गोरक्ष समाचारदाता
दाङ, २६ माघ । स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग राखेका छन् । एकल स्वामित्वको माग गर्दै एक महिनो आन्दोलनको चेतावनी दिएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर एकमहिने सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सङ्घर्ष समितिले पुस्तौँदेखि गुठी जमिन जोत्दै आएका दर्तावाल वा बेदर्तावाल ठेककुत बुझाएको तर मोही नजनाइएको जग्गा मोही किसानका नाममा कम्तिमा ७५ प्रतिशत रैकर सरह दर्ता गरी जग्गाको लालपुर्जा दिइनु पर्ने र बाँकी रहेको २५ प्रतिशत जग्गा सरकारी दर रेटमा किस्ताबन्दीमा मोही किसानलाई नै किन्न दिनु पर्ने, गुठी जमिन कमाई आएका मोही किसानले बुझाउन पर्ने जिन्सी अन्य भुक्तानी गर्न बाँकी कुतको हालसम्मको कूल लगत निकाली ८० प्रतिशत छुट दिने व्यवस्था मिलाउनु पर्ने सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार विभिन्न बहानामा मोही निष्काशन गरिएको तर कुतबाली बुझाइ आएका किसानलाई मोही पुनर्बहाली गरी सोही सरह जमिन दिनु पर्ने, गुठीका नाममा देखिएका किसानले जोतभोग गर्दै आएका तर मोही नलागेका जमिन किसानकै नाममा दर्ता गरिनु पर्ने माग गरेका छन् । साथै उनीहरूले मोहीका नाममा जग्गा दर्ता गर्दा प्राप्त हुने राजस्वको स्थायी कोष बनाएर प्राप्त आम्दानीले स्वर्गद्वारी आश्रमको व्यवस्थापन गरिनु पर्ने बताएका छन् ।
सङ्घर्ष समितिले उठाएका माग सम्बोधनका लागि सङ्घर्ष समितिले फागुन ८ गतेदेखि चैत १ गतेसम्म गर्ने सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले फागुन ८ गते व्यानर र प्लेकार्डसहित घोराही बजारमा ¥याली तथा सभा गर्ने भएको समिति भरत गिरीले जानकारी दिएका छन् । यसैगरी फागुन ९ देखि ११ गतेसम्म जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय घोराहीमा २४ घण्टे धर्ना, फागुन १३ देखि १५ गतेसम्म ¥यालीसहित दाङका राजनीतिक पार्टी कार्यालयमा धर्ना, फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेश सभामा ¥यालीसहित धर्ना र पूर्व–पश्चिम राजमार्गमा २ घण्टा सुतेर बन्द गर्ने भएको सङ्घर्ष समितिका सचिव गिरीले जानकारी दिएका छन् ।
यसैगरी फागुन २७ र २८ गते घोराहीमा देशभरिका गुठी पीडित किसानको सम्मेलन गर्ने र दाङ गुठी पीडित घोषणपत्र जारी गर्ने र चैत १ गतेदेखि दाङ बन्द वा काठमाडौं केन्द्रीय आन्दोलन गरिने भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । स्वर्गद्वारी आश्रमको दाङको घोराही उपमहानगरपालिका अन्तर्गत रामपुर, पलाँसे, भट्टेतार, ढोडेनी, नैनवार, झिँगौरा, तुलसीपुर उपमहानगरपालिका अन्तर्गत पढ्दा र लमही नगरपालिका अन्तर्गत अर्नहवा, वनगाउँ, मजगाउँ र चैलाहीमा रहेको एक हजार ५० बिगाहा जग्गामध्ये ७ सय ५३ बिगाहा जग्गामा मोही कामय भएको छ । मोही कायम भएको जग्गा पाउनु पर्ने भए पनि आश्रमले विभिन्न वहाना बनाउँदै नदिने गरेको सङ्घर्ष समितिका सहसचिव प्रविन दहित बताउँछन् ।
७ सय ५३ बिगाहा जग्गामा सुरुमा दुई सय ८९ जना घरपरिवारको मोही कायम भए पनि अहिले घरपरिवार बढेर तीन हजार पाँच घरपरिवार पुगिसकेको दहितले जानकारी दिएका छन् । मोही जग्गा द्वेत स्वामित्व अन्त्य नहुँदा जग्गा बंैकमा राखेर ऋण लिन तथा विद्युत, खानेपानीलगायतका आवश्यकता पूरा गर्न किसानलाई समस्या हुने गरेको बताएका छन् । सर्वोच्च अदालतले भने २०६२ सालमा स्वर्गद्वारी आश्रम विशेष प्रकारको गुठी भएको भन्दै मोही नलाग्ने परमादेश जारी गरिदिए थियो । सोही परमादेश जारी भएपछि किसान जग्गा पाउनबाट वञ्चित भएका छन् ।