उच्च आवेगले जन्माउँदै अपराध, छैन तनाव हटाउने मनोपरामर्श

खेमराज रिजाल÷देवेन्द्र बस्नेत
दाङ, ६ फागुन । बुधवार राति (श्रीमान्) सहायक प्रहरी हवल्दार यामबहादुर झाँक्रीले (श्रीमती) प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या गरे । प्रहरी नियन्त्रणमा रहेका झाँक्रीले दिएको बयान अनुसार उनीहरूबिच विगत दुई महिनादेखि राम्रो सम्बन्ध थिएन । सामान्य घरझगडाले सम्बन्धविच्छेदको रूप लिने अवस्था भयो । धनमायाले जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि मानसिक रूपमा विक्षिप्त बनेका झाँक्री हत्या गर्ने योजनामा पुगेको र गोली हानेको बयान प्रहरी समक्ष दिएका छन् ।

घोराहीको दामोदर चोकमा भएको यो भयावह घटनालाई हेर्दा उच्च आवेगको परिणाम मान्न सकिन्छ । ‘यो घटना उच्च आवेगले निम्त्याएको पनि हुन सक्छ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डिएसपी जनकबहादुर मल्ल भन्छन्, ‘यो आवेगबाट उसलाई रोक्ने कुनै उपाय सुझाइएको भए यो घटना नहुन पनि सक्थ्यो होला ।’ त्यसो त झाँक्रीले आफूभित्र रहेको तनाव कसैलाई भने÷नभनेकोमा भर पर्ने डिएसपी मल्लले बताए । ‘उसले आफ्ना साथीहरूलाई आफू तनावमा हुनुको कारण सुनायो कि सुनाएन भन्ने पनि प्रमुख कुरा हो’, उनले भने, ‘यदि मलाई यस्तो भएको छ भनेर भन्दै नभनेपछि उसलाई कसरी काउन्सिलिङ गर्ने ?’

जिल्लामा प्रहरीबाटै हत्या भएको यो घटना मात्रै होइन, केही दिन अघिको घटना पनि उच्च आवेगले जन्मायो । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले माघ २१ गते श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्तको हत्या गरे । पिमलालले पनि आफू लामो समयदेखि पारिवारिक तनावमा रहेको र हत्या गर्ने निर्णयमा पुगेको प्रहरी समक्ष बयान दिए तर पिमलालले आफूलाई के तनाव भएको भन्नेबारे भने कसैलाई पनि भनेका थिएनन् । ‘पहिला उसले कुनै पनि कुरा भनेन’, जिल्ला प्रहरी कार्यालयका एक जवानले भने, ‘पछि आफूूलाई तनाव दिइएको र हत्या गरिदिएको भनेर हामीलाई भन्यो ।’

प्रहरीको जागिर, दौडधुपले थकान अनि पारिवारिक समस्याले प्रहरी मानसिक रूपमा विक्षिप्त हुन्छन् । फलतः यसको परिणाम जघन्य अपराधसम्मै पुग्ने गरेको जानकार बताउँछन् । यसर्थ नेपाल प्रहरीभित्र पनि नियमित मनोपरामर्शको आवश्यक देख्छन्, जानकारहरू । ‘कतिपय यस्ता घटना आपराधिक मानसिकताले नियोजित रूपमै हुने गर्छन्, यस्ता क्रिमिनल माइन्डेड भएकालाई त परामर्शले काम गर्ने कुरा भएन तर कतिपय क्षणिक आवेगले यस्ता घटना भएका हुन्छन्’, डिएसपी मल्ल भन्छन्, ‘यस्ता क्षणिक आवेगले हुने घटना रोक्न सकिने एउटा पाटो भनेको मनोपरामर्श हो, यसको आवश्यकता प्रहरीभित्र मात्र नभई हरेक क्षेत्रमा छ ।’

कस्तो काम गरिनु पर्छ, कस्तो काम गरिनु हुँदै वा मानसिक तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञानको आवश्यकता प्रहरी संगठनभित्र पनि रहेको डिएसपी मल्लले बताए । ‘हामीले जिल्लाको हकमा कोही प्रहरीलाई कुनै कारण मानसिक समस्या परेको छ भने उसलाई शान्त राख्न बोलाएर काउन्सिलिङ गर्ने काम गरिरहेका छौँ’, डिएसपी मल्लले भने, ‘तर सबैले सहजै आफूलाई परेको समस्या भनिहाल्ने बानी हुँदैन, समस्या शेयर भएन भने उसको के समस्या छ भनेर कसरी पहिचान गर्ने ? समस्या परेको प्रहरीलाई त हामीले सम्झाइरहेका हुन्छौँ, यसका साथै बेलाबेलामा हामीले गर्न हुने र गर्न नहुने कामबारे प्रहरीहरूलाई छलफलका माध्यमबाटै जानकारी गराइरहेका हुन्छौँ ।’ जिल्लामा प्रहरीबाट भएका हत्याका दुई घटनाले प्रहरीलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक बनेको भन्दै यसको न्यूनीकरणका लागि मनोपरामर्शलाई जोड दिनु पर्ने डिएसपी मल्ल बताउँछन् ।

नेपाल प्रहरीका पूर्व नेतृत्वकर्ता पनि प्रहरी संगठनभित्र मनोपरामर्श निरन्तर रूपमा दिनु पर्ने आवश्यकता देख्छन् । यसका लागि गृहमन्त्रालय र प्रहरी प्रधानकार्यालय गम्भीर बन्नु पर्ने पूर्व प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली बताउँछन् । के गर्ने, के–के नगर्ने भन्ने विषय र त्यसको कानुनी उपचारका विषयमा पनि गृहमन्त्रालय गम्भीर हुनु पर्ने पूर्व प्रहरी प्रमुख ज्ञवालीको आशय थियो । ‘तर अहिले यो हामीलाई सोध्नु भन्दा पनि गृहमन्त्रालयका प्रवक्तालाई सोध्नु उपयुक्त हुने छ’, अहिले मेरो अभिव्यक्तिले कुनै अर्थ राख्दैन, पूर्व प्रहरी महानिरीक्षक ज्ञवालीले भने ।

मनोचिकित्सकले पनि हत्यासम्मका सबै घटना मानसिक रोगकै कारण हुने भनेर मान्न नसकिने भए पनि क्षणिक आवेगमा हुने घटनालाई रोकथाम गर्न मनोचिकित्सा अपरिहार्य रहने बताउँछन् । प्रहरीको तर्फबाट भएका दुई घटनाका सन्दर्भमा मनोचिकित्सक डा. अरविन्द भुसालले परिवारकै सदस्यको हत्या गर्नेसम्मको घटना कसरी भयो ? भन्ने विषय गम्भीर रहने बताए । पारिवारिक तनावकै कारण हत्यासम्मकै योजना गरिहाल्ने अवस्था गम्भीर हुने भन्दै उनले यसलाई क्षणिकको उच्च आवेगका रूपमा अथ्र्याए ।

श्रीमतीले डिभोर्स केस दर्ता गराएको भए पनि उसलाई डिभोर्स हुँदैमा अगाडि÷पछाडि कोही नहुने भन्ने होइन भनेर उसलाई मनोपरामर्श दिइनु पर्छ’, डा. भुसालले भने, ‘म सकिन्छु भने अर्कोलाई पनि किन बाँच्न दिने भन्ने जुन खालको गलत छाप दिमागमा बस्छ अनि उच्च आवेग जन्मन्छ र यसले ठुलो दुर्घटना निम्त्याउँछ, यो भनेको मानसिक समस्याले निम्त्याउने परिणाम हुन्छ ।’ प्रहरीको ड्युटी, कामको चाप, दौडधुप अनि परिवारदेखि टाढा रहेर बस्नु पर्दाको तनावले उनीहरूलाई मानसिक रूपमा विक्षिप्त बनाइरहेको हुन्छ ।

यो बेलामा उनीहरूलाई मनोपरामर्शको अधिक आवश्यक पर्ने डा. भुसाल बताउँछन् । ‘प्रेसरमा काम गर्नु पर्ने निकायका रूपमा प्रहरी संगठन पनि हो, यस्ता प्रेसरमा काम गर्नु पर्ने निकायका प्रतिनिधिहरूलाई अधिक मानसिक तनाव हुन्छ’, उनले भने, ‘यस्ता निकायमा कम्तिमा महिनामा एक पटक मनोपरामर्शकर्तासँग सल्लाह, छलफलजस्ता कार्य गराइनु पर्छ, ता कि त्यहाँ काम गर्नेलाई तनावमुक्त हुनमा सहयोग मिलोस् ।’

छानवीन समिति गठन भइसकेको छः डिआइजी कडायत
बुधवार भएको हत्या घटना सम्बन्धमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख कुवेर कडायतले भने बन्दुक चलाउने प्रहरीलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरिसकेको बताएका छन् । गोली हान्ने प्रहरी कर्णाली प्रदेशको दरबन्दीमा रहेका प्रहरी तालिम केन्द्रमा रहेकाले कर्णाली प्रदेशबाटै छानवीन समिति गठन भएको पनि उनले बताएका छन् । प्रहरीले यसलाई पारिवारिक कन्फ्लिक्ट भनेको छ तर नेपाल सरकार गृहमन्त्रालयको माताहतको तालिम केन्द्रबाट हतियार प्रहरी जवानले किन सहजै बाहिर लगेर आफ्नै श्रीमतीको हत्या गरे भन्ने सन्दर्भमा भने लुम्बिनी प्रहरी प्रमुखले केही बताउन चाहेनन् । ‘उनी हाम्रो मातहतको कार्यालयका थिएनन्, तैपनि अनुसन्धानलाई सहयोग गर्न हामी सधैँ तयार छौँ, जुन काम भयो, त्यसले हामीलाइ पनि गम्भीर बनाएको छ’, डिआइजी कडायतले भने ।