नारायणप्रसाद श्रेष्ठ
सर्वप्रथम वसन्त पञ्चमी सरस्वती पूजा २०८० तथा अग्रेजी तारिख १४ फ्रेवअरी अनुसार आजै पे्रम दिवस परेकोले उक्त अवसरमा सम्पूर्णमा सप्रेम शुभकामना नमन गर्न चाहान्छु ।
जीवनको गतिलाई अन्तिमसम्म सहर्ष परिचालन गर्दै निश्चित विन्दुसम्म पु¥याउने एउटैमात्र साधन र परिवेश भनेको प्रेम र भरोसा हो । प्रेमबाट नै मानिसले एक अर्काप्रति विश्वास र भरोसा बढाएको हुन्छ । जीवनलाई उत्तम गति अन्मुख गराइ जीवनको प्रत्येक उकाली ओरालीलाई सहज बनाएको हुन्छ । जसरी युगको परिर्वतन भएको इतिहास छ त्यसरी नै जीवन पनि परिवर्तित रुप हो । दिन, सप्ताह, सप्ताह महिना भएर जसरी वर्ष समयको गतिसँगै अगाडि बढ्दै, समय अनुकुल परिवर्तन हुँदै अगाडि बढेको हुन्छ, बाल, युवा, वयस्क, बुढ्यौली (नागरिक) तसर्थ परिवर्तित यो अवस्थालाई बुझ्ने र जीवनलाई तिनै काल परिस्थितिलाई सहज बनाउने हो भने एकले अर्काप्रति प्रेम र भरोसा बढाइरहनु पर्दछ । जीवनको अन्तरमनको सत्य भनेको प्रेम हो ।
यसलाई अर्को अर्थमा भन्ने हो भने कसैसँग विमुख नहुनु सबैको सन्मुख हुनु हो । यही नै चराचर जगतको सत्य पनि हो । फूलको काम सुवाश दिनु हो तर त्यो गुण होइन, गुलाबमा भएको काडाको काम घोच्नु हो तर त्यो गुण नभई स्वभाव हो । स्वभावलाई सुद्धिकरण गर्दै गुणात्मक प्रवृतितिर उन्मुख गराउनु कसैसँग विमुख नहुनु हो, विमुख नहुनु सन्मुख हुनु हो, यही नै प्रेम र भरोसा पनि हो । प्रेम, अमूर्त, अमूल्य र आंकलन गर्न नसकिने अमृत तत्व हो । जसले प्रेमरश भाव जागृत गर्दछ उसमा स्वतः करुणाको भाव जाग्दछ र उसले आफ्नो चरित्र र विचारलाई सत्यपथमा लैजान्छ । उ न त आलोचक हुन्छ त समालोचक नै हुन्छ । उ ज्ञान सागरको त्यो गहिच्याइमा पुग्न सक्दछ जहाँ प्रेम करुणा, भरोसा र सत्य हुन्छ । आध्यात्मिक सत्य भनेको पनि यही हो ।
जसको आचरण र व्यवहार देवता (दिनेवाला) स्वरुप हुन्छ उसले कसैप्रति भेदभाव राख्दैन, अहंकार र स्वाभिमान प्रदर्शन गर्दैन समभाव उसको उद्देश्य र कर्म हुन्छ । यही उद्देश्य विश्वास र भरोसा प्रेमरुपी ईश्वरको पुतिमूर्ति बन्न सक्छ । तसर्थ समय र परिस्थितिलाई आफू अनुकुल होइन मेरो जन्म उ र उसको लागि भएको हो, म केवल निमित्त हु, मेरो उद्देश्य प्रेम र सेवा हो भन्ने धारणाको विकास गर्नु निकै महत्वपूर्ण मानिन्छ । भन्ने गरिन्छ प्रेम नै ईश्वर हो र ईश्वर भनेकै प्रेम हो ।
प्रेम गर्छु भन्दैमा प्रेम हुने होइन यसको लागि साधनाको जरुरत हुन्छ, साधना त्यसै हुँदैन यसको लागि त्याग र समर्पणको आवश्यकता हुन्छ । अर्को कुरा त्याग र समर्पण गर्नु भनेको चानचुने विषय पनि होइन यसको लागि पहिले आफूले आफैलाई विश्वास गर्न जान्नुपर्छ । म को हुँ मेरो जीवनको उद्देश्य के हो, भौतिक सुख र सम्पन्नता मात्र मेरो जीवनको लक्ष्य होकि ? वा आजपछि भोलि आउँछ, भोलिपछि पर्सि आउँछ भन्दै जीवन पनि एकदिन दुई दिन गर्दै बित्दै जान्छ, मोजमजा र मस्ती पो गर्ने होकि ? यसरी जीवनको हरेक क्षण पाटालाई बुझेर वास्तविक धरातलमा रमाउन जान्नु पर्दछ । यसको लागि साधनलाई साध्य बनाउने अठोट र भरोसा बढाउन सक्नु पर्दछ । फेरि अर्को कुरा साधकले बाधकको रुपमा आउन सक्ने ईश्र्यालाई जान्न पनि जरुरी हुन्छ ।
भोलि आउने परिस्थितिलाई मूल्यांकण नगरी वर्तमानलाई नै जीवन ठानी मोजमज्जा गर्ने चरित्र प्रदर्शन गर्ने हो भने त्यसले प्रेमको परिभाषा कहिल्यै बुझ्न सक्दैन । यस अवस्थामा ईश्र्याले मानवीय जीवनलाई गलत आचरणतर्फ धकेल्न सक्छ । ईश्र्याले केवल अरुलाई तल झार्ने विचारमा अपभ्रंश पैदा गरी पतित गर्न चाहिरहेको हुन्छ । यसले केवल दृष्टिलाई आधार बनाई क्षणिक भौतिक सुखलाई प्राथमिकता दिएको हुन्छ । अरुलाई गिराउनु पुरुषार्थ ठान्दछ । त्यसैले यस्ता कुप्रवृति र परिवेशलाई आचरण र व्यवहारमा आउनै नदिई पतितलाई पावन बनाउने संकल्पका साथ जीवनलाई प्रेम र पवित्र धागोमा उन्दै अगाडि बढाउनु पर्दछ ।
समय जसरी दिनपछि रात र रातपछि दिन हुँदै अघि बढेको हुन्छ त्यसरी नै जीवन पनि कहिले दुःख कहिले सुख भएर क्षण प्रतिक्षण गुज्रिरहेको हुन्छ । दुःख भए पिर मान्ने सुख भए खुसी मान्ने प्रवृति देखाउने हो भने मानिस निस्वार्थी बन्न सक्दैन । स्वार्थी चरित्रले कहिले प्रेमको परिभाषा बुझ्दैन अनाहकमा यस्तो प्रवृत्ति वाद विवादमा फस्दै गएका हुन्छन् थाहा हुँदा हुँदै पनि मानिस दिग्भ्रमित भइरहेका हुन्छन् बुद्धि र विवेक शून्य हुन पुग्दछ । यसबारे एउटा छोटो कथा यस्तो पनि हुन्छ– लोग्ने र स्वास्नी बिचको दाम्पत्य जीवनमा जब फरक विचारले प्रशय पाउँछ तब त्यहाँ वैमनस्यता उत्पन्न हुन पुग्दछ, त्यहाँ बुद्धिले सही गन्तव्य निर्धारण गरे पनि विवेकले अर्को अर्थ लगाउन पुग्दो रहेछ । लोग्ने र स्वास्नीबिच जब विचारमा भिन्नता हुन्छ तब त्यहाँ एक अर्काबिच मनमुटाब हुदो रहेछ ।
खाना, बस्न, घुम्न र काम गर्दा पनि दुवैथरीबिच कहिले कुरा मिल्ने रहेनछ । एक दिन श्रीमतीले सधै मेरो श्रीमान् रिसाउँनु हुन्छ आज खुसी बनाउँछु भनी मनमा संकल्प गरेर मिठो परिकार गराई खाना खुवाउने विचार गरिछिन् र बिहान सबेरै उठी नुहाइधुवाई गरी खाना बनाइछिन् र लोग्नेलाई खाना बोलाइछिन् । आज त लोग्ने पक्कै खुसी होलान् भनेको त झनै रिसाएर भने छन् कस्तो खाना बनाएको कमसेकम च्वाट्ट स्वाद आउने पो बनाउनु पर्ने ? श्रीमती निकै खिन्न हुँदै भने छिन्– श्रीमान् तपाई सधै केही न केही निहुँ गरेर झर्किरहनु हुन्छ । किन ? के यसरी नै जीवन चल्छ ? यसरी श्रीमतीले भनेपछि श्रीमान्ले भने छन्– कति नै मिठो खाना बनाएर भनेको त सबैमा नुन कम छ यस्तो पनि खाना हो ?
श्रीमतीले नम्र भएर भने छिन्– श्रीमान् यो मेरो लागि होइन मेरो अस्तित्व र सुहागको संरक्षण गर्न मैले गरेको हो, तपाई प्रेशरको बिरामी हुनु हुन्छ ज्यादा नुन नखानु भनी डाक्टरले भन्छ तपाई जिब्रोको स्वादको लागि यो गरिररहनु हुन्छ किन ? यति भने पछि लोग्ने शान्त र धीर भएर भने छन्– सरी मलाई माफ गरिदेउ यसपछि उनीहरुमा कहिले बेमेल भएन छ । दुवैमा प्रेमको भाव जागे छ । यसरी नै मानिस मानिसबिच क्षणिक स्वाद र सन्तुष्टिको लागि आफूलाई समर्पित गरेको इतिहास धेरै देखिन्छ जसले प्रेम र पवित्रताप्रतिको भावनामा प्रश्न उठ्ने गरेको छ ।
मानिस प्राणीको सर्वश्रेष्ठ बुद्धिमान र सचेत प्राणी भएर पनि मानिसमा अहंकार र घमण्ड र क्षणिक अशक्तिले कुबुद्धि बनाई आफू साधक बन्न नसकिरहेको स्थिति छ । तसर्थ जीवनको प्रत्येक क्षण र प्रतिक्षणमा आउन सक्ने झिना मसिना क्षणिक आशक्तिले ल्याउने परिवेशलाई बुझि आफूलाई समर्पित गर्न सक्नु पर्दछ । जीवनको अर्को रुप प्रेम हो भनी प्रेममा आउने आशक्तिलाई जान्न सक्नु पर्दछ । अर्को कुरा प्रशंसाको जालमा फस्ने मानिस पनि कहिले साधक बन्न सक्दैन र उ खुसी पनि हुँदैन ।
हुन त वर्तमान अवस्थामा साचोलाई झुट र झुटलाई साचो मान्ने यस अवस्थामा यसरी प्रेमको परिभाषा गर्नु कति औचित्य होला । अहंकार र घमण्डले परिपोषित वर्तमान परिवेशमा यस्तो कल्पना गर्नु कति उपयुक्त होला ? तर बुझ्न पर्ने सत्य भनेकै यही हो । जबसम्म जीवनको प्रत्येक अन्तरंगमा यदि प्रेम र सद्भाव भरोसा र विश्वास बढाउन सकिँदैन तबसम्म जीवन र यसको उद्देश्य सधै अधुरो रहन्छ । इन्द्रीय भोगलाई आनन्द मान्ने र सुखको संज्ञा दिने आचरणले कदापी सत्य ग्रहण गर्न सक्दैन किनकि यस्तो प्रवृति केवल इन्द्रीयको सन्तुष्टिको लागि मात्र बाचेको हुन्छ ।
यिनीहरुको परिश्रम केवल सांसारिक सुख भोगको लागि मात्र हुन्छ । यस्तो आचरणले पाप र पुण्यको सीमा पनि बुझ्दैन । न त यस्तो प्रवृतिले कर्मयोग, ज्ञानयोग र प्रेमयोगलाई आत्मसात गर्न सक्छन् न त प्रेम के हो त्यसको वास्तविकता बुझ्न सक्छन् यिनीहरु केवल विषय बासनामा मात्र निर्लिप्त हुन्छन् । तसर्थ दुःखसुख मानवीय प्रवृतिले जन्माएका क्षणिक भाषावेश हो भन्ने ठानी प्रेम जीवन हो, जीवन प्रेम हो, त्याग र समर्पण नै प्रेमको अर्को परिभाषा पनि हो भन्ने मानसिकता बढाई सच्चा साधक बन्न सिकौँ यो वर्तमानको आवश्यकता हो ।