दाङ, ९ बैशाख । स्वर्गद्वारीका गाई बचाउन दाङका युवाहरुले पराल सहयोग गरेका छन् । परालको अभावमा स्वर्गद्वारीका गाई बचाउन समस्या उत्पन्न भइरहेको खबर पाएका युवा व्यवसायीहरुले एक ट्रक पराल, मसुराको भुस र नुन सहयोग गरेका हुन् ।
जिल्लाको घोराहीका रामप्रसाद पोख्रेल, सुरेश घिमिरे, बामदेव भण्डारीलगायतका युवाहरुले आश्रममै पुगेर १ ट्रक पराल, १ ट्याक्टर मसुराको भुस, ५ बोरा बुन सहयोग गरेका हुन् । ‘परालको अभावमा मुलुककै प्रमुख धार्मिक स्थलका रुपमा रहेको स्वर्गद्वारी मन्दिरमा रहेका गाई बचाउन समस्या भएको जानकारी पाएपछि युवाहरुको साझेदारीमा पराल सहयोग गरेका हौं’, व्यवसायी रामप्रसाद पोख्रेलले भने,‘बिगतका वर्षहरुदेखि नै हामीले आश्रमका गाईहरुका लागि पराल सहयोग गर्दै आएका छौं ।’
आफ्नो व्यक्तिगत खर्च कटाएर यस खालका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य समेत रहेका पोख्रेलले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जाने बताएका छन ।