नारायणप्रसाद श्रेष्ठ
ऐना झुठ बोल्दैन । उसले जे छ त्यही देखाउँछ । कालो, गोरो, सफा, फोहर जे छ त्यहीलाई प्रष्ट्याउँछ । यदि ऐना भएर प्रदर्शन हुने जीव सफा र शुद्ध छ भने उसले त्यही अरुलाई अनुभूति गराउँछ । उ बनावटी र आडम्बर छदम्भेषलाई जान्दैन । ऐना भौतिक युगको सत्य हो । यसले बाह्य आवरण र गतिविधिलाई मात्र देखाउँछ । उसको आन्तरिक भावना र क्षमतालाई बुझ्ने क्षमता हुँदैन । उ देखेको सत्यलाई मात्र जान्दछ । उ जे देखाउँछ सत्यमा आधारित भएर देखाउँछ ।
ऐनामा छलछाम, भेदभाव हुँदैन । मानव निर्मित भएर पनि उ सधैँ सत्यको पथमा अग्रसर भइरहन्छ । तसर्थ मानव जीवन पनि ऐना सरह भएकोले यसले जे देखाउँछ, व्यवहारमा जे परिणत गर्दछ, जे भन्छ त्यो समाजको लागि परम्परा बन्छ । समाजलाई कुन गतिमा लैजाने वा नलैजाने यो उसको आचरण, व्यवहार र चरित्रमा निर्भर रहन्छ । मानिस स्वयम् सामाजिक प्राणी भएकोले पनि उसले गर्ने हरेक क्रियाकलापबाट समाज प्रभावित भइरहेको हुन्छ । लटरम्म फलले निहुरिएको वृक्षले जसरी आफूले बोझ बोकेर पनि दुनियालाई नयाँ विचार र सन्तुष्टिको आभाष दिइरहेको हुन्छ ।
त्यसैगरी मानव आचरण र व्यवहारले पनि जीवन र जगतको बारेमा आफ्नो सगुन साकार विचारहरु प्रस्तुत गरिरहेको हुन्छ । प्यासीको प्यास मेटाउने कार्य गरिरहनु पर्दछ । आफूसँग भएको गुणको भण्डारलाई अरुको सेवा र सत्कारमा प्रयोग गर्ने चेष्टा गर्नु मानवीय चरित्र भएकोले अन्तरहृदयभित्रको पवित्रतालाई समाज उत्थान र सकारात्मक सोच भएर प्रस्तुत हुने अभ्यास गर्नुपर्छ । किनकि जीवनको सफलताको आधार भनेको नै उसको आचरण, कर्म, व्यवहार र विचार हो ।
जहाँ स्वच्छ विचार प्रदान भएर मानवीय आचरण प्रदर्शन हुन्छ त्यहाँ सामाजिक परम्परा र संस्कारमा नयाँ गोरेटो निर्धारण हुन्छ । संस्कृति र संस्कारमा सेवा र समर्पणमुखी भाव देखा पर्ने स्थिति रहन्छ । जुन चरित्र र संस्कृतिले समाजलाई आदर्श गतिमा अभिमुखी गराउँछ त्यही कर्मभित्र उसको आचरण र व्यवहार प्रष्टिएको हुन्छ । तसर्थ, मानवीय आचरण प्रशंसामा होइन सेवामा रमाउनु सिक्नु पर्दछ । परिस्थिति जतिसुकै अप्ठ्यारो वा सप्ठ्यारो होस्, त्यसबाट आत्तिनु हुँदैन ।
किनकि परिस्थितिको जिम्मेवार मानिस स्वयम् भएकोले यो घटनाको कारक आफैलाई सम्झी आफैबाट जिम्मेवारीबोध गर्ने वातावरण आफैले बनाउनु पर्छ । हामीले हाम्रो आचरण र व्यवहारमा जे जस्तो किसिमले आफूलाई प्रस्तुत गर्छौ हाम्रो प्रवृति त्यतैतिर आकर्षित भइदिन्छ अनि त्यही प्रवृति हाम्रो लागि जटिल समस्याको रुपमा प्रस्तुत हुँदै जान्छ । भौतिक आडम्बरले श्रृंगारिएको क्षणिक वासनामा डुबुल्कि मारिरहने हाम्रो सोच आफैमा अभिसाप बन्न पुग्छ । त्यसैले आफूभित्र रहेको दिव्य शक्तिलाई पहिचान गरी शान्ति र स्वतन्त्रता आफैभित्रको उर्जा हो भन्ने बुझी आफूलाई प्रस्तुत गर्नुपर्छ । जसरी ऐनाले आफूलाई निष्कलंकित बनाई अरुलाई स्पष्ट र सही भएर अगाडि आउन भनिरहन्छ त्यसरी नै आफू पनि सामाजिक ऐना बनेर संस्कार र परम्परागतलाई आदर्श समाज उन्मुख बनाउने आचरणतर्फ लागिरहनु पर्दछ र सोही अनुकुल चिन्तन गरिरहनु पर्दछ ।
वर्तमान भौतिक उन्नतिले मानवीय आचरण र व्यवहारमा मानिसलाई विलाशीतर्फ धकेलिरहेको छ । निहित स्वार्थको लागि आध्यात्मिक सत्यलाई काल्पनिक भनेर टार्ने कोशिस गरिँदै छ । राम्रो काम गर्नेलाई रोक्ने र नराम्रो काम गर्नेलाई प्रोत्साहन दिएको अवस्था छ । जीवन सुख र दुःखको यात्रा हो भनी सुखको अभिलाषाले अनावश्यक झमेला व्यहोरी दुःखलाई निम्त्याइरहेको छ । आफूभित्रको शक्तिलाई नबुझि आफै विनाशको बाटो समाउन बाध्य बन्दै छ । यस अवस्थामा हाम्रा विचारहरु डग्मगाउन सक्छन् ।
सत्य अल्मिलिन सक्छ । तसर्थ जीवनको उद्देश्य खुसी मात्रै होइन यसले अरु जिम्मेवारी पनि बोकेको छ भनेर अवसरको रुपमा प्राप्त जीवनको उद्देश्यलाई आध्यात्मिक र भौतिक मान्यताको आधार खोजी मानव आचरण प्रदर्शन गर्नु पर्दछ । किनकि मानिसको जीवन हिरा हो । जसले काट्न, चम्किन दुवै जान्दछ । यही हिरा मानिसको सौन्दर्य रस प्रधान भएर देखा परेको हुन्छ भने यही हिरा मानिसको अन्तिम गन्तव्य पनि बन्न सक्छ ।
त्यसलै प्रेम सरोबर जीवन डुंगालाई सहजै अर्को किनारा लगाउन आँखाले देखेको सत्यभित्र पनि केही लुकेको छ भनी बुझ्नु र जान्नु पर्दछ । हरेक व्यक्तिको मनमा राम र रावण दुवै भएको सत्यलाई बुझ्नु पर्दछ । त्यही अनुकुल आफूलाई अघि बढाउनु पर्छ । काम, क्रोध, लोभ, मोह र अहंकार मानिसको दृष्टिकोणबाट उत्पन्न हुने प्रवृति हुन्, त्यसलाई बुझ्न सक्नुपर्छ ।
मिठो बोल्ने र शान्त स्वभावको व्यक्ति कहिल्यै हार्दैन । उ न त खुसीमा रमाउने गर्छ न त दुःखमा शोक नै गर्दछ । उ केवल जीवनको सत्यलाई बुझ्दछ । ऐना भएर आफूलाई हरहमेसा प्रस्तुत गरिरहेको हुन्छ । उ जय, पराजय जान्दैन, उसको उद्देश्य भनेको जीवनलाई सहज अवतरण कसरी दिन सकिन्छ ? पाप र पुण्यको साक्षी भएर सामाजिक संस्कारलाई कसरी आदर्श बनाउन सकिन्छ भन्ने त्यसतर्फ उसको चिन्तन हुन्छ ।
उ खुसीको लागि काम गर्दैन, खुसी भएर काम गर्दछ । खुसीको लागि काम गरियो भने खुसी नमिल्न सक्छ भन्ने उ राम्रैसँग बुझ्दछ । उ सधै आफ्नो जीवनको हरेक क्षणमा अरुको खुसी चाहन्छ । ताकि उसको अन्तरहृदयभित्र सधैँ सुख र सफलता दुवै मिलोस् । खुसी आउँदा मानिस जति आनन्दित हुन्छन् त्यति नै सुख र खुसी भाग्दा उसलाई आनन्द हुँदैन । उ आउने जाने हरेक क्षणमा आफूलाई खुसी मात्रै चाहन्छ । त्यसैले वास्तविक खुसी मनमा धारण गरेर अरुको सेवा र सम्मान गर्न सिक्नु पर्छ । स्वयम्लाई स्वयम्को परिचय बनाउने विचारको सर्जक बन्नु पर्दछ ।
हरेक व्यक्ति आफैमा अतुलनीय छ । उ परिश्रम गर्न जान्दछ । उ आफूलाई कसरी सन्तुष्टि गराउने त्यो कुरा पनि बुझ्दछ । परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा पनि जान्दछ । परिश्रमबाट प्राप्त उपलब्धी नै उसको सुखद् क्षण हो भन्ने कुरा पनि बुझ्दछ । त्यसैले उ सधै परिश्रमी बनौँ, दृढसंकल्प भएर आफूलाई प्रस्तुत गरौँ भन्ने कुरामा लागिरहन्छ । यस कारण जीवनलाई पाप र पुण्यको साक्षी भएर अगाडि बढाउन सिकौँ र सिकाऔँ । गलत कार्य आफैमा खराब हो । पाप खराबै हुन्छ तर यदि पुण्य गर्छु भनी अहंकारवस कुनै कार्य गरियो भने त्यो पनि खराबै हो । त्यसको लागि जीवनलाई गुनासोरहित बनाउनु पर्छ ।
तुलना र आलोचना जीवन होइन । दास भएर सधैँ पिल्सिनु यो पनि जीवन होइन । सधैँ तृष्णा, अपेक्षा, इच्छाको जञ्जीरमा बाँधिनु तथा दुःख, निराशा, पीडा, शोक यो जीवनको उद्देश्य पनि होइन । जीवन त आफैमा हिरा हो । यसलाई बुझि जीवनलाई गतिशील बनाउनु पर्छ । इच्छा शक्तिबाट निस्किएका जति पनि गलत कर्म छन् ती कर्महरुले रोपिएका कलुषित वीजहरुलाई पहिचान गर्न सक्नु पर्छ र काम, क्रोध, लोभ, मोह र अहंकार कलुषित वीज हुन्, यो कुरा स्वीकार्नु पर्छ ।
हरेक घटनाको जिम्मेवार म आफै हो, मलाई कसैको बदनाम गर्नु छैन, तथा अरुको सेवामुखी कार्यमा हष्तक्षेप गर्नु पनि छैन, जे हुन्छ राम्रैको लागि हुन्छ, जे भएको छ राम्रैको लागि भएको छ भन्ने बुझि परिणाम आफ्नै कर्मले ल्याएको परिणति हो भन्ने ठानी गलत वातावरण आउनै नदिन आफूलाई ऐना सरह प्रयोग गर्नुपर्छ । मेरो विचार मेरो आफ्नै रचना हो, जुन रचना भौतिकवादी चिन्तनको कारणले उत्पन्न भएको छ, म त्यसलाई कदापि अगाडि बढाउन दिन्न भन्ने दृढ संकल्प गरी विचारमा सेवा र समर्पण भाव जगाई दया, करुणा र क्षमाको भागिदारी आफै बन्नु पर्छ । म मेरो विचारको मालिक हुँ, म सधैँ आशावादी छु, म जुनसुकै बेला, जस्तोसुकै परिस्थितिमा पनि म भित्रको कलुषित विचार म आफै खतम गर्छु, रोक्छ, मोड्न सक्छु भनी विचारमा दृढता हुनु पर्छ ।
मलाई जुन कुराले चुनौती दिएको छ त्यसैले अवसर सिर्जना गर्दछ भन्ने मान्यता राखी अरुसँग आफूलाई तुलना गर्नुभन्दा आफू ऐना भएर प्रस्तुत हुनु पर्दछ । आध्यात्मिक सत्यले देखाएको बाटोलाई हृदयगम गरी भौतिक युगको चकाचौधलाई बुझ्नु पर्छ । आध्यात्मिक सत्यले स्वीकारेको पापात्मा, पुण्यात्मा, धर्मात्माभन्दा माथि परमपिता परमात्मा जो निरगुण निराकार छ, जसले दिन जान्दछ त्यस्तो मान्यता राखी आफूलाई प्रस्तुत गर्नुपर्छ । अल्पज्ञानीले आफ्नै छायाँलाई भूत सम्झन सक्छ । बाटोमा राखिएको डोरीलाई सर्प सम्झी विछुट्टिन खोज्छ । त्यस्तो मानव प्रवृत्तिलाई हटाई ऐना सरह आफ्नो बानी र व्यवहार र विचारलाई परिस्कृत गरी हिरातुल्य जीवनको महत्व बुझी संस्कार र संस्कृति बसाउन हामी सबै लागौँ । यो वर्तमानले खोजिरहेको छ ।