टेकबहादुर पुन
देउखुरी, ९ फागुन । रचना बुढाथोकी गोरखा स्कुल लमहीमा अध्ययन गर्छिन् । उमेरले २१ नाघेकी रचना रक्तदान गर्ने भन्दा डराउने गर्थिन् । रक्तदान गर्ने रहर त हुन्थ्यो तर गर्न सकेकी थिइनन् । मंगलबार देउखुरी बहुमुखी क्याम्पसमा आयोजना गरिएको रक्तदान कार्यक्रम पहिलो पटक रक्तदान गरिन् ।
साथीहरूसँग क्याम्पस पुगेकी बुढाथोकीले पहिलो पटक रक्तदान गर्दा उत्साहित भएको बताइन् । उनले भनिन्, ‘रक्तदान गर्ने रहर भए पनि डरले गर्दा ब्लड दिन सकेको थिइनँ तर आज साथीहरूसँग पहिलो पटक रक्तदान गर्दा खुसी लागेको छ ।’ ‘रक्तदान, जीवनदान’ भन्ने पुस्तकमा पढेकी बुढाथोकीले ब्लड दिएर कसैको ज्यान जोगिन्छ भने आगामी दिनमा पनि आपूm सहयोग गर्न तयार भएको बताउँछिन् । उनीजस्तै देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी सन्दीप भण्डारीले पनि पहिलोचोटि रगतदान गर्न पाउँदा खुसी व्यक्त गरे । रक्तदान गर्न पाउँदा खुसीको अनुभूति भएको बताउँछन् ।
गोरखाकी अर्की विद्यार्थी आरूषी कशौधनले पनि सुरुमा पहिलोचोटि रक्तदान गर्दा डर भएर पनि रक्तदान गरिसकेपछि खुसीको अनुभूति भएको बताउँछिन् । रक्तदान गर्दा व्यक्तिगत स्वस्थ पनि भइने र स्वास्थ्यमा कुनै प्रकारको असर नगर्ने भए पनि मनको डर हट्को उनी बताउँछिन् । नियमित रक्तदानले शरीरका रक्तकोष छिटो सञ्चालन हुने र जसले गर्दा शरीर स्वस्थ रहने स्वास्थ्यकर्मी मनिषा चन्द ठकुरी बताउँछिन् । ‘रक्तदान गरेर शरीरको रगत कमी हुने होइन, उत्तिकै रक्तकोष सक्रिय भएर रगत उत्पादन हुन्छन्, स्वास्थ्यकर्मी ठकुरीले भनिन्, ‘रक्तदानले स्वास्थ्यमा हित नै गर्दछ ।’
लायन्स क्लब अफ लमहीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रगतदान गरेका छन् । क्लबकी अध्यक्ष सहाना श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता एवम् ५ नम्बर वडाध्यक्ष ओमप्रसाद सुवेदीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगर प्रमुख चौधरीले रक्तदान जस्तो पुण्यको काममा सबै अग्रसर रहनु पर्ने बताए । रक्तदान जस्तो पवित्र कार्य गर्न पाउनुलाई अवसरको रूपमा लिनु पर्ने बताउँदै उनले कसैको जीवन बचाउन स्वस्थ मानिसले रक्तदान गर्नु पर्ने बताए । कार्यक्रम संयोजक गणेश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष केपी घिमिरे, देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव लोकमान रिजालले थरेका थिए ।