एक लाख ७१ हजार बढी बालबालिकालाई दादुरा–रुवेला खोप

गोरक्ष समाचारदाता
दाङ, ९ फागुन । दाङमा दादुरा–रुवेला खोप अभियान अन्तर्गत एक लाख ७१ हजार बढी बालबालिकालाई खोप लगाइने भएको छ ।

दादुरा–रुवेला खोप अभियान २०८०÷०८१ अन्तर्गत मंगलवार जिल्ला स्वास्थ्य कार्यालय दाङले घोराहीमा जिल्लास्तरीय समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर ९ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ७१ हजार ६ सय ३४ बालबालिकालाई खोप लगाउन थालिएको खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिएका छन् । उनका अनुसार जसमा ९ महिनादेखि पाँच वर्षमुनिका ४९ हजार तीन सय ८ जना र पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका एक लाख २२ हजार तीन सय ३६ जना रहेका छन् ।

बालबालिकालाई खोप लगाउन जिल्लामा सात सय पाँचवटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप केन्द्रमा एक हजार चार सय १० जना स्वास्थ्यकर्मी र दुई हजार एक सय १५ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन हुने भएका छन् । जिल्लामा पहिलो चरणमा घोराही उपमहानगरपालिकासहित बंगलाचुली गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा फागुन १३ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणमा फागुन २३ देखि चैत्र ३ गतेसम्म तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकामा खोप अभियान सञ्चालन हुने खोप पोकल पर्सन आचार्यले जानकारी दिएका छन् ।

दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा बालबालिकालाई दादुरा रुवेला रोगविरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन आचार्यले जानकारी दिएका छन् । दादुरा–रुवेलाविरुद्धको जोखिमलाई न्यूनीकरण गर्दै जिल्लालाई पूर्णखोप सुनिश्चित गर्न अभियान थालिएको आचार्यले जानकारी गराएका छन् । खोप फोकल पर्सन आचार्यका अनुसार अभियानका क्रममा लुम्बिनी प्रदेश पूर्णखोप प्रदेश घोषणा भए पनि २०७९ मंसिर ३ देखि ०८० पुस १५ गतेसम्म दादुरा रुवेलाका ३९ जना बिरामी फेला परेका थिए ।

जसले गर्दा जिल्लामा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्ने चुनौती रहेको आचार्यले बताए । खोप फोकल पर्सन आचार्यले भने, ‘जिल्लामा अहिले पनि दादुरा रुवेला खोपको चुनौती छ । त्यस हिसाबले पनि अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु पर्ने छ ।’ सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुवेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाए पनि कोभिड–१९ को महामारी र अन्य कारणले गर्दा पछिल्लो समय बालबालिकामा दादुरा रुवेला निवारणमा चुनौती देखिएपछि यो अभियानकै रूपमा अघि बढाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाधयक्ष सन्तोष सुवेदीले अभियानलाई प्रभावकारी रूपमा लैजानु पर्ने र लक्षित बालबालिकालाई खोप लगाउनु पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय दाङका बामदेव शर्माले गरेका थिए ।