दाङ,९ बैशाख । खेतमा अहिले काक्रा विक्रिका लागि तयार भैरहेका छन । थोरै–थोरै उत्पादन भएका काक्राहरु गाउँघरसँगै अनलाइनका माध्यमबाट विक्रि हुदै आएको छ । तर ठूलो मात्रामा तरकारी उत्पादन हुदै गर्दा भने युवाहरुमा थोरै चिन्ता पनि छ । पहिलो पटक ठुलो मेहनत र परिश्रम गरेर उत्पादन गरेको तरकारी खेर जान्छ कि भन्ने घोराही उपमहानगरपालिका–१७ बर्गदीमा रहेको दाजुभाई बहुउद्देश्य कृषि फर्मका युवाहरुमा ।

करिव सात विगाह क्षेत्रफलमा लगाएको तरकारी अहिले उत्पादन भैरहेको दाजुभाई बहुउद्देश्य कृषि फर्मका सचिव प्रज्वल डिसीले बताए । उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ को बर्गदीमा रहेको कृषि फर्ममा काक्रा उत्पादन भैरहेको छ । त्यस्तै टमाटर, लौका, सिमी र सिम्ला मिर्चा उत्पादनको तयारीमा रहेको छ । तर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको सम्पुर्ण बजार बन्द रहदा आफुहरुले उत्पादन गरेको तरकारी विक्रिमा समस्या हुने उनी बताउँछन ।

विभिन्न व्यवसायसँगै निजी क्षेत्रमा रोजागरीका क्रममा रहेका पाँच जना युवाहरुले केही माध्यमबाट केही गर्नुपर्छ भन्ने उद्देश्यले संयुक्त रुपमा व्यवसायीक तरकारी खेती गरेको उनले बताए । स्वदेशमा केही गरौ भनेर तरकारी खेतीमा लागेका आफुहरु अहिलेको अवस्थाका कारण मेहनत खेर जाने होकी भन्ने चिन्ता लाग्ने गरेको दाजुभाई बहुउद्देश्य कृषि फर्मका कोषाध्यक्ष उमेश पौडेलले बताए । ‘अहिले थोरै उत्पादन हुने गरेको छ, थोरै उत्पादन गाउँघरसँगै अनलाइनबाट विक्रि गर्दै आएका छौं’,सञ्चालक पौडेलले भने,‘तर भोली ठुुलो मात्रामा उत्पादन हुन थाले भने हामीलाई विक्रि गर्न समस्या हुनेछ ।’ उनले गएको मंसिर महिनादेखि व्यवसाय सुरु गरेको समेत बताए । पाँच जना युवाहरुको लगानी रहेको कृषि फर्ममा उनीहरुले करिव १४ लाख रुपैया लगानी गरेको बताएका छन । कृषि फर्ममा प्रज्वल डिसी, उमेश पौडेल,देवराज रिजाल,हेमन्त भण्डारी र झकप्रसाद रिजालले आफै लगानी लगाएर सुरु गरेको हुन । उनीहरुले आफुहरुसँगै गाउँका धेरै युवाहरुलाई रोजगारी समेत दिने गरेका छन ।
यसैविच दाङ उद्योग बाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेललगायतले कृषि फर्मको अनुगमन गर्दै फर्म सञ्चालन गरेका युवाहरुसँग छलफल गरेका छन । उनले तरकारी व्यवसायमा संलग्न युवाहरुलाई तरकारी विक्रिका लागि पास गराएर सहयोग गर्ने समेत बताएका छन ।