शिक्षा जीवनको अभिन्न अङ्ग हो : न्यायाधीश शर्मा

अमरराज आचार्य
दाङ, ६ फागुन । जिल्ला न्यायाधीश ताराकुमारी शर्माले शिक्षा जीवनको ज्योति भएकोे बताएकी छन् । मानिसको जीवन सफल बनाउन शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै शिक्षा जीवनको अभिन्न अङ्ग भएको उनको भनाइ छ । घोराही स्थित राजविद्या पाठशालाको चौथो वार्षिकोत्सवको उद्घाटन गर्दै उनले शिक्षाको थप गुणस्तरीयतामा सबैले जोड दिनु पर्ने अवस्था रहेको बताइन् । ‘शिक्षा जीवनको ज्योति हो, जीवन सफल बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ’, उनले भनिन्, ‘शिक्षालाई थप गुणस्तरीय कसरी बनाउने भन्नेबारे अब हरेकले सोच्नु पर्ने बेला भएको छ ।’

बालबालिकालाई विद्यालयमा सिकाइको उचित वातावरण निर्माण गरिनु पर्ने भन्दै उनले विद्यालयमा सिकाइका लागि उचित वातावरण निर्माण गर्न सकिएन भने सिकाइ प्रभावकारी नहुने समेत बताइन् । ‘विद्यालयमा बालबाललिकालाई प्रभावकारी रूपमा शिक्षा दिन सिकाइको उचित वातावरण निर्माण गरिनु पर्छ’, उनले भनिन्, ‘यदि विद्यालयमा सिकाइको उचित वातावरण भएन भने बालबालिकाले प्रभावकारी रूपमा सिकाइ गर्न सक्दैनन् ।’ विद्यालयले नै बालबालिकाको भविष्य निर्धारण गर्ने भन्दै उनले हरेक क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने आधारस्तम्भ विद्यालय भएको बताइन् । त्यसैले दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले महत्वपूर्ण भूमिका खेल्नु पर्ने उनको भनाइ थियो । ‘हरेक क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने पहिलो थलो भनेकै विद्यालय हो’, उनले भनिन्, ‘विद्यालयले दिने सिकाइले नै हरेक क्षेत्रमा दक्षता राख्न सक्ने जनशक्ति तयार हुने हो, त्यसैले विद्यालयले दिने शिक्षाले नै हरेक क्षेत्रको विकासको आधारस्तम्भ तयार गर्ने हो ।’

कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष मुधुसूदन केसीले बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन गर्ने खालको वातावरण विद्यालयले निर्माण गर्नु पर्ने बताए । हरेक बालबालिकामा कुनै न कुनै अन्तरनिहित क्षमता रहने भन्दै विद्यालयले बालमैत्री वातावरण निर्माण गर्न सके बालबालिको सिकाइ फलदायी हुने उनले बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए । उनीहरूले संस्कारसहितको शिक्षामा जोड दिन विद्यालयलाई सुझाएका थिए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान डिन मङ्गलाकान्त झाँ, अभिभावक सिर्जना श्रेष्ठ, प्याब्सन घोराही नगर समितिका अध्यक्ष वीरेन्द्र चन्द, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, माध्यमिक विद्यालय रझेनाका प्रधानाध्यापक उद्धव न्यौपानेलगायतले भनाइ राखेका थिए ।

विद्यालय सञ्चालक समिति अध्यक्ष आदिम केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रिन्सिपल टीकाजंग विकले प्रस्तुत गरेका थिए । विद्यार्थी अर्पण चौबेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थीहरू आदिश्री केसी र सम्भावना वलीले गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेता, उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।