मेरो खुशी : एसएलसीको नतिजा हेर्दाको त्यो दिन …
आजभन्दा ३४ वर्ष अघिको त्यो बेला, अहिले जस्तो प्रविधिको युगको कल्पना नै थिएनन् । सञ्चारको साधन रेडियो नेपाल र नेपाल टेलिभजन मात्रै थिए । देशमा केही भइहाल्यो भने थाहा पाउने माध्यम रेडियो र टिभि नै थिए । अहिले जस्तो सहर–सहरमा एफएम रेडियो र पत्रपत्रिकाहरू थिएनन्, न त सामाजिक सञ्जाल नै थिए ।
त्यसैले रेडियो नेपाल वा टिभिमा सुनेका कुराहरू पत्रिकामा हेर्नका लागि पनि मुस्किल पर्ने गर्दथ्यो । एलएलसीको नतिजा प्रकाशित भएको रेडियो र टिभिबाट सुने पनि आफ्नै आँखाले पत्रिकामा नतिजा नहेर्दासम्म ढुक्क मन हुँदैन थियो । एलएलसीको नतिजा प्रकाशित भएको दुई दिनपछि काठमाडौँबाट बसमा पत्रिका बुटवल आउने गर्दथ्यो तर आफू कपिलबस्तुमा बस्ने भएकाले रिजल्ट हेर्न जाने सक्ने अवस्था थिएन । त्यसैले गाउँमा एक जना दाइले पत्रिका ल्याउने भएकाले उनै कहाँ गएर हेर्ने हुन्थ्यो ।
नतिजा प्रकाशित भएको सात दिनपछि पत्रिका गाउँमा आइपुग्थ्यो । पत्रिका गाउँमा आइपुगेपछि हेर्ने हुन्थ्यो । मनमा पास र फेलसम्बन्धी तिव्र इच्छाबिचमा पत्रिकामा आफ्नो सिम्वोल नम्बर पाउँदाको त्यो क्षण मेरो खुसीको क्षण हो । त्यही भीडकाबिचमा आफूले आफ्नो सिम्वोल नम्बर गोरखा पत्रिकामा देख्दाको त्यो क्षण आफ्नो जीवनको पहिलो खुसीको क्षण भएको घोराही उपमहानगरपालिका–१५ सुपरलज टोल निवासी गोपालप्रसाद घिमिरे बताउँछन् । घिमिरे भन्छन्,‘पास हुन्छु भन्ने लागे पनि अहिले जस्तो नतिजा प्रकाशित भएपछि हातहातमा रिजल्ट हेर्न मिल्दैन थियो । त्यसैले एक हप्तापछि रिजल्ट हर्दा पनि पास भएको नतिजाले मन असाध्यै खुसी हुन्थ्यो ।’
गंगाज्योति निम्न माध्यामिक विद्यालय पत्थरकोट कपिलबस्तुबाट औपचारिक रूपमा अध्ययन सुरु गरेका घिमिरेले २०४६ सालमा कपिलबस्तुको सिद्धार्थ स्मारक माध्यामिक विद्यालय भेलाहीबाट एसएलसी परीक्षा दिएका थिए । उक्त विद्यालयबाट परीक्षा दिएका २१ जना विद्यार्थीमध्ये नौ जना विद्यार्थी भएका भएको र त्यहीमध्ये आफूले दोस्रो श्रेणीमा पास गरेको घिमिरे बताउँछन् । उनका अनुसार त्यो बेला पत्रिकामा एलएलसीको रिजल्ट हेर्दा पास हुनेले १० रुपैयाँ र फेल भएकाको ५ रुपैयाँ तिर्नु पर्दथ्यो । एलएलसी परीक्षा दिनु अघि घिमिरेले कक्षा ३, ५ र ८ मा जिल्लास्तरीय तथा एलएलसी परीक्षा दिनु अघि सेन्टप परीक्षा दिनु परेको सम्झन्छन् ।
सरल र सामान्य जीवनशैली र सबैसँग मिल्न सक्ने स्वभाव भएका घिमिरे पेसाले निर्माण व्यवसायी हुन् । निर्माण क्षेत्रमा संलग्न घिमिरे राजनीति र सामाजिक सेवाका कार्य पनि संलग्न छन् । पेसागत हकहितका लागि नेतृत्वकर्ता समेत रहेका घिमिरे अध्ययन र लेखनीमा रुचि राख्छन् ।
समसामयिक विषयवस्तुसँगै घिमिरेले विशेषगरी आर्थिक विकाससम्बन्धी लेखकहरू लेख्दै आएका छन् । करिब एक दशक आर्थिक पत्रकार समाज दाङको संयोजकको जिम्मेवारी समेत सम्मालेका घिमिरेले गोरक्ष दैनिकदेखि नागरिक दैनिकसम्म विभिन्न लेखकहरू प्रकाशित गरेर अग्रज व्यक्तिहरूबाट प्राप्त गरेको सकारात्मक सुझावलाई पनि आफ्नो जीवनको खुसीको क्षणका रूपमा लिने गर्दछन् । त्रिचन्द्र कलेज काठमाडौँबाट समाजशास्त्र, सप्तगण्डकी कलेजबाट राजनीतिशास्त्रमा डिग्री गरेका घिमिरे बुटवल बहुमुखी क्याम्पसमा एलएलवी दोस्रो वर्षमा अध्ययनरत समेत भएको बताउँछन् । बुबाको सम्मालेको पेसालाई सम्हाल्नु पर्ने दायित्वका कारण रुचि भएर पनि कानुन विषय अध्ययन गर्न नसकेकाले अहिले पनि रहरको विषय पढिरहेको घिमिर बताउँछन् ।
२०५९ सालमा सैनामैना नगरपालिका–२ रामापुर कलौनी निवासी पिंगला पाण्डे (राधा)सँग वैवाहिक बन्धनमा बाँधिएका घिमिरेले ज्येष्ठ सुपुत्र नितिन जन्मिदाको क्षणलाई आफ्नो खुसीको क्षणको रूपमा लिने गर्दछन् । नितिन २०६१ साल फागुन ११ गते घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (तत्कालिन महेन्द्र अस्पातल) मा जन्मिएका थिए । नर्मल डेलीभरी नभएपछि पिंगलालाई अस्पताल लगिए पनि चिकित्सकको आन्तरिक कलहका कारण हेर्न मानेका थिएनन् तर बच्चा नर्मल नजन्मिदा अप्रेसन गर्नु पर्ने थियो । त्यो बेला चिनजान पनि भएको र आफ्नै ठाउँको भएकाले अस्पतालमा कार्यरत डा. प्रमोद रेग्मीले हेर्दिनु भयो र सफल अप्रेसन भयो र मैले आमा र बच्चा दुवैलाई सुरक्षित पाउन सफल भए, त्यो क्षण मेरो जीवनको खुसीको क्षण हो ।
विगत स्मरण गर्दै घिमिरे भन्छन्, ‘अस्पतालमा कार्यरत चिकित्सको आपसी कहलका कारण समयमै अप्रेसन नहुँदा श्रीमती र बच्चाको जे पनि हुन सक्ने अवस्था थियो । त्यो अवस्थामा डा.प्रमोद रेग्मीले हेर्दिनु भयो र सफल अप्रेसन भयो । अप्रेसनपछि आमा र बच्चा दुवैलाई जीवित पाउँदा अत्यन्तै खुसी भएको थिए, जुन क्षण शब्दमा वर्णन गर्न सकिँदैन ।’ उनै छोरा नितिन अहिले काठमाडौँस्थित हिकाष्ठ कलेजमा पशु भेटनरी डाक्टर अध्ययनरत छन् । घिमिरे दम्पतिका दुई छोरामध्ये कान्छो छोरा निश्चल बुटवलस्थित कालिका मानव ज्ञान माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत रहेका छन् । सिटिईभिटिइ कर्मचारी संघको केन्द्रीय उपाध्यक्ष समेत रहेकी पिंगला पाण्डे घिमिरे सिटिईभिटिई लुम्बिनी प्रदेश कार्यालय बुटवलमा कार्यरत छिन् ।
२०३१ साल माघको १ गते बुबा नारायणप्रसाद घिमिरे र र आमा मनिका घिमिरेको जेष्ठ सुपुत्रका रूपमा घोराही उपमहानगरपालिका–१५ सुपरलज टोलमा जन्मिएका गोपालप्रसाद घिमिरे दाङ निर्माण व्यवसायी संघको कार्यवाहक अध्यक्ष समेत भएर काम गरिसकेका छन् । घिमिरेका भाइ रामप्रसाद घिमिरे र बहिनी सुशीला घिमिरे रहेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय तालिम अनुसन्धान तथा निर्माण समिति सदस्य समेत रहेका घिमिरे दाङ निर्माण व्यवसायी संघको संस्थापक सचिव नेपाल तरुण दल दाङको जिल्ला कोषाध्यक्ष, नेपाली कांग्रेस घोराही नगर कार्यसमिति सदस्य, आर्थिक पत्रकार समाज दाङको संयोजक, त्रिभुवननगर जेसीज, नेपाल प्रेस युनियनलगयात विभिन्न संघसस्थामा आवद्ध भएका छन् । प्रस्तुती : लीलाधर वली