टेकबहादुर पुन
देउखुरी, ६ फागुन । देउखुरीमा रहेका धार्मिक क्षेत्रमध्य एक हो टेङ्नैया बाबा । लमही बजारदेखि १० किलोमिटर पश्चिम निम्बुखुटीदेखि ४ किलोमिटर उत्तरी पहाडी फेदमा अवस्थित टेङ्नैया बाबा लमही नगरपालिका वडा नम्बर ८ अन्तर्गत पर्छ । टेङ्नैया बाबाको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । दैनिकजसो भक्तालुहरू पूजापाठमा जाने गर्दछन । धार्मिकसँगै पर्यटकीय क्षेत्र रहेकाले पनि विद्यार्थी अवलोकनमा उल्लेख्य रूपमा आउने गर्दछन् ।
मन्दिरको दर्शन तथा पूजापाठले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यहाँ मन्दिर वरिपरि रहेको पानीले थप सौन्दर्य बढाएको छ । पानी कहिल्यै नसुक्ने भएकाले पनि यस क्षेत्रलाई जलाधार क्षेत्र मानिन्छ । यस क्षेत्र धार्मिक इतिहाससँग जोडिएको जानकार बताउँछन् । परापूर्वकालमा पाँच पाण्डव स्वर्ग जाने क्रममा रिहार हुँदै यस क्षेत्रमा विश्राम गरी घोराही स्थित धारापानी हुँदै स्वर्गद्वारी पुगेको धार्मिक किम्बदन्ती छ ।
प्रत्येक सोमवार भक्तजनले दर्शन गर्ने र भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहँदै आएको छ । स्वर्गीय लीलामणि शर्माले रिहार धामबारे किताब लेख्दा टेङ्नैयाबारे पनि समावेश गरेका थिए । अहिले लमही नगरपालिकाले पनि ४ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रममा टेङ्नैयाको इतिहास समावेश गरेको छ । यहाँ महाशिवरात्रीको अवसरमा मेला पनि लाग्ने गर्दछ । त्यसकै तयारीका लागि यहाँका मन्दिर चिटिक्क पारिएका छन् । यहाँ रहेका शिवजी, टेङ्नैया बाबा, गणेश मन्दिर, गुफा मन्दिर तथा अन्य संरचनामा रँगरोगन गरी शृङ्गारिएको छ ।
जङ्गली, पहाडी बाटो भएकोले बर्सेनि यहाँको बाटोमा वर्षाले क्षति पु¥याउँछ । मेलालाई मध्यनजर गरी बाटो मर्मत तथा चख्ल्याउने काम भएको छ । बाटोकै कारण धेरै सङ्ख्यामा भक्तालु आउन सकिरहेका थिएनन् । टाढाबाट घुम्न आउने बाटो राम्रो नभएको भन्दै उतै रोकिने अवस्था थियो । टेङ्नैयाको प्रचारका लागि बाटो नै समस्याका रूपमा खडा भएको थियो । अहिले भने मेलालाई लक्षित गरी बाटो सम्याउने र चख्ल्याउने काम भइसकेको छ । कच्ची भए पनि बस जान सक्ने गरी बाटो चख्ल्याउने काम भएको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष दीकपाल योगीले बताए ।
’टाढाबाट आउनेहरू बाटोको कारण देखाउँदै यहाँसम्म आउन सक्ने स्थिति थिएन, हिँडेर आउन सक्ने चाहिँ आइराख्नु हुन्थ्यो’, अध्यक्ष योगीले भने, ‘अब भने बस जान सक्ने गरी बाटो बनेको छ, पक्की सडक बनाउनतर्फ सरकारले ध्यान दिए टेङ्नैयाको विकासले फड्को मार्ने थियो ।’ टेङ्नैया जाने बाटो बर्सेनि सफा गर्नु पर्छ । अहिले भने बस जाने गरि चख्ल्याउने काम भएको छ । टेङ्नैयाको दर्शनका लागि समितिले सबैमा अनुरोध गरेको छ । समितिले बाटो फराकिलो बनाएसँगै टेङ्नैयामा भक्तालुको सङ्ख्या बढ्न सक्ने विश्वास गरिएको छ । मानिसका आस्थासँग जोडिएका धार्मिक क्षेत्रलाई सरकारले ध्यान दिए सजिलै विकाश गर्न सकिने अध्यक्ष योगीको बुझाइ छ ।