लिटल एञ्जलको २७औँ वार्षिकोत्सव, प्रविधिसहितको गुणस्तरीय शिक्षा आवश्यक

गोरक्ष समाचारदाता
दाङ, २६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको लिटल एञ्जल बोर्डिङ स्कुलको २७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गिरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले विकासको आधार नै शिक्षा भएको बताए । ‘शिक्षाले शिक्षित नागरिक तयार गर्न सहयोग पुग्ने र शिक्षित नागरिकले देशको विकासमा सहयोग पु¥याउँछन्’, नगर प्रमुख चौधरीले भने । राज्यले शिक्षित नागरिक उत्पादनका लागि लगानी गरेको भन्दै त्यसको सदुपयोग गर्न उनले आग्रह गरे । शिक्षा सैद्धान्तिक रूपमा मात्र नभई व्यावहारिक रूपमा समेत लागु हुनु पर्ने उनले बताए । ‘किताब मात्र पढेर हुँदैन, त्यसको व्यावहारिक रूपमा समेत कार्यान्वय हुनु पर्दछ’, नगर प्रमुख चौधरीले भने । विद्यार्थीहरूलाई नैतिकता, संस्कार, अनुशासन सिकाउनु पर्ने नगर प्रमुख चौधरीले बताए । समयानुसार शिक्षालाई परिवर्तन गर्दै लैजानु पर्ने समेत उनले बताए । पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोग गरेर शिक्षालाई सहज सिकाइको रुपमा अन्माउनु पर्ने बताए । ‘समय अनुसार प्रविधि संग अगाडि बढन सकेनौ भने पछि परिन्छ त्यसैले समय अनुसार चल्न सक्नु पर्दछ’ नगर प्रमुख चौधरीले भने ।
विद्यालयका प्रिन्सिपल यादव गिरीले विद्यालयले हप्तामा एक दिन किताबविना अध्यापन गराउने गरेको बताए । उनले विद्यार्थीले अन्य दिनमा पढेको विषयलाई शुक्रवारका दिन व्यावहारिक रूपमा कार्यान्वन गर्ने गरेको उनको भनाइ छ । यसले शिक्षण सिकाइमा थप टेवा पुग्ने समेत बताए । विद्यालयले समयानुसार शिक्षण सिकाइलाई पनि अगाडि बढाएको प्रिन्सिपल गिरीको भनाइ छ । कार्यक्रममा बोल्ने अन्य वक्ताले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभिभावक, विद्यालय र विद्यार्थी सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका थिए । उनीहरूले अभिभावकले विद्यालयलाई विद्यार्थी जिम्मा लगाएर मात्र नहुने भन्दै आफूहरूले पनि ध्यान दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विजय जिएम, प्याब्सन घोराही नगर समितिका अध्यक्ष वीरेन्द्र चन्द, गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक सविन प्रियासनलगायतले भनाइ राखेका थिए । विद्यालयका भाइस प्रिन्सिपल बिमलकुमार रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक ओम बुढा र सपना बस्नेतले गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीले विज्ञान कला, तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका सहयोगी अभिशेष चौधरी र शोभी घर्तीलाई नगदसहित सम्मान गरिएको थियो ।