गोरक्ष समाचारदाता
दाङ, ६ फागुन । देशमा राजनीतिक उपलब्धि प्राप्त भए पनि प्रजातन्त्रको सही अभ्यास हुन नसक्दा विकास हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । प्रजातान्त्रिक विचार समाज दाङले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिवार घोराहीमा आयोजना गरेको ‘वर्तमानमा प्रजातन्त्रको अभ्यास’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले प्रजातन्त्रको मूल्य र मान्यता अनुसार राजनीतिक दल चल्न नसक्दा अहिले देशको अवस्था कमजोर बन्न पुगेको बताएका हुन् ।
जनताको सङ्घर्षबाट प्राप्त प्रजातन्त्रको संस्थागत विकाससँगै राष्ट्र र राष्ट्रियताको सवालमा प्रमुख राजनीतिक दलहरू एक ठाउँमा हुनु पर्ने भए पनि दल स्वार्थकेन्द्रित बन्दा अहिले देशको अवस्था कमजोर बन्न पुगेको बताए । राष्ट्र र राष्ट्रियता कमजोर हुँदा जनतामा निराशा, युवाशक्ति दिनहुँ विदेश पलायनसँगै भएका उद्योग व्यवसायसमेत बन्द हुँदा देशको आर्थिक अवस्था समेत कमजोर भएको भन्दै यसको मुख्य कारण सङ्घीय लोकतान्त्रिक व्यवस्थाको सही कार्यान्वयन हुन नसक्नु रहेको वक्ताले बताए ।
कार्यक्रममा बोल्दै पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माले राजनीतिक परिवर्तनका लागि दल सफल भए पनि व्यवस्था कार्यान्वयनमा असफल बन्दा देशको अवस्था कमजोर बन्न पुगेको बताए । राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापनादेखि सङ्घीय लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि जनताले त्याग र सङ्घर्ष गरे पनि त्यसको जनताले सही अनुभूति गर्न नसकेको शर्माले बताए । २००७ सालको क्रान्तिलाई स्मरण गर्दै कार्यक्रमका प्रमुख अतिथि शर्माले भने, ‘राणा शासनको अवस्थामा जनतालाई बोल्ने छुट थिएन, २००७ सालको क्रान्तिले जनतालाई काँचुली फेर्ने अवस्था प्राप्त भयो । त्यसपछि भएका अन्य क्रान्तिले गर्दा अहिलेको सङ्घीय लोकतान्त्रिक व्यवस्था प्राप्त भयो ।
यो देश र जनताका लागि राम्रो उपलब्धि हो तर जनताले उपलब्धिको महसुस गर्ने अवस्था भएन । जसले गर्दा जनतामा निराशा छ, यसको मुख्य कारण भनेको दल स्वार्थकेन्द्रित हुनु हो ।’ शर्माले प्रमुख दलहरू राष्ट्र र राष्ट्रियताको सवालमा एक ठाउँमा आउन नसक्दा देश अन्तर्राष्ट्रिय शक्तिको घेराबन्दीमा पर्ने अवस्था सिर्जना भएको बताएका थिए ।
कार्यक्रममा प्राध्यापक डा विनबहादुर वलीले मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने सामथ्र्य राजनीतिक शक्ति र नेतृत्वमा हुने भए पनि राजनीति नेतृत्व सिद्धान्त, निष्ठा र समाजको हितभन्दा पनि पार्टी र व्यक्तिगत स्वार्थ केन्द्रित बन्दा जनताले उपलब्धिको महसुस गर्न सक्ने अवस्था नआएको बताएका थिए । देशको संविधानसँगै दलको मूल उद्देश्य नै प्रजातान्त्रिक समाजवाद उन्मुख भए पनि आफ्नै पार्टीको मर्म, सिद्धान्त र नीति अनुसार चल्न नसक्दा जनता उत्साहित हुने अवस्था सिर्जना नभएको बताए । देश कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो भन्दै कार्यक्रमका टिप्पणीकार वलीले प्रजातन्त्रलाई बलियो बनाउन दलहरू आफ्नो लक्ष्य र उद्देश्य अनुसार समावेशी र समतामूलक समाज निर्माण गर्न अघि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले देश र जनताको विकासका लागि राजनीतिक दलले दलगत स्वार्थभन्दा माथि उठेर प्रजातन्त्रलाई बलियो बनाउन दलहरू लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा एमालेका घोराही नगर इञ्चार्ज गेहेन्द्र बस्नेत, नेकपा माओवादी केन्द्र दाङका जिल्ला सचिव विश्वराज आचार्य, सहभागी मधुसूदन गौतम, सुन्दर गौतम, कमलमणि देवकोटा, तिलक केसी, दामोदर खनाल, डा लोकराज पराजुली, ललित केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रजातान्त्रिक विकास समाज दाङका उपाध्यक्ष रेशमराज गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समाजका सचिव केदार पाठकले गरेका थिए । कार्यक्रममा राजनीतिक दलका नेता, नागरिक समाज, कानुन व्यवसायी, विद्यार्थी, पत्रकार, पताञ्जली योग समितिलगायतका विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो ।