रिपोर्टर डायरी
खेमराज रिजाल
तुलसीपुर,२ फागुन । मुलुकले सङ्घीयताको अभ्यास गरिरहेको छ । डा गोविन्द केसीको आन्दोलनले सङ्घीयताको मानसिकतालाई अङ्गीकार गरेको अवस्था पनि छ तर नेपाल संस्कृत विश्वविद्यालय दाङ जिल्लाको गरिमा बन्न नदिन दशक अघिदेखिकै पदाधिकारी पदलोलुपतामा छन् ।
नेपाल संस्कृत विश्वविद्यालय स्थापनाका लागि योगी नरहरिनाथले गरेको योगदानलाई विश्वविद्यालयका पदाधिकारीले कुल्चिरहेका छन् । दाताले दिएको जग्गा भूमाफियाले अतिक्रमण गरिरहँदा पदाधिकारीले एक शब्द पनि मिडियामा बोल्न चाहन्नन् । विश्वविद्यालयको जग्गा आस्ट्रिचपालनदेखि गौशालालाई लिजमा दिइएका छन् भने बाँकी जग्गामा अतिक्रमणकारीले पक्की संरचना समेत निर्माण गरिरहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले भने आफ्नो स्वामित्वको जग्गा आफ्नो पक्षमा लिनुको साटो विश्वविद्यायका नयाँ कार्यक्रमलाई पनि काठमाडौं केन्द्रीकृत गर्ने अभ्यासमा छ । यो विश्वविद्यालयमा नियुक्त हुने पाहुना पादधिकारीले बेलझुण्डीलाई संस्कृतको अध्ययन थलो बनाउन सकेका छैनन् । पटके जागिरे पदाधिकारीले काठमाडौंबाटै कार्य सञ्चालनको अभीष्ट सपना बोकिरहेका छन् ।
पदाधिकारीको अभीष्ट सपना साकार हुने छैन । किनकि नेपाल संस्कृत विश्वविद्यालय पठनपाठनमा मात्र नभएर अध्ययन अनुसन्धानको केन्द्र पनि हो । विश्वविद्यालयलाई नजिकबाट नियालिरहेका एक जना जग्गादाता भन्छन्, ‘यो एउटा सांस्कृतिक अध्ययन केन्द्र बनोस् भनेर मात्र जगा दिएका हौँ तर नेपाल संस्कृत विश्वविद्यालयमा आउने पाहुना पदाधिकारीले आफ्नो स्वामित्वको जग्गा लिन पनि कुनै अर्थपूर्ण प्रयास गरेका छैनन् । यहि अवस्थाले नेपाल संस्कृत विश्वविद्यालयका हरेक इकाइ राजधानी केन्द्रित हुन थालेका छन् ।’
अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र कहाँ छ ? सांस्कृतिक अध्ययन केन्द्र कहाँ छ ? यो विश्वविद्यालयका पदाधिकारीले पनि जानकारी नपाउँदै अन्तै सार्ने राजनीतिक दाउँपेच भइरहेको छ । पछिल्लो समयमा नेपाल संस्कृत विश्वविद्यालय राजनीतिक कार्यकर्तालाई जागिर खुवाउने भागबण्डाको अखडा मात्रै बन्दै आएको छ । लोक सेवा आयोगले लिएको परीक्षाको नतिजालाई समेत मान्न तयार नभएका पदाधिकारी सेवा आयोगको ध्वाँसमा केन्द्रमा राजनीति गरिरहेका छन् । एउटा राजनीतिक पार्टीका नेतालाई भेटेर विश्वविद्यालयलाई चलायमान बनाउने अभ्यासमा मात्रै लोगेको छ, नेपाल संस्कृत विश्वविद्यालय ।
कुनै बेला पैसा मागेर जागिर सुनिश्चित हुने परम्परा पनि थियो । त्यस्ता पदाधिकारीले नियुक्त गरेका जागिरेबाट मासिक पारिश्रमिकबाट कट्टी हुने गरी पनि अलिखित सम्झौता हुने गरेको थियो तर पछिल्लो समयमा लोक सेवा आयोगले लिएको परीक्षाको नजिता समेत मान्न पदाधिकारी र सेवा आयोग तयार देखिएको छैन । यो अवस्थाले नेपाल संस्कृत विश्वविद्यालयको गरिमा भनेको पदाधिकारी पाउने र जागिर खुवाउनेमा मात्रै केन्द्रित भएको छ ।
पछिल्लो पटक चर्चामा रहेको नेपाल संस्कृत विश्वविद्यालयको वास्तुशास्त्रको अध्ययन हो । त्यो पनि उतै राजधानीको वाल्मीकि क्याम्पसमा सार्ने अभ्यास सुरु भएको छ । यद्यपि त्यसले अन्तिम स्वीकृति भने पाएको छैन । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको विश्वविद्यालय सभाले नेपाल संस्कृत विश्वविद्यालय मातहतमा वास्तु इन्जिनियरिङ सञ्चालनको निर्णय गरेको दुई वर्ष बढी समय भएको छ तर नेपाल संस्कृत विश्वविद्यालयको परिसरमा वास्तु इन्जिनियरिङको सम्भावना छैन भन्दै एउटा पक्षले राजधानीको वाल्मीकि क्याम्पसमा सो कक्षा सञ्चालनको प्रस्ताव ल्याएका छन् । किनकि उनीहरूले बेलझुण्डीमा वास्तुशास्त्र पढाउन कुनै प्राध्यापक आउने अवस्था छैन भनिरहेका छन् । यदि त्यस्तो. हो भने किन नेपाल संस्कृत विश्वविद्यालयमा त्यही विषयका लागि डिन नियुक्त गरिए ? यसको जवाफ उपकुलपति र नेपाल सरकारसँग पनि छैन । जागिरे बनाउनकै लागि मात्र
वास्तुशास्त्रका डिन नियुक्त भए त ?
यथार्थमा वास्तुशास्त्रमा आधारित इन्जिनियरिङ कक्षा सञ्चालनमा फेरि एकपछि अर्को बखेडा झिकिँदै छ । जसका कारण कक्षा सञ्चालनको तयारीमा रहेको वास्तु आर्किटेक इन्जिनियरिङको पढाइ सुचारु हुन सकेको छैन । वास्तुशास्त्रमा आधारित इन्जिनियरिङ कक्षा सञ्चालनका लागि नेपाल संस्कृत विश्वविद्यालय कार्यकारी परिषद्ले २०७८ पुस महिनामा इन्जिनियर वीरेन्द्र खड्कालाई डिन नियुक्त ग¥यो । डिन नियुक्त भएको दुई वर्ष नाघिसक्यो तर पठनपाठनको कामले मूर्त रूप लिन सकेको छैन । डिनको कार्यालयले यसबिचमा वास्तु आर्किटेक इन्जिनियरिङको पाठ्यक्रम निर्माण गरी त्यसलाई प्राज्ञिक परिषद्ले अनुमोदन समेत गरिसकेको छ । डिन कार्यालयका सहायक प्रशासक ढुण्डी ज्ञवालीका अनुसार वास्तु इन्जिनियरिङ कलेज निर्माणका लागि पूर्वाधार निर्माण कार्ययोजनालगायत तत्कालीन योजना समेत अघि सारेको छ ।
डिनको कार्यालयले तत्कालका लागि एउटा कक्षा काठमाडौंको वाल्मीकि क्याम्पसमा सञ्चालन गर्ने तयारी गरेपछि कतिपयले यसलाई डिनको कार्यालय र वास्तुशास्त्रको पढाइ नै काठमाडौं लैजान खोजेको भन्दै असहमति जनाउन थालेपछि कक्षा सञ्चालनको अन्तिम स्वीकृति पनि रोकिएको बताइएको छ । विश्वविद्यालय समाचार स्रोतका अनुसार विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव लामिछाने अमेरिका भ्रमणमा रहेका बेला तत्कालीन रेक्टर तथा निमित्त उपकुलपति भीम खतिवडाले तत्कालका लागि काठमाडौंमा रहेको वाल्मीकि क्याम्पसमा वास्तु आर्किटेक इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने निर्णय गरेका थिए तर भिसी अमेरिकाबाट फर्केपछि त्यसलाई रोकेको पनि समाचार स्रोतले बतायो ।
डिनको कार्यालयले भने सरकारले अनुदान पनि नदिने तथा विश्वविद्यालयले दरबन्दी पनि नदिने भएकाले बेलझुण्डीमा पढाउनका लागि अस्थायी रूपमा वास्तुशास्त्रका प्राचार्य पाउन नसकिने भएकाले एउटा कक्षा तत्काल काठमाडौंको वाल्मीकि क्याम्पसमा सुरु गरिहाल्ने तयारी गरेको जनाएको छ । त्यसपछि क्याम्पसले आयआर्जन गर्न थालेपछि नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको हेमन्तपुर स्थित धान खन्ने डाँडाको १८ बिगाहा जग्गामा भौतिक पूर्वाधार निर्माण गर्ने तयारी पनि डिनको कार्यालयले गरेको बताइएको छ तर यसमा विश्वविद्यालयका पदाधिकारीको एकमत हुन सकेको छैन ।
नेपाल संस्कृत विश्वविद्यालयको यो चलिआएको परम्परा हो । कहिले वैदिक कृषिलाई कार्यान्वयनको अवधारणा ल्याउँछ त कहिले वास्तुशास्त्रको अन्योलमा आम जिल्लाबासीलाई पारिरहेको छ । खासमा यहाँ वैदिक कृषिको पनि अभ्यास हुन सकेको छैन भने वास्तुशास्त्रको पनि अन्तिम निर्णय भइसकेको छैन । सायद नेपाल संस्कृत विश्वविद्यालयका हरेक कार्यक्रम असफलतातर्फ उन्मुख भइरहेका छन् । केही समयपछि नेपाल संस्कृत विश्वविद्यालयले सञ्चालनमा ल्याएको आयुर्वेद स्नातक तहको बिएएमएस कार्यक्रमलाई पनि नेपाल चिकित्सा बोर्डले अनुमति दिने छैन । किनकि नेपाल संस्कृत विश्वविद्यालयले सञ्चालन गरेको केन्द्रीय आयुर्जेद विद्यपीठमा अध्ययन गर्ने विद्यार्र्थीलाई शिक्षण कलेजका नाममा झुक्याइएको छ । बिएएमएस अध्ययन गर्ने विद्यार्थीले आठौँ व्याच पढ्दा पनि शिक्षण अस्पताल पाउन सकेका छैनन् । अभिभावकले भनिरहेका छन्, ‘धिक्कार छ शिक्षण अस्पतालको बोर्ड ।’
सेफल्यान्डिङ अभिव्यक्ति
‘हामीले डिनको कार्यालय र वास्तुशास्त्र इन्जिनियरिङ कार्यक्रमलाई नै काठमाडौं लैजान खोजेको होइनौँ, यसमा बुझाइ मात्र गलत भएको हो’, नेपाल संस्कृत विश्वविद्यालय वास्तुशास्त्र इन्जिनियरिङ अध्ययन संस्थानका डिन इन्जिनियर वीरेन्द्र खड्काले भने । उनले डिनको कार्यालय दाङमै रहने तथा वास्तु इन्जिनियरिङ ग्राम पनि विश्वविद्यालयको स्वामित्वमा रहेको हेमन्तपुरको धानखन्या डाँडामै निर्माण गर्ने कार्ययोजना तयार भएको बताए । वास्तुशास्त्र इन्जिनियरिङ संस्थानलाई नेपाल सरकार र नेपाल संस्कृत विश्वविद्यालयले स्वायत्त संस्था भनेको छ ।
आफ्नै कमाइले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भनेकाले यसमा दरबन्दी पनि दिइएको छैन । पढाउनका लागि प्रशिक्षक करारमा नियुक्त गर्नु पर्ने हुन्छ । बेलझुण्डीमा करारमा प्रशिक्षक र प्राचार्य पाउने अवस्था नभएकाले पुल्चोक इन्जिनियरिङ कलेजका शिक्षकलाई नै करारमा राख्न सकिने भएकाले वाल्मीकिमा कक्षा सञ्चालनको तयारी भएको डिनको कार्यालयको दाबी छ । ‘न विश्वविद्यालयले दरबन्दी दिने, न त सरकारले नै, अनुदान दिने भएकाले पढाउने प्रशिक्षकको सहजताका लागि एउटा कार्यक्रम काठमाडौंमा सञ्चालन गर्ने तयारी मात्र भएको हो’, डिन खड्काले भने, ‘तर अन्तिम निर्णय दिने निकायले भने निर्णय गर्न सकेको छैन ।’
यदि खड्काले भनेकै अभिव्यक्ति ठिक हो भने बेलझुण्डीका नाममा वास्तु शास्त्रको पढाइ वाल्मीकिमै हुने भए, किन नेसंविको ट्याग लिनु प¥यो ? आम जग्गादाताले यही सोधिरहेका छन् । तर यसको जवाफ विश्वविद्यालयका पदाधिकारीसँग छैन । यहाँका नेतासँग पनि छैन । किनकि केन्द्रय तहमा जागिर खुवाउनैका लागि पदाधिकारीको राजनीतिक बाँडफाँडमा नियुक्ति हुन्छ । पाहुनाले सेवासुविधा लिने बाहेक कुनै सिन्को भाँच्न सकेका छैनन् ।