मेरो खुशी : विदेशमा २५ हजार उपहार पाउँदा…
कामप्रतिको विश्वाससँगै मिहिनेत, लगनशीलता र इमान्दारीका कारण व्यावसायिक क्षेत्रमा सफलता हात पारेका व्यवसायी हुन्, छविनारायण गिरी । घोराही बजारदेखि टाढा रहेको ग्रामीण बस्तीको सामान्य परिवारमा जन्मिएर पनि व्यावसायिक उचाइ हासिल गरेका सङ्घर्षका धेरै कथा छन् ।
जीवन सङ्घर्षका क्रममा देशदेखि विदेशसम्म पुगेका गिरीले ओमनको राजधानी मस्कटमा दुई वर्ष फाइभ स्टार होटेलमा काम गरेका थिए । उक्त होटेल तत्कालीन समयमा ओमनका श्रममन्त्रीको थियो । त्यही होटेलमा गिरीले काम गर्दथे । होटेलमा मालिक र उनका छोराहरू आउने जाने क्रम चलिरहन्थ्यो । त्यही क्रममा एक दिन होटेलमा मालिकका छोरा आएका थिए ।
होटेलमा केही समयको बसाइँपछि उनी फर्किए । त्यसक्रममा उनले एउटा कागज खसालेका रहेछन् । उक्त कागज केही होला भनेर मैले होटेलको जिएमलाई दिए । उहाँले होटेल मालिक अर्थात तत्कालीन ओमनका श्रममन्त्रीका छोरालाई दिनु भएछ । उक्त कागज महत्वपूर्ण रहेछ । होटेलमा हराइसकेको सामान भेटाएर दिएपछि मालिक खुसी हुँदै मलाई त्यो बेला २५ हजार रुपैया उपहार दिनु भएको थियो । विगत सम्झँदै गिरी भन्छन्, ‘होटेल भएकाले धेरै मानिस आउने जाने क्रम चलिरहन्थ्यो । हराएको उक्त कागज नभेटिन सक्थ्यो तर मैले भेटाएकाले जिएमलाई दिएका थिए, उहाँले मालिकको छोरालाई दिनु भएछ । हराएको सामान भेटाएर दिएपछि मलाई बोलाएर मालिकको छोराले खुसी भएर २५ हजार रूपैयाँ पुरस्कार स्वरूप दिनु भएको थियो । जुन दिन सम्झँदा अहिले पनि खुसी लाग्ने गर्दछ ।’ यो कुरा २०५५ साल तिरको भएको उनी बताउँछन् ।
त्यसपछि स्वदेश फर्किएका गिरी कामका लागि विदेश गएनन् । बरू आफ्नै ठाउँमा व्यवसाय गर्न थाले । व्यवसायप्रतिको लगनशिलता, मिठो बोली र सबैसँग मिल्न सक्ने स्वभावले व्यावसायिक क्षेत्रमा सफलता हात पार्दै आएका छन् । घोराही जुत्ता पसलबाट व्यवसाय सुरु गरेका गिरी पछिल्लो समय प्राकृतिक चिकित्सा क्षेत्रमा पनि संलग्न छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्रराईमा प्राकृतिक चिकित्सालयका रूपमा वेलनेस हस्पिटल प्रालि सञ्चालन गर्दै बिरामीलाई जिल्लामा नयाँ खालको सेवा दिइरहेका छन् । एलोपेथिक र आयुर्वेदिक उपचार पद्धति चलिरहेको समयमा जिल्लामा पहिलो पटक नयाँ प्राकृतिक उपचार पद्धतिको सुरुवात गर्दाको क्षणलाई पनि उनले आफ्नो खुसीको रूपमा लिन्छन् ।
जिल्लामा प्राकृतिक उपचारसँगै प्राकृतिक उपचार पद्धतिको अध्ययनका लागि कलेज नै चलाउने उद्देश्यले अघि बढेका गिरी भन्छन्, ‘नयाँ खालको उपचार पद्धति भएकाले धेरैलाई उपचार हुन्छ भन्नेबारे थाहा छैन तर उपचारका लागि आउने बिरामी भने सन्तुष्ट हुनुहुन्छ ।’ अन्य उपचारका दृष्टिले कम खर्चिलो र उपयोगी विधि भएकाले आर्थिक रूपमा विपन्न समुदायमैत्री उपचार विधि भएको तर कानुनी जटिलतादेखि आर्थिक मन्दीको समस्यामा परेर उद्देश्य अनुसार अघि बढ्न नसकेको उनी बताउँछन् । भारतको कर्णाटकमा एउटा योगीले गरेको कामबाट प्रभावित भएर आफू प्राकृतिक चिकित्सा क्षेत्रमा लागेको भन्दै गिरीले अस्पतालमा दैनिक २० देखि ४५ जनासम्मले उपचार सेवा लिने गरेको बताए । उनका अनुसार हस्पिटलमा उपचार लिन कम्तिमा एक जनालाई २० मिनेटदेखि २ घण्टासम्म लाग्ने गर्छ ।
धर्यतापूर्वक र लगनशील भएरे आफूले देखेको सपनालाई पछ्याइरहे एकदिन अवश्य पूरा हुने उनको विश्वास छ । उनले भने, ‘मेरो अबको उद्देश्य भनेको जिल्लामा प्राकृतिक चिकित्सासँगै अध्ययन गर्ने बनाउने हो । त्यही उद्देश्य पूरा गर्नका लागिपर्ने छु । त्यो उद्देश्य पूरा भए मरा लागि अर्को खुसी थपिने छ ।’ गिरी सफल व्यवसायमा मात्रै सीमित छैनन्, व्यवसायबाट समय निकालेर व्यावसायिक हकहितका पक्षमा पनि वकालत गर्दै आएका छन् । व्यवसायका दौरानमा व्यवसायीले भोग्नु परेका समस्याका समाधानको बाटो पहिल्याउँदा पनि आफूलाई खुसी लाग्ने गरेको उनी बताउँछन । यही स्वभावले उद्योग व्यवसायीको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमितिमा बसेर काम गर्ने अवसर मिलेको उनी बताउँछन् । अहिले प्रजातान्त्रिक उद्यमी संघको उपाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएको उनले बताए ।
सामान्य परिवारमा हुर्किएका गिरीले २३ वर्ष शिक्षण पेसामा पनि बिताए । २०४८ सालमा प्रावि तहमा शिक्षक सेवा आयोगबाट नाम निकालेर शिक्षण सेवामा प्रवेश गरेका गिरीले जिल्लाका विभिन्न विद्यालयमा २३ वर्ष ८ महिना अध्यापन गरेका थिए । त्यही क्रममा गाउँबाट घोराहीमा बसाइँ सराइ गरेर आएको उनी बताउँछन् ।
घोराही उपमहानगरपालिका–१ अट्ठाइसेमा २०२४ साल मंसिर २७ गते पिता टंकप्रसाद गिरी र माता दिलकुमारी गिरीको कोखबाट कान्छो सन्तानका रूपमा जन्मिएका थिए । गिरीका एक दाजु रहेका छन् । एकमायाकुमारी गिरीसँग विवाह बन्धनमा बाधिएका गिरीका तीन छोरी र एक छोरा रहेका छन् । घोराही उपमहानगरपालिका–१ निमावि बुकाबाट औपचारिक शिक्षाको सुरुवात गरेका गिरीले उक्त विद्यालयमा ३ कक्षासम्म पढेका थिए । त्यसपछि ४ कक्षादेखि ८ सम्म माध्यमिक विद्यालय रामपुर र ९ र १० घोराहीको भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । एसएलसीपछि आइकम र बिकम घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए ।
दाङ वेलनेस अस्पतालका सञ्चालक समेत रहेका गिरी दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यसमिति निवर्तमान सदस्य, प्रजातान्त्रक उद्यमी संघका उपाध्यक्ष, घरेलु तथा साना उद्योग महासंघका लुम्बिनी प्रदेश सदस्य, नेपाल दशनामी समाज क्षेत्र नं. २ को सचिवलगायतयका विभिन्न संघसस्थामा आबद्ध रहेका छन् ।