दाङका मस्जिद र मदरासामा विदेशी भेटिएनन्

दाङ,९ बैशाख । दाङमा रहेका मस्जीद तथा मदरासाहरुमा कोही पनि विदेशी नागरिक नभेटिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । गएको शुक्रवार उदयपुर जिल्लाको एक मस्जीदमा लुकेर बसेका १२ जना मुस्लिम समुदायका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि दाङमा रहेका मस्जीद तथा मदरासाहरुमा अनुगमन गरिएको थियो ।

आइतवार र सोमवार दुई दिन गरिएको अनुगमनका क्रममा जिल्लाका २० वटा मदरासा र २१ वटा मस्जिदमा कुनै बाह्य देशको नागरिकहरु नरहेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले जानकारी दिएका छन । जिल्लामा रहेका मस्जिद तथा मदरासाहरुको अवस्थासँगै बाह्यबाट आएका मानिसहरु रहे नरहेको अवस्थाका बारेमा प्रशासन कार्यालयले अनुगमन गरेको थियो । । ‘अनुगमनका क्रममा जिल्लामा रहेका कुनै पनि मदरासा र मस्जिदहरुमा भारतबाट आएका जमाती र अन्य देशबाट आएका मानिसहरु भेटिएनन्’,उनले भने,‘अहिले मस्जिदमा अजान दिन र नमाज पढ्नका लागि एक दुई जना मौलानाहरु मात्र बस्ने गरेका छन ।’ मदरासाहरुमा मुस्लिम समुदायका बालबालिकाहरुले पढ्ने गर्छन भने मस्जिदमा धार्मिक कार्य हुने गर्दछ ।

जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा नेपाली सेना,मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधिलगायतको सहभागीतामा मस्जिद तथा मदरासाहरुको अनुगमन गरिएको नेपाल मानवअधिकारकर्मी तथा नेपाल मुस्लिम संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इन्चाज साजिदा सिद्धिकीले जानकारी दिएकी छिन । अनुगमन टोलीले घोराहीमा दुई वटा, तुलसीपुरमा तीन वटा,लमहीमा दुई वटा, कोइलावासमा तीन वटा, भालुबाङमा दुई वटा, गढवामा तीन वटा, गंगापरस्पुरमा दुई वटा र शान्तिनगर,कालाकाटे,शान्तिनगर,राजपुर र देवीकोटामा एक–एक वटा मस्जिद तथा मदरासाहरुको अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय दाङका हिमालाल विश्वकर्मा, रिपुमर्दन गण घोराहीका श्याम थापा,मानवअधिकारकर्मी समेत रहेकी नेपाल मुस्लिम संगठनकी केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इन्चार्ज साजिदा सिद्धिकीलगायतको सहभागिता रहेको थियो ।