भन्ने कार्यदिशा महासमिति बैठकले तय गर्ने छ । समग्रमा भन्दा लोकतन्त्रको मजबुतीका लागि कांग्रेसको संगठन बलियो बन्नु पर्छ भन्ने निक्र्योल सहित कांग्रेसलाई बलियो उपयाहरूको खोज यो महासमिति बैठकले गर्ने छ । साथै कार्यकर्तामा उर्जाको सञ्चार गर्ने छ ।
कांग्रेस निर्माणको ठोस कार्ययोजना बन्छ
कमलकिशोर घिमिरे
यो बैठक कांग्रेसीका लागि पुनरताजगी जस्तो भयो । पार्टीले अहिले गरिरहेका काम र अब गर्नु पर्ने कामका बारेमा मसिनो गरी छलफल गर्ने वातावरण महासमिति बैठकले निर्माण गरिदिएको छ । कांग्रेस यथास्थितिमा रहन सक्दैन भन्ने निक्र्योल सहित कांग्रेसको अबको सही बाटो के भन्ने विषयको निर्धारण यो बैठकले गर्ने छ र महासमिति बैठक कांग्रेसको संगठनलाई बलियो बनाउनुका बदलिँदो परिस्थितिमा कांग्रेसलाई कसरी रूपान्तरण गर्ने भन्ने विषयको ठोस कार्ययोजना बनाउन पनि महत्वपूर्ण मानिएको छ । कांग्रेस केका लागि ? मूलतः समृद्ध समाज निर्माणका लागि कांग्रेस चाहिन्छ । समृद्ध समाज निर्माणका लागि कांग्रेस कस्तो हुने ? यो महत्वपूर्ण विषय हो । हरेक कार्यकर्तामा उर्जा थपेर कांग्रेसलाई समृद्ध समाज निर्माणका लागि उत्तरदायी बन्नु पर्ने अहिलेको आवश्यकता हो । आन्तरिक संगठनलाई चुस्त बनाएर पार्टीलाई आम नागरिकको प्रिय पार्टीका रूपमा रूपान्तरण गर्न जरुरी छ । र अहिले जारी महासमिति बैठकले पार्टीलाई त्यो बाटोमा डो¥याउन ठुलो भूमिका खेल्ने छ ।
आन्तरिक एकताको बलियो अस्त्र
भूपबहादुर डाँगी
मूलतः मैले देखेको यो महासमिति बैठकले पार्टीभित्र मजबुत एकता निर्माण हुने छ । पार्टी सभापति, महामन्त्रीलगायत शीर्ष नेताबिच भएको राजनीतिक बहस र छलफलपश्चात प्रारम्भ भएको महासमिति बैठकले यो एकता केन्द्रबाट प्रारम्भ भयो भन्ने सन्देश पनि दिएको छ र अर्को कुरा के हो भने नेपाली कांग्रेसको संगठनका बलिया आधार महासमिति बैठकमा पेस भएका छन् । महामन्त्री द्वयका राजनीतिक र सांगठनिक प्रस्तावले नेपाली कांग्रेसको उँचो भविष्य निर्धारण गरेको मैले देखेको छु । पार्टीका हरेक सक्रिय सदस्यलाई बराबरी हेरिनु पर्ने भन्ने महासमिति बैठकमा पेस भएको एजेण्डाले हरेक तह र तप्काका कांग्रेसलाई कांग्रेसप्रति थप अपनत्वबोध पक्कै गराउने छ । मुलुक निर्माणको हिस्सेदार एक मात्रै दल नेपाली कांग्रेस हो । मुलुक निर्माणका लागि कांग्रेस पहिला सक्षम बन्नु पर्छ भन्ने बोध हामी सबै कार्यकर्तालाई भएकै कुरा हो तर यो कांग्रेस कसरी बलियो बनाउने भन्ने भिजन यो महासमिति बैठकले दिने छ । यो भिजन अनुसार आम कार्यकर्ता माझ कांग्रेस लोकप्रिय बन्नेमा कुनै आशङ्का मैले देख्दैन ।
रूपान्तरणको आधार तय
बिमला योगी
महासमिति बैठकमा महामन्त्री द्वयका उत्कृष्ट सांगठनिक र राजनीतिक प्रतिवेदन आएका छन् । यी दुवै प्रतिवेदनले कांग्रेसको रूपान्तरणको बलियो आधार तयार गरेको देखिन्छ । तल्लो तहसम्म टास्क निर्माण गर्ने र हरेक तहमा यो टास्क मुभ हुने जुन खालको प्रस्ताव आएको छ, यसले तल्लो तहमा कांग्रेसका इकाइहरू एक्टिभ हुने हुन्छ । जसले गर्दा कांग्रेस बलियो बन्छ । फेरी एउटा कुरा के हो भने कांग्रेसको जग भनेकै पार्टीको स्थानीय तह हो । यो तहमा कांग्रेस छ है भन्ने भान पार्न कांग्रेसले जरुरी छ । र महासमिति बैठकले कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो भन्ने निक्र्योल गर्दै यसका लागि गरिनु पर्ने कामको ठोस कार्य योजना बनाएर अघि बढ्ने छ । कुनै पनि तहमा पार्टीका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन सम्मिलित टास्क निर्माण गर्ने र यो टास्कले त्यो स्थानीय तहका हरेक समस्यामा साथ दिनु पर्छ भन्ने जुन खालको सांगठनिक प्रतिवेदन पेस भएको छ, यसले विपत्मा कांग्रेस छ है भन्ने बलियो आधार आम जनमानसमा तयार पारिदिने छ । यसले गर्दा कांग्रेसको पक्षमा थप आकर्षण बढेर जाने छ ।
समग्रमा कांग्रेस मात्रै होइन, यो महासमिति बैठकले समाज विकासका लागि एक महत्वपूर्ण भूमिका पनि खेल्ने छ ।